काठमाडौं, मंसिर ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नका लागि जन्मिएको पार्टी नभएको भन्दै आगामी निर्वाचनमा फेरि जितेर सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले देशको विकास र राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी पूरा गरेरै छाड्ने बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो बन्ने भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी तत्काल सुधार्न निर्देशन दिनुभयो ।
विगतमा भएका कमजोरी सच्याएर जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । राम्रो काम गर्ने जनप्रतिनिधिहरू पुनः सोही पदमा निर्वाचित हुन सक्ने सम्भावना रहेको भन्दै उहाँले जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानुन र ऐन निर्माण गरेर काम गर्न सक्ने पनि बताउनुभयो ।
पार्टीका कार्यकर्ता र आम नागरिकलाई खुसी बनाउने गरी कार्यसम्पादन गर्न उहाँले जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्