प्रकाश सिलवाल, शरद शर्मा/काठमाडौं । विगत वर्षमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाउनुभयो । ‘यस पटक सात्विक होली भयो, न रङ्ग, न रस, न उमङ्ग घरमै सामान्यरूपमा आफन्तहरुसँग दङ्ग,’ कलाकार गजुरेलले भन्नुभयो, ‘यस पटकको होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो ।’
विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो । गृह मन्त्रालयले भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो । सरकार र सामाजिक क्षेत्रका अगुवाले गर्ने यस प्रकारको अपिललाई सर्वसाधारणले सहजै ग्रहण गरे र होलीका नाममा हुने उमङ्गलाई सामान्यरुप दिए । आज बिहानै कलाकार गजुरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा होली नमनाउन यसरी आग्रह गर्नुभएको थियो :
तन अर्काे पटक रङ्ग्याउँला
यो वर्ष मन रङग्याएर फागु मनाऔँ
पानी अर्काे पटक छ््यापौँला
यो वर्ष बानी बदलेर फागु मनाऔँ ।
कोरोना भाइरसको जोखिमप्रति सचेतना दिँदै कवि एवं सञ्चारकर्मी डा नवराज लम्सालले पनि ‘यसपालि फागु नखेलौँ, पुरानै फोटोले चित्त बुझाऔं’ भन्दै पुरानै तस्वीर पोष्ट गर्नुभयो । अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि होलीमा विगतमा जस्तो रङ्गिन तस्वीर समावेश गरेको पाइएन । काठमाडौँ उपत्यकाका सडक, चोक र घरहरुमा छतबाट पानीमा बाल्टिन नै खन्याउने, सडकमा समूह जम्मा गरेर रङ्ग दल्ने र फाल्ने तथा नाचगान गर्ने गरेका दृष्य देखिएनन् ।
सडकमा केही मानिस मात्रै रातो र अबीर लगाएर हिँडेको देखियो । रङ्गहरुको पर्व होली (फागु) का नाममा हुने विकृति र उच्छृङ्खल गतिविधि यस वर्ष नदेखिएकाले सुरक्षाको प्रबन्धमा प्रहरीलाई पनि सायदै सहज नै भयो । विश्वव्यापी कोरोना भाइरसको प्रभाव र समाजमा क्रमशः शान्तिपूर्णरुपमा यस्ता पर्व मनाउने चेतना फैलिएका कारण विगत वर्षमा जस्तो यस वर्षको होली शान्तिपूर्ण देखियो । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने यो पर्वमा यस पटक धेरैले घरमै सामान्य, सौम्य र शान्तिपूर्णरुपमा मनाए ।
काठमाडौँस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पहिलेको तुलनामा यस वर्षको होली पर्व मनाउने सङ्ख्यामा कमी आएकाले कुनै घटना नभएको बताउनुभयो । उहाँले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी भने परिचालन गरिएको जनाउँदै होली पर्वमा सम्भावति दुर्घटना हुनबाट रोक्न उपत्यकामा करिब दुई हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
‘यसवर्ष कोरोनाका कारणले प्रशासनले पनि होली नमनाउन भनेपछि धेरै मानिस सडकमा छैनन, तै पनि हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छांै,’ बोगटीले भन्नुभयो । उहाँका अनुसार मध्यान्हसम्म जबरर्जस्ती होली छ््याप्ने, हुलहुज्जत गर्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ । कोरोनाको जोखिमका कारण उपत्यकाका प्रमुख ठाउँ सुनसान छन् । वसन्तपुरमा भने होली मनाउन केही मानिस जम्मा भएका छन् । प्रहरी प्रवक्ता बोगटीका अनुसार करिब ५ सयको सङ्ख्यामा वसन्तपुरमा मानिस जम्मा भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि होलीमा सम्भावित सवारी दुर्घटनालाई ध्यान दिई सवारी जाँचलाई कडा पारेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको रौनक त्यति नभए पनि सवारी जाँचलाई कडा पारिएको बताउनुभयो । उहाँका अनुसार उपत्यकामा ७५ स्थानमा सवारी जाँच गर्नका लागि करिब ५६६ ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
यसैगरी जथाभावी सवारी चलाउने, कागजात बिना चलाउनेलाई नियन्त्रण गर्न १४ वटा मोबाइल टोलीसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चारदेखि छ जनाको टोलीमा ती स्थानमा ट्राफिक परिचालन गरिएका छन् । उहाँले अहिलेसम्म नियमविपरीत सवारीसाधान चलाउने ५० जनालाई कारवाही गरिएको छ भने छ मादकपदार्थ सेवन गरेकालाई नियन्त्रणमा गरिएको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गर्ने, हेल्मेट नलगाउने, तीन जना मोटरसाइकलमा बसाउने, तीव्रगतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्