जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार ०८:३८

नेकपामा बामदेव गौतमको शक्ति : विधान संशोधन गरेर उपाध्यक्ष, संबिधाननै संशोधन गरेर अव प्रधानमन्त्री !


काठमाडौं, फागुन १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उपाध्यक्ष वामदेव गौतमलाई लाभैलाभ हुन थालेको छ । १४ महिनाअघिसम्म पार्टी नेतृत्वसँग असन्तुष्ट गौतम सचिवालयमा जता लाग्यो उतै बहुमत हुने अवथाको फाइदा उठाउँदै लाभको सिढी चढन सफल हुनुभएको हो । गत निर्वाचनमा बर्दिया १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि भूमिकाविहीन जस्तै देखिनुभएका गौतम अहिले आफ्नो चाहना पूरा गराउनका लागि संबिधान संशोधन जस्तो अति गम्भीर बिषयलाई पनि सामान्य केटाकेटीको खेल जसरी गराउन पार्टीभित्र सफल देखिन थाल्नुभएको छ ।

एक ब्यक्ति एक पद हुनुपर्ने भन्दै स्थायी कमिटीमा फरक मत नैराख्नुभएका गौतम भने लगातार दोहोरो तेहोरो जिम्मेवारीमा पुग्नुभएको छ । दुई अध्यक्षमध्ये एकलाई सरकार र अर्कालाई पार्टीको कार्यकारी अधिकार दिने गरी अधिकार बाँडफाँटको प्रस्ताव उहाँकै थियो । तर आफ्नै हकमा भने त्यो लागू भएन । उहाँलाई नेकपाको राजनीतिक ‘करिअर’मा लाभै लाभ प्राप्त हुन थालेको छ। सचिवालयमा ९ मध्ये आफू जता लाग्यो, उतै बहुमतको फाइदा उठाएर अहिले गौतम लाभ उठाउन सफल हुनुभएको हो ।

संगठन विभाग प्रमुख

नेकपाका ३२ विभागमध्ये सबैभन्दा बलियो र प्रभावकारी बिभाग हो– संगठन विभाग। यो विभाग प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा हुनुहुन्छ । साउन ५ को सचिवालय बैठकले गौतमलाई संगठन विभाग प्रमुख बनाउने निर्णय गरेको थियो। यो विभागलाई जिल्लामा देखिएको संगठनात्मक विवाद मिलाउनेदेखि आचारसंहिता कार्यान्वयन गर्नेसम्मको जिम्मा छ।

संगठन विभाग कुनै पनि दलको मुटु हो। यो विभागको नेतृत्व गर्नेले पार्टीको संगठनमा ‘होल्ड’ राख्ने गर्छन्। यस्तो महत्वपूर्ण जिम्मा ओली–दाहाल दुवैको ‘दाहिना’ बन्दै गौतम प्राप्त गर्न सफल भएका छन्। उनी पार्टी सदस्यता नवीकरणदेखि संगठनको तथ्यांक राख्नेसम्मका कार्ययोजनामा जुटेका छन्।

विधान संशोधन गरेरै उपाध्यक्ष

पार्टी एकताका बेला दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित नौ सदस्यीय सचिवालय बनाउने गरी विधान बन्यो। दुई अध्यक्ष र दुई वरिष्ठ नेतापछि गौतम पाचौं वरीयतामा सचिवालय सदस्य हुनुहुन्थ्यो । तर, उहाँका लागि नेकपाले विधान नै संशोधन गरी पार्टी केन्द्रमा उपाध्यक्ष बनाउने प्रस्ताव ल्यायो। गत असोजमा उहाँलाई अध्यक्षहरूको अनुपस्थितिमा पार्टी अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग गर्न पाउनेलगायत तीन अधिकारसहित उपाध्यक्ष बनाउने निर्णय लियो।

गौतमलाई केन्द्रमा उपाध्यक्ष बनाउने प्रस्ताव नेतृत्वले ल्याउँदै गर्दा जिल्ला तहमा पनि बहुपदको व्यवस्था गर्न नेताहरूले माग गरे। तर, केन्द्रीय कमिटी बैठकले गौतमका हकमा मात्र लागू हुने गरी केन्द्रमा उपाध्यक्षको व्यवस्था गर्‍यो। उहाँ पार्टी उपाध्यक्ष चयन हुनुभयो । उपाध्यक्ष गौतम जनसंगठनको इञ्चार्ज पनि आफै हुनुहुन्छ । अखिल नेपाल किसान महासंघको इञ्चार्ज गौतम सुरुमा आफै संयोजक हुनुहुन्थ्यो । उहाँले संयोजक आफूनिकटलाई छाडेर इञ्चार्ज बन्नुभएपछि नै पार्टीको संगठन बिभाग प्रमुख र उपाध्यक्ष हुनुभएको छ ।

अव संविधान संशोधन

उपाध्यक्ष बामदेव गौतम सांसदलाई राजीनामा गराएरै उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा जान खोज्नुभयो । त्यसका लागि डोल्पादेखि काठमाडौंसम्मका सांसदलाई राजीनामा गराउन सहमत गराउनुभयो गौतमले । तर चर्काे आलोचनाले नेतृत्व सहमत भएन । पार्टीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन खोज्यो तर उहाँले संबिधान संशोधन गरी आफू प्रधानमन्त्री बन्ने निश्चित भए मात्रै जाने अडान लिनुभयो ।
आफू संसद्मा प्रधानमन्त्री हुन जाने भन्दै गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभयो । दुवै अध्यक्ष तयार हुनुभएन । यसबाट रिसाउनु भएका गौतमले सचिवालयमा बहुमत जुटाएको भन्दै दवाव दिन थाल्नुभयो । आफ्ना लागि जे पनि गर्न पछि नपर्ने गौतमले अव प्रधानमन्त्री बन्न जनताबाट चुनिनै नपर्ने गरी संबिधान संशोधन गराउने बाटोमा पुग्नुभएको छ । तर संबिधान संशोधनको यो खेलले मुलुक पुनः अस्थिरतातिर जाने र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त हुने संभावना भने दोहोरिएको छ ।