काठमाडौँ, असोज १० । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा शुक्रबार न्युयोर्कमा भएको भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको दीर्घकालीन र निरन्तर योगदानबारे चर्चा गर्दै विश्व शान्ति तथा सुरक्षाका लागि नेपालले सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दै आएको बताएका छन् ।
उनले शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा जोड दिएका छन् ।
उपमहासचिव खरेसँगको भेटमा नेपाली शान्ति सैनिकले शान्ति स्थापनाका क्रममा सामना गर्ने सञ्चालनगत तथा व्यवस्थापकीय पक्ष, आवश्यक सहयोग र राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्