डा. रक्षा थापा–उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय
शिक्षा मानव सभ्यताको सबैभन्दा शक्तिशाली आधार हो। नवजात शिशुको मस्तिष्क एउटा खाली क्यानभास जस्तै हो, जसमा शिक्षाले ज्ञान, कला, नैतिक मूल्य र जीवनप्रतिको सकारात्मक दृष्टिकोण रूपी रङहरू भर्ने काम गर्दछ।समाजमा योग्य, क्षमतावान् र चरित्रवान् बनाउने काम शिक्षाले मात्र गर्दछ।नेल्सन मण्डेलाले भनेका थिए, “शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसले संसारलाई बदल्न सकिन्छ।”
विश्वले चौथो औद्योगिक क्रान्तिको गति समातिरहँदा, कृत्रिम बुद्धिमत्ताले कक्षाकोठाको ढोका ढक्ढक्याइरहँदा, हाम्रा धेरै विद्यालय र क्याम्पस अझै पुरानै ढर्रामा चलिरहेका देखिन्छन्।यही अन्तरालले शिक्षालाई सबैभन्दा गम्भीर बहसको विषय बनाएको छ।समय बदलिएको छ, प्रविधि बदलिएको छ,सूचना प्राप्त गर्ने तरिका बदलिएको छ। मानिसले सिक्ने, सोच्ने, काम गर्ने र एकअर्कासँग सम्बन्ध स्थापित गर्ने शैली समेत तीव्र गतिमा परिवर्तन भइरहेको छ।
हिजो शिक्षा भन्नाले विद्यालय,कलेज, किताब, शिक्षक र परीक्षा सम्झिन्थ्यौँ। शिक्षा आर्जन गर्ने माध्यमहरू परम्परागत विद्यालयको परिधि भन्दा निकै माथि उठिसकेका छन्।डिजिटल प्रविधिको विकास सँगै भर्चुअल प्रयोगशाला, खुला शैक्षिक सामग्री, एआई र अनलाइन कक्षाहरूले संसारभरिका विद्यार्थीका लागि ज्ञानको नयाँ ढोका खोलेका छन्। हाम्रो शिक्षा वास्तवमा कहाँ छ, र अब यसलाई कता लैजानुपर्छ ? शिक्षालाई आजको सबैभन्दा गम्भीर बहसको विषय बनाएको छ।
संसारमा परिवर्तन नै एकमात्र शाश्वत सत्य हो। समयसँगै मानव जीवनको शैली, प्रविधि, आवश्यकता, र चुनौतीहरू बदलिरहन्छन्। हिजोको पुस्ताले भोगेको जीवन र आजको पुस्ताले बाँचिरहेको जीवनमा ठूलो भिन्नता छ।त्यसैले,बदलिँदो परिस्थितिमा जीविकोपार्जन गर्न र जीवनलाई सहज बनाउन पुरानै ढर्राको सोच वा सिकाई पर्याप्त हुँदैन।यदि जीवन बदलिँदै जान्छ तर शिक्षा पुरानै ठाउँमा अडिग रहन्छ भने, त्यो शिक्षा जीवनोपयोगी हुन सक्दैन।
नेपालको सन्दर्भमा हेर्दा, शिक्षाको यात्रा लामो र उतारचढावपूर्ण छ। राणाकालमा शिक्षा सीमित वर्गको पहुँचमा थियो, साधारण जनताका लागि अक्षर चिनाउने अवसर नै दुर्लभ थियो। वि.सं. २००७ सालको प्रजातन्त्र स्थापना पश्चात् नेपालको शैक्षिक इतिहासमा एक युगान्तकारी परिवर्तन आयो। राणाकालीन १०४ वर्षे शासन अवधिमा शिक्षालाई सर्वसाधारणको पहुँचबाट टाढा राखिएको थियो। प्रजातन्त्रको उदयसँगै जनतामा शिक्षा आर्जन गर्ने उत्साह जाग्यो, आज गाउँगाउँमा विद्यालय पुगेका छन्, छोरीहरू पनि कक्षाकोठामा देखिन थालेका छन्।त्रिभुवन विश्वविद्यालय जस्ता संस्थाले लाखौँ विद्यार्थीलाई उच्च शिक्षाको बाटो देखाएका छन्। यो निश्चय नै ठूलो उपलब्धि हो। पहुँच बढ्नु र गुणस्तर बढ्नु एउटै कुरा भने होइन।
वर्तमान परीक्षा प्रणालीले विद्यार्थीलाई एउटा ‘मेसिन’ वा डेटा भण्डारण गर्ने ‘हार्डड्राइभ’ जस्तो बनाइदिएको छ।शिक्षा प्रणालीको संरचना नै यस्तो छ कि शिक्षकहरू पनि यसकै चक्रव्यूहमा फसेका छन्।शिक्षकहरूको कार्यसम्पादन उनीहरूले कति राम्रो सिकाए भन्ने कुराबाट होइन,बल्कि समयमै पाठ्यक्रम सिध्याए कि सिद्ध्याएनन् भन्ने कुराबाट मूल्याङ्कन गरिन्छ।परीक्षाको नतिजा राम्रो देखाउनुपर्ने दबाबका कारण, शिक्षकहरूले विद्यार्थीको रुचि वा क्षमता अनुसार नभई, परीक्षामा ‘सोधिन सक्ने सम्भावित प्रश्नहरू’ मात्र घोकाउन केन्द्रित हुनुपर्छ। त्यस्तै, अभिभावकहरू पनि समाजको प्रतिष्ठा र तुलना गर्ने प्रवृत्तिको सिकार भएका छन्।अधिकांश अभिभावकका लागि आफ्नो बच्चाले के नयाँ कुरा सिक्यो वा उसको व्यक्तित्वमा कस्तो सुधार आयो भन्ने कुराको खासै महत्त्व हुँदैन। उनीहरूका लागि बच्चाको बुद्धिमत्ताको एकमात्र प्रमाण ‘मार्कसिट’ वा ‘ग्रेड’ हो।
परिणाम स्वरूप, प्रमाणपत्र बोकेका तर व्यावहारिक समस्या समाधान गर्न नसक्ने युवाहरूको सङ्ख्या बढ्दै गएको छ।बजारमा प्रमाणपत्र बोकेका लाखौँ बेरोजगार युवाहरू हुनुको मुख्य कारण यही हो। उनीहरूसँग परीक्षा पास गर्ने कला त छ, तर वास्तविक संसारका समस्याहरू समाधान गर्ने क्षमता, सोच, व्यावहारिक ज्ञान को चरम अभाव छ।
अर्को समस्या भनेको,सरकारी र निजी विद्यालय बीचको खाडल, सहरी र ग्रामीण क्षेत्र बीचको असमानता, र मातृभाषा तथा स्थानीय ज्ञान प्रतिको उपेक्षाले समस्यालाई अझ जटिल बनाएको छ । शिक्षामा समता , पहुँच, र गुणस्तरको चरम संकटलाई देखाउँछ। भौगोलिक विकटता र राज्यको केन्द्रीकृत लगानीका कारण गाउँ र सहरको शिक्षामा आकाश-जमिनको फरक छ ।
यसैबीच, प्रविधिले शिक्षाको स्वरूप नै फेरिदिएको छ। इन्टरनेट, मोबाइल, यूट्युब र अनलाइन प्लेटफर्महरूले ज्ञानलाई कक्षाकोठाको चार भित्ताबाट बाहिर निकालेका छन्। कोभिड–१९ महामारीका बेला एकैचोटि अनलाइन कक्षा सञ्चालन गर्नुपर्दा हामीले प्रविधिको सम्भावना र सीमा दुवै प्रत्यक्ष देख्यौँ। जसको हातमा स्मार्टफोन र इन्टरनेट थियो, उसका लागि नयाँ ढोका खुल्यो; जसको घरमा बिजुली र नेटवर्क नै थिएन, ऊ झन् पछाडि पर्यो।
यसरी प्रविधिले अवसर पनि ल्याएको छ र डिजिटल खाडलको नयाँ रूप पनि।प्रविधिले सूचना दिन सक्छ, अभ्यास गराउन सक्छ, तत्काल प्रतिक्रिया दिन सक्छ र व्यक्तिगत सिकाइलाई सहयोग गर्न सक्छ तर विद्यार्थीको भावनात्मक अवस्था बुझ्ने, प्रेरित गर्ने, सम्बन्ध निर्माण गर्ने, नैतिक प्रश्नमा मार्गदर्शन गर्ने र सिकाइको मानवीय अर्थ निर्माण गर्ने सक्दैन।
किताबमा वातावरण संरक्षण, जलवायु परिवर्तन, पढ्नु एउटा कुरा हो; आफ्नो समुदायमा फोहोर व्यवस्थापन र जलवायु व्यवस्थापन को समस्या पहिचान गरेर समाधानको योजना बनाउनु अर्को कुरा हो।भविष्यवादी अल्भिन टफलरले भनेका थिए, “एक्काइसौँ शताब्दीका अशिक्षित मानिस पढ्न र लेख्न नजान्नेहरू होइनन्, सिक्न, बिर्सन र फेरि सिक्न नजान्नेहरू हुन्।” यो भनाइले आजको शिक्षाको मूल चुनौतीलाई सटिक रूपमा औँल्याउँछ। पहिले एकपटक पढेर जीवनभर काम चलाउन सकिन्थ्यो, अहिले ज्ञानको आयु छोटिएको छ र सीपहरू चाँडै पुराना हुन्छन्।
अब हामी कहाँ जाने त ?
पहिलो कुरा, शिक्षाको लक्ष्य केवल रोजगारी होइन, सम्पूर्ण मानवीय विकास हुनुपर्छ। सीपसँगै नैतिकता, संवेदनशीलता, वातावरण प्रतिको जिम्मेवारी र मानसिक स्वास्थ्य प्रतिको सचेतना पनि पाठ्यक्रमको हिस्सा हुनुपर्छ। परीक्षाको दबाबले थिचिएका विद्यार्थीलाई सुन्ने परामर्श सेवा र भावनात्मक शिक्षा आजको आवश्यकता हो।दोस्रो, प्रविधिलाई विकल्प होइन, साधनका रूपमा अपनाउनुपर्छ।
डिजिटल पूर्वाधार गाउँसम्म पुर्याउने, शिक्षकलाई तालिम दिने र एआईलाई सिकाइ सहयोगीका रूपमा जिम्मेवारीपूर्वक प्रयोग गर्ने संस्कृति बनाउनुपर्छ भने तेस्रो, हाम्रो शिक्षा हाम्रै माटोसँग जोडिनुपर्छ।नेपाल जस्तो जैविक र सांस्कृतिक विविधताले भरिएको देशमा संरक्षण, कृषि, पर्यटन, जलस्रोत र स्थानीय ज्ञानमा आधारित शिक्षाले नै वास्तविक आत्मनिर्भरता दिन सक्छ।
शिक्षाको दर्शनतर्फ फर्केर हेर्दा पनि यही सत्य भेटिन्छ। सुकरातले प्रश्न सोध्ने विधिबाट मानिसलाई आफ्नै अज्ञानता चिनाएर सोच्न सिकाए, प्लेटोले शिक्षालाई आत्माको सही दिशामा मोडिने यात्रा ठाने, र ड्युईले अनुभवबाट सिक्ने शिक्षाको वकालत गरे। हाम्रो पूर्वीय परम्पराले पनि “तमसो मा ज्योतिर्गमय” भन्दै अन्धकारबाट प्रकाश तर्फको यात्रालाई नै शिक्षाको सार मानेको छ। यी सबै विचारले एउटै कुरा भन्छन्: शिक्षा केवल सूचना होइन, विवेक, स्वतन्त्र, चिन्तन र मानवताको सचेतता पनि हो।
शिक्षा सुधार समाजको सामूहिक प्रतिबद्धता हो; कुनै एउटा सरकार, एउटा नीति वा एउटा शिक्षकको काम होइन; अभिभावकले अङ्क भन्दा सिकाइलाई महत्त्व दिनुपर्छ, शिक्षकले पुरानो ढर्राबाट बाहिर निस्कने साहस गर्नुपर्छ, विद्यार्थीले जिज्ञासा जिउँदो राख्नुपर्छ, र राज्यले दीर्घकालीन दृष्टिले सोच्नुपर्छ।
शिक्षाको परिवर्तन पाठ्यक्रम र प्रविधिमा मात्र सीमित हुनु हुँदैन। मूल्याङ्कन प्रणाली पनि परिवर्तन आवश्यक छ। शिक्षा आज जहाँ छ, त्यहाँबाट अघि बढ्न रटानबाट बुझाइ तर्फ, प्रमाणपत्रबाट सीप तर्फ, र प्रतिस्पर्धाबाट सहकार्य तर्फ यात्रा गर्नुपर्छ। त्यही यात्राले मात्र शिक्षालाई समयको ऐनामा सुन्दर, सार्थक र मानवीय बनाउनेछ।
नेपालले आफ्नै सामाजिक, सांस्कृतिक, भौगोलिक र आर्थिक वास्तविकतासँग जोडिएको शिक्षा विकास गर्नुपर्छ। हाम्रो शिक्षा प्रणालीले नेपालको बहुसांस्कृतिक र बहुभाषिक वास्तविकतालाई आत्मसात् गर्दै स्थानीय ज्ञान, भाषा, वातावरण, जैविक विविधता, कृषि, उद्यमशीलता, पर्यटन, संस्कृति र समुदायका वास्तविक समस्यालाई शिक्षासँग जोड्न सकियो भने मात्र शिक्षा जीवनबाट अलग रहने छैन।यस अर्थमा शिक्षाको केन्द्र “उत्तर” बाट “प्रश्न” तर्फ सर्नुपर्छ।अन्ततः नयाँ सीप सिक्नु र पुराना अप्रचलित कुराहरूलाई त्यागेर नयाँ कुरा अँगाल्नु नै वास्तविक शिक्षा हो र “आजको आवश्यकता, भोलिको विकासले मात्र “समृद्ध नेपाल बन्दछ”।












प्रतिक्रिया दिनुहोस्