जनता टाइम्स

११ आश्विन २०८३, आईतवार २१:१६

बाढीपहिरोबाट २१ जनाको मृत्यु, ५ जना बेपत्ता


काठमाडौं, असोज ११ । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान र चट्याङका घटनामा २१ जनाको मृत्यु भएको छ । पाँच जना बेपत्ता भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार असोज ८ गतेदेखि आइतबार साँझसम्म म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्री शाहले विपद्मा परी घाइते भएका पाँच जनाको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँका अनुसार हालसम्म देशभर बाढी, पहिरो, डुबान र चट्याङलगायत ४३९ वटा मनसुनजन्य घटना भएका छन् । मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले त्यसबारे विवरण संकलन भइरहेको उहाँले बताउनुभयो ।

‘यस्तो संकटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो,’ प्रधानमन्त्री शाहले भन्नुभएको छ, ‘त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिसहरू र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ ।’

बाढीपहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले बताउनुभयो । नागरिकको जीउधन जोगाउन सूचना तथा सन्देश प्रवाह गर्नुका साथै सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा माइकिङ गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहले आग्रह गर्नुभएको छ ।