जनता टाइम्स

१६ फाल्गुन २०७६, शुक्रबार १३:०५

पूर्वी पहाडलाई प्रधानमन्त्री ओलीले दिएको त्यो खुसी


तेह्रथुम, फागुन १६ । तमोर नदीको पानी तानेर काकाकुल पाँचथरको यासोक खानेपानीको प्रबन्ध मिलाउनु सपना जस्तै थियो । त्यो सपनालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यथार्थमा परिणत गरिदियो । निदाएर देखेको सपना भए पूरा हुने थिएन, प्रधानमन्त्री ओलीलाई निदाउनै नदिने त्यो सपना साकार भएपछि आफ्नो जन्मदिन पारेर उदघाटन गर्न यासोक आइपुग्नुभयो । पचास बर्षअघि यासोक पुग्दा काकाकुल देख्नुभएका प्रधानमन्त्री ओलीले पचास बर्षपछि यासोकमा खानेपानीको समस्या समाधान गर्नुभयो ।

तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारको दृढ लक्ष्य र प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका यासोकका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी नबन्ने कुरै थिएन । जनताको अनुहारमा देखिएको चमकले प्रधानमन्त्री ओली निकै प्रफुल्लित हुनुभयो । अनि भन्नुभयो, ‘पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पुर्याउने होला भन्ने त्यो चिन्ता थियो, यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत उदघाटन गर्न पाउँदा त मलाई पनि च्याब्रुङसँगै नाचौं–नाचौं लाग्यो ।’

पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युतको प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको अवसर पारेर यसै बर्षको फागुन ११ गते तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो । कूल नौ किमी सडक ५४ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का भएकामा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन मात्रै तेह्रथुम पुगेको प्रचार गरिए पनि स्थानीयवासीमा प्रधानमन्त्रीको आगमन र थालनी भएका विकास निर्माणका कामले उत्साहित छन ।

प्रधानमन्त्री ओलीले फागुन ११ गते ५१ करोड ३० लाख रुपैयाको लागतमा यासोक बृहत पम्पिङ खानेपानी आयोजनाको उदघाटन गर्नुभएको थियो । आफ्नो जन्मदिनका दिन प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, एक हजार ११५ घरमा पुगेको विद्युतको उदघाटन । कुम्मायक गाउँपालिकामा पर्ने साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अँध्यारोमुक्त घोषणा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव मनाउनु भयो । त्यो उहाँको लागि अवसर अनि पाँचथरका यी काकाकुल गाउँबासीका लागि बरदान थियो ।

चार वर्षअघिदेखि निर्माण शुरु भई यसै पाली यहाँ १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको थियोे । त्यस दिन प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा मात्रै कार्यक्रम तय भएको थिएन, पाँचथर र तेह्रथुमका विभिन्न विकासनिर्माणका आयोजनाको कामको थालनी गरिएको थियो । तर देशका कार्यकारी प्रमुखलाई जन्मदिनको शुभकामना व्यक्त गर्न पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँका दशौँ हजार बासिन्दा प्रधानमन्त्री ओलीको इवा तिनसल्लेस्थित जन्मघर आइपुगे । प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गसँग जोड्ने सडकको शिलान्यास तथा पूर्वी पहाडकै निम्ति महत्वपूर्ण कृषि शिक्षालय स्थापनाको घोषणा गर्नुभयो । जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँकै इच्छानुसार जन्मदिनका अवसरमा तेह्रथुमका चार सय ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित सम्मान गरिएको थियो भने दुई हजार विद्यार्थीलाई नोटबुक र कलम वितरण गरिएको थियो ।

यस्तै सशस्त्र द्वन्द्वमा विस्थापित आठराई, संक्रान्ति बजारस्थित नेपाल बैंकको शाखाको पनि प्रधानमन्त्री ओलीले नै उदघाटन गर्नुभयो । प्रधानमन्त्रीको जन्मथलोमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त कृषि शिक्षालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाले पनि यहाँका बासिन्दा उत्साहित छन् । प्रधानमन्त्री ओलीको तेह्रथुम, पाँचथर भ्रमणले स्थानीयबासी निकै खुसी बने । शीर्षनेताले जनताका कुरा सुन्दैनन, प्रत्यक्ष रुपमा साक्षात्कार गर्दैनन् भन्ने आरोप प्रधानमन्त्री ओलीका हकमा कहीँ कतै लागू हुन्न भन्ने उहाँको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा गरिएको कार्यक्रमले देखायो ।

