जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार २२:११

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित चार जनाविरुद्ध प्रमाण नष्ट र अनुसन्धानमा हस्तक्षेप गरेको आरोपमा जाहेरी


काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री बालेन्द्र शाहका अवैतनिक मुख्य सल्लाहकार कुमार बेन भन्ने कुमार व्यञ्जनकारसहित चार जनाविरुद्ध प्रहरी नियन्त्रणमा रहेका डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याई प्रमाण दबाउने तथा नष्ट गर्ने प्रयास गरेको आरोपमा  जाहेरी दरखास्त पेश गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पेश गरिएको जाहेरीमा सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ७ का धन बहादुर वलीले मुलुकी अपराध संहिता, २०७४ को सार्वजनिक न्यायविरुद्धको कसूरसम्बन्धी दफा १३ बमोजिम कारबाहीको माग गर्नु भएकाे हाे। जाहेरीमा कुमार व्यञ्जनकारसँगै प्रधानमन्त्रीको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारीमा रहेका इन्जिनियर विशाल अधिकारी, गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्की र आफूलाई प्रधानमन्त्री तथा गृहमन्त्री दुवैको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठलाई कसूरदारका रूपमा उल्लेख गरिएको छ।

जाहेरीका अनुसार झापाका इनाम सापकोटालाई प्रहरीले पक्राउ गरी सुरुमा अभद्र व्यवहार र त्यसपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गर्ने क्रममा बरामद गरिएका दुईवटा मोबाइल फोन लगायतका डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याइएको दाबी गरिएको छ। ती मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअगाडि करिब तीन दिनसम्म प्रहरीको आधिकारिक नियन्त्रण तथा अनुसन्धान प्रक्रियाबाहिर राखी अनधिकृत व्यक्तिको पहुँचमा पुर्‍याइएको जाहेरीमा जिकिर गरिएको छ।

डिजिटल फरेन्सिक प्रतिवेदनको लोकेसन विवरणका आधारमा बरामद मोबाइल फोन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कुमार व्यञ्जनकारको ज्वागलस्थित निजी निवास, दरबारमार्ग तथा जिल्ला प्रहरी परिसर भद्रकाली परिसर र आसपासका स्थानमा पुर्‍याइएको दाबी जाहेरीमा गरिएको छ। उक्त अवधिमा कल विवरण, एसएमएस, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, सिग्नल, इमेल, फोटो, भिडियो, अडियो तथा डकुमेन्टहरूमा पहुँच पुर्‍याई आफू तथा निकट व्यक्तिसँग सम्बन्धित सामग्री मेटाइएको, महत्त्वपूर्ण अभिलेख हटाइएको र मन नपर्ने व्यक्तिसँग सम्बन्धित सामग्रीको स्क्रिनसट लिई मिडिया ट्रायल गरिएको दावि छ । 

यसका साथै विशाल अधिकारी सोधपुछ कक्षमा पुगेर अनुसन्धान अधिकारीलाई दबाब दिएको, चिराग श्रेष्ठले डिजिटल प्रमाणसम्बन्धी विषयमा हस्तक्षेप गरेको तथा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की स्वयं डिजिटल फरेन्सिक प्रयोगशालामा उपस्थित भएको दाबीसमेत जाहेरीमा गरिएको छ। जाहेरीकर्ताले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न र नष्ट वा हेरफेर गरिएका डिजिटल प्रमाण पुनः प्राप्त गरी अनुसन्धानमा समावेश गर्न माग गरेका छन्।