जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ११:४७

सुनकोशी–मरिण ठेक्का रद्द प्रकरण : प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न कांग्रेसको माग


काठमाडौँ, मङ्सिर १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ।

आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको भन्दै उहाँले यस प्रकरणमा प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताउनुभएको हो।

कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेको थियो। सोही मागअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारले सातबुँदे निर्देशन पाएको पृष्ठभूमिमा आङ्देम्बेले यस्तो माग गर्नुभएको हो।

बिहीबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उहाँले ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुन मिच्ने अधिकार नभएको उल्लेख गर्नुभएको छ।

‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन । यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उहाँले लेख्नुभएको छ।

उहाँले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गर्नुभएको छ। कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको हो, ठेक्का रद्द गर्ने कानुनी आधार के हो र त्यसबाट राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने उहाँका प्रश्न छन्।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने क्रममा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोग भएको भन्दै प्रश्न उठाएका थिए। समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको छ।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी–मरिण राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ।

यस्तो महत्त्वपूर्ण आयोजना सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार भएको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाउनुभएको छ। उहाँले ठेक्का रद्द प्रक्रियाको कानुनी वैधता, प्रधानमन्त्री कार्यालयको भूमिका र त्यसबाट राज्यलाई पर्न सक्ने आर्थिक क्षतिको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभएको छ।