प्रधानमन्त्री ओलीले त्यहाँ आएका ज्येष्ठ नागरिकका गुनासा मसिनो गरी सुन्नुभयो । धेरैसँग उहाँले दोहोरो अन्तरक्रिया गर्नुभयो । कतिपयले आफ्ना गुनासा प्रधानमन्त्री ओलीलाई सुनाउन पाएकोमा हर्षका आँशु नै झारे । धेरै ज्येष्ठ नागरिकले खानेपानीको प्रबन्ध गरिदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरे । कतिपयले त आफ्ना व्यक्तिगत समस्या र दुःखेसोसमेत पोखे । परिवारका अन्य सदस्यले नहेरेको तथा हेलाँहोचो गरेको गुनासो पनि प्रधानमन्त्री ओलीलाई सुनाए । धेरैका गुनासा सुनेपछि प्रधानमन्त्री निकै भावुक देखिनुभयो । उहाँले सधैँजसोको जस्तो रमाइलो मन्तव्य राख्नुभएन । मलीन अनुहारमा प्रधानमन्त्रीले विकास र समृद्धिका लागि केकस्ता प्रयास गर्न सकिन्छ भन्ने चर्चा गर्नुभयो ।

जन्मदिन भएकाले प्रधानमन्त्रीलाई उपहार दिने र सुस्वास्थ्य र दीर्घायुको कामना गर्नेको संख्या ठूलो थियो । जन्मदिनको शुभकामनासँगै उपस्थित हजारौँ स्थानीयवासीले प्रधानमन्त्रीको दीर्घ र स्वस्थ जीवनको कामना गरे । प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक समृद्ध राष्ट्र बन्न सकोस् भन्ने आठराईवासीको कामना थियो । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्न सञ्जु बुढाथोकी झापाको दमकबाट आठराईको इवा तीनसल्ले आइपुग्नुभएको थियो । गाउँको सानो झुपडीमा जन्मेर ठूलो सङ्घर्ष गरेर प्रधानमन्त्री बन्नु सामान्य कुरा नभएको बुढाथोकीको ठम्याइ थियो । सवैको कुरा सुनेर समस्या समाधानको उपाय खोज्ने अठोट प्रधानमन्त्री ओलीले गर्नुभयो । इवा तीनसल्लेमा उपस्थित सवैमा प्रधानमन्त्री ओलीकै पालामा मुलुक बन्छ भन्ने बिश्वास जाग्यो । तर काठमाडौंलाई त्यो बिश्वास र आशाको के अर्थ जस्तै देखियो । पाँचथर र तेह्रथुममा खुसियाली छाउँदा काठमाडौंलाई दुख्यो ।

यो पनि पढनोस : मलाई पनि च्याब्रुङसँगै नाचौँ–नाचौँ लाग्यो

…मलाई पनि च्याब्रुङसँगै नाचौँ-नाचौँ लाग्यो

प्रधानमन्त्रीसँगै आउनुभएका उहाँका पिता मोहनप्रसादले समेत स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभयो । उहाँको जन्मघरमा तस्वीर र सेल्फी लिनेको भीड नै लागेको थियो । यो ऐतिहासिक क्षण भएको धेरैको अनुभूति थियो । प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि लिनुभएको सङ्कल्पको एक हिस्सा उहाँको ६९औँ जन्मदिन रहन गयो । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युतको प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो ।

यी सवै कामले पूर्व पहाडमा खुसियाली छाएको थियो । आफ्नो क्षेत्रमा आएर बिकाशको मुल फुटाउँदै जनताको पीडामा मल्हम लगाउने प्रधानमन्त्री ओलीलाई काठमाडौंमा रोइलो गरेको देखेपछि यहाँका बासीलाई काठमाडौंप्रतिको बिश्वास घटेको छ । भन्छन, ‘पूर्वी पहाडमा खुसियाली छाँउदा काठमाडौंलाई किन दुख्छ ?’