काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कोल्हवी नगर सचिव मनोजप्रसाद चौधरीकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरी बलले शोक सलामी दिएपछि विवाद उत्पन्न भएको छ। चौधरी पूर्वसशस्त्र प्रहरी कर्मचारी रहेको खुलेपछि नियम विपरीत सलामी दिइएको भन्दै सशस्त्र प्रहरी संगठनले घटनाबारे छानबिन सुरु गरेको छ।
बारा क्षेत्र नम्बर–१ का रास्वपा नेता चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारीको टोली सहभागी भएर शोक सलामी दिएको थियो। उक्त अन्त्येष्टिमा रास्वपाका नेता तथा कार्यकर्तासहित बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालसमेत सहभागी हुनुभएको थियो।
सामाजिक सञ्जालमा अन्त्येष्टिका तस्बिर तथा विवरण सार्वजनिक भएपछि पूर्वसशस्त्र प्रहरी कर्मचारीका परिवारलाई समेत संगठनले शोक सलामी दिन मिल्ने वा नमिल्ने भन्ने विषयमा प्रश्न उठेको हो। चौधरी बहालवाला सशस्त्र प्रहरी कर्मचारी रहेको जानकारी प्राप्त भएपछि सलामीका लागि टोली पठाइएको थियो। तर पछि बुझ्दा चौधरी पूर्वसशस्त्र प्रहरी कर्मचारी रहेको खुलेको सशस्त्र प्रहरीको दाबी छ ।
संगठनमा कार्यरत कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने प्रचलन रहे पनि पूर्वकर्मचारीका आफन्तलाई भने त्यसरी सलामी दिने व्यवस्था छैन । घटनामा त्रुटि भएको स्वीकार गर्दै कसको आदेशमा प्रहरी टोली पठाइएको हो भन्ने विषयमा छानबिन भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्