जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १३:०७

प्रधानमन्त्रीकाे भारत भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने प्रचारमा सीमित नबनोस् : नेपाली कांग्रेस 


काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि प्रमुख प्रतिपक्षलगायत राजनीतिक दल र विषयविज्ञहरूसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ। राष्ट्रिय महत्त्वको भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको कांग्रेसको भनाइ छ।

प्रधानमन्त्री शाहकाे भाेलिदेखि सुरु हुने भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै कांग्रेसले भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना व्यक्त गरेको छ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षसहित राजनीतिक दलहरूसँग परामर्श गर्ने स्थापित लोकतान्त्रिक अभ्यास रहेको स्मरण गराइएको छ।

कांग्रेसले यही अपेक्षाका साथ भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ। जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको विज्ञप्तिमा उल्लेख छ। 

तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषयविज्ञहरूसँग परामर्श गर्न आवश्यक नठानेपछि आफूहरूले औपचारिक सुझाव अघि नसारेको कांग्रेसले स्पष्ट पारेको छ। ‘राष्ट्रिय महत्त्वको भ्रमणअघि राष्ट्रको साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनसमेत सरकारले आवश्यक ठानेन,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुन सके अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने जनाएको छ।

यद्यपि, सरकारले परामर्श नगरेको विषयलाई प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर नहेर्ने कांग्रेसको भनाइ छ। सरकारसँग विभिन्न विषयमा असहमति रहे पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता र तात्कालिक प्रचारमा मात्र सीमित हुन नहुनेमा जोड दिएको छ। विगतमा भएका प्रतिबद्धता कार्यान्वयन गर्ने, विद्यमान समस्याको ठोस समाधान खोज्ने तथा पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्ने अवसरका रूपमा भ्रमणलाई उपयोग गर्नुपर्ने उसको सुझाव छ।  ‘हाम्रो अपेक्षा छ- यो भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तात्कालिक प्रचारमा सीमित नबनोस् । विगतका प्रतिबद्धताहरुको कार्यान्वयन, विद्यमान समस्याहरुको ठोस निदान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न यो अवसरको उपयोग हुन सकोस् र भ्रमण सार्थक बनोस्’, नाेटमा उल्लेख छ । 

भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले मात्र निर्धारण नगर्ने उल्लेख गर्दै कांग्रेसले त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धि नै भ्रमणको वास्तविक सफलता हुने स्पष्ट पारेको छ।

नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए पनि प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ।