जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १०:०६

कोरोना भाइरसबाट बच्न सवैले गरौं यस्तो प्रण


राधाकृष्ण देउजा

सँसारनै आतंकित पार्न सफल रहेको अदृष्य तर शक्तीशाली भाइरस अर्थात कोरोना भाइरसले न्युयोर्कको नेपाली समाजका एक असल व्यक्तिलाई हामीबाट टाढा लगेको छ । यो आफैंमा अत्यन्त दुखद त छदैछ, यो अपुरणीय छ । अनि इतिहासकै यो यस्तो दुखद सुरुवात हो कि जहाँ मृत्युमा मलामी हुने छैनन । यस्तो दुखद परिस्थितीको सामना हाम्रो समुदायको निम्ती सुरुवात भएपनि संसारभर यो नियति बन्दै गएको छ । दुनियाका सवै देशका सरकारहरु आफूले सकेसम्मको कोशिष गरिरहेका छन यो भाइरसको प्रकोपबाट आफ्ना नागरिकलाइ सके अछुतो राख्न अनि नसके पनि धेरै भन्दा धेरैलाई बचाउन । तर अवस्था हेर्दा लाग्छ कि कोशिसहरुले क्षति न्यूनीकरण गर्नेवाहेक अरु केहि गर्न सकेको छैन । नियन्त्रण हुने त कुनै गुञ्जायसनै देखिएको छैन । तर पनि कोशिस त जारि हुनैपर्छ सवैको तर्फबाट । आम नागरिकले आफु बाँच्ने र सक्दा अरुलाई बचाउनु पर्यो ।

सरकारहरुले सम्भव सवै उपाय लगाएर भाइरसको संक्रमण भएकाहरुको उपचार गर्ने र थपलाइ संक्रमण हुनबाट रोक्ने काम गर्नु पर्यो । सँसारभरका नागरिकहरु र उनीहरुको प्रतिनिधित्व गर्ने सरकारहरु मिलेर कोशिस गर्दा यो प्रकोप क्रमश न्यूनीकरण हुँदै क्रमश निर्मुलीकरणको बाटोमा जानेछ भन्ने आशा गर्न सकिन्छ । अहिलेको अवस्थालाइ हेर्दा कारुणिक मृत्युहरुको कारणहरु पहिल्याउने हो भने के निष्कर्ष निकाल्न सकिन्छ भने यस प्रकोपको सुरुवाती दिनहरुमा सवै देशका सरकारहरु हुनुपर्ने जति सजग भएनन । अनि जव सरकारहरु ढिलो गरेर पनि सजग भए तव जनताको पङ्क्तिमा अटेरी र अराजकता देखा पर्दैछ । जसले समस्या सुल्झाउने भन्दा वाल्झाउने काम गरिरहेको छ । परिणाम मृत्युहरु बढीरहेका छन भने थप मृत्यु स्वाभाविक बन्दैछन ।

अहिले भर्खरको अवस्था हेर्ने हो भने चाहिं सवै सरकारहरु सजगताका साथ सकेसम्मको राष्ट्रिय घाटा सहेर पनि नागरिकको ज्यान बचाउन लागिरहेका छन तर आम नागरिकहरुमा चाहिं उचित सजगता, सतर्कता र जिम्मेवारीपनको अभाव देखिदै छ । अत्यावश्यक सेवा वाहेकका सेवामा कार्यरत वाहेकका सबैलाइ घर बस्न आव्हान गर्दै सँसारका प्राय सबै सरकारहरु संक्रमण न्यूनीकरण र सङ्क्रमितको उपचारमा डेटका छन तर सँसारका थुप्रै देशहरुमा वेप्रवाह सामान्य अवस्थामा झैं हिड्ने नागरिकहरु पनि देखिएका छन । सिधा शव्दