जनता टाइम्स

१४ पुष २०७६, सोमबार १५:३८

हुनथाल्यो तोकिएको समय भन्दा अगावै काम, यी ठेकेदारले पाए जनताबाटै उच्च सम्मान


काठमाडौं, पुस १४ । ठेक्का संझौता त भयो, के समयभित्रै काम होला ? केही समय अघिसम्म आम नागरिकको यही प्रश्न हुने गरेको थियो । ठेकेदारले काम लिने तर तोकिएको समय भन्दा चार गुणा समय घर्किदा पनि काम सुरु नगर्ने पुरानो शैलीका कारण नागरिकमा यस्तो आशंका उठनु स्वभाविक हो । तर अव यो अवस्था फेरिएको छ ।

निर्माण ब्यवसायमा लागेकाहरु पनि आफ्नो प्रतिष्ठासँग जोडेर समय अगावै काम गरी उदाहरण बन्न थालेका छन । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अघि सारेको काममा परिणाम भन्ने नारालाई ब्यवहारमा कार्यान्वयन गर्ने निर्माण ब्यवसायी पनि थुप्रै पाइन थालेको छ । त्यही परिणाम दाङमा देखिएको छ । दाङका स्थानीयबासीले ठेक्का अवधिभन्दा आठ महिनाअगावै पक्की पुल बनाउने ठेकेदारलाई फूलमाला लगाएर सम्मान गरे । जनताबाट यस्तो सम्मान पाउने रसुवा कन्स्ट्रक्सनका स्थानीय प्रतिनिधि थिए । केही समयअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन सम्झौताअगाडि नै सकेको सो कम्पनीले दाङको तुलसीपुर–घोराही सडक खण्डमा पर्ने ग्वारखोला पुल तोकिएको समयभन्दा आठ महिना अगाडि नै सम्पन्न गरेको हो ।

कम्पनीले यही सडक खण्डकमा अर्को पुल पनि १४ महिनाअघि सम्पन्न गरेको थियो । सम्झौताअगाडि नै काम सकेपछि कम्पनीलाई दाङको बिजौरी उद्योग वाणिज्य संघले सम्मान गरेको हो । समयमै काम सकिनुको मुख्य कारण प्राविधिक, आर्थिक र व्यवस्थापकीय क्षमता भएको कम्पनीका अध्यक्ष राजेन्द्र आचार्य बताउनु हुन्छ । ‘कुनै पनि आयोजना समयमै नसकिनुको मुख्य कारण निर्माण कम्पनीको क्षमता हो । क्षमताका हिसाबले हामी अब्बल छौं,’ आचार्यले भन्नुभयो । आचार्यका अनुसार समयमै काम सक्न चाहिने अर्को महत्वपूर्ण पक्ष दक्ष जनशक्ति हो । एउटा आयोजनामा अदक्षका कामदारदेखि अनुभवी र विज्ञ प्राविधिक जनशक्ति चाहिन्छ । कतिपय कम्पनी आफ्नो क्षमताभन्दा बढीका आयोजना हात पार्न खोज्छन । ठेक्का पाएपछि मान्छे खोज्न थाल्छन ।

जनशक्तिको क्षमतामा आफ्नो कम्पनी स्पष्ट भएको र कुनै पनि आयोजनामा कमी नभएको अनुभव पनि उहाँले सुनाउनु भयो । ‘जनशक्तिका हिसाबले हामी सम्पन्न छौं । प्रत्येक साइटमा रेखदेख गर्ने पर्याप्त इन्जिनियर छन, केन्द्रीय कार्यालयले कुन आयोजनामा के काम कहिले हुन्छ र त्यसका लागि के चाहिन्छ सब जानकारी राख्छ । त्यहीअनुसार आपूर्ति वा वितरण गर्छ । यति भएपछि काम ढिला भन्ने हुँदैन,’ आचार्यले भन्नुभयो । पूर्वाधार निर्माणको जिम्मा पाएका कम्पनीका लागि योजना अर्को महत्वपूर्ण पाटो हो । नेपालका धेरैजसो कम्पनी योजना एकातिर काम अर्कातिर गर्ने गरेको कारण पनि समयमै काम नहुने गरेको छ ।

अर्को महत्वपूर्ण पक्ष प्राविधिक उपकरण हो । धेरैजसो निर्माण कम्पनी थोरै प्राविधिक क्षमतामा चलेका हुन्छन । मनलाग्दी ठेक्का लिन्छन तर निर्माण उपकरण थोरै हुन्छन । एउटै डोजर सात ठाउँमा घुमाउँछन । रसुवा कन्स्ट्रक्सनले अहिले मदन भण्डारी राजमार्गको हेटौंडा–चतरा सडक खण्डमा ४२ वटा पुल बनाइरहेको छ । कम्पनीका लागि यो अहिलेसम्मकै ठूलो प्रोजेक्ट हो । २०७४ सालमा सम्झौता भएका यी पुल २०७७ असारसम्म सकिसक्नुपर्छ । ती सबै पुल तोकिएको समयभन्दा अघि नै हस्तान्तरण गर्ने लक्ष्य आचार्यले राख्नुभएको छ ।