जनता टाइम्स

१४ असार २०८२, शनिबार २१:५७

मदन भण्डारीको ७४ औँ जन्मजयन्तीमा एमाले रामेछापद्वारा वृक्षारोपण, सरसफाइ र फलफूल वितरण


रामेछाप, १४ असार ।  जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा नेकपा (एमाले) रामेछापले विभिन्न सामाजिक कार्यहरू गर्दै उहाँलाई स्मरण  गरेको छ ।

शनिबार नेकपा एमाले रामेछापले पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो भँगेरीस्थित पुष्पलाल पार्कमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य गङ्गा कार्की, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, जिल्ला कमिटीका सदस्यहरू, नगरपालिका कमिटी अध्यक्ष रोशन पाख्रिनलगायत नगर कमिटीका पदाधिकारी, सदस्यहरू, वडा कमिटी अध्यक्षहरू र जनसंगठनका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वृक्षारोपणसँगै सरसफाइ अभियानमार्फत वातावरणीय सन्देश दिनका लागि आयोजित कार्यक्रममा सहभागी नेताहरूले मदन भण्डारीको विचार र योगदानको स्मरण गर्दै वर्तमान राजनीतिक परिप्रेक्ष्यमा उहाँको ‘जनताको बहुदलीय जनवाद’ अझै सान्दर्भिक रहेको धारणा राखेका थिए। कार्यक्रममा सहभागिता जनाएका सबैले पार्टी कार्यकर्तामाझ अनुशासन, एकता र सिद्धान्तमा अडिग रहने प्रतिबद्धता जनाएका थिए।

यसै अवसरमा अखिल नेपाल महिला संघ रामेछापले मदन भण्डारीको जन्मजयन्तीलाई जनसेवामा रूपान्तरण गर्दै रामेछाप अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ।

महिला संघकी जिल्ला अध्यक्ष शान्ता न्यौपाने सुवेदीको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, रामेछाप नगरपालिका कमिटी अध्यक्ष रोशन पाख्रिन, विभिन्न जनसंगठनका नेताहरू लगायतको उपस्थिति रहेको थियो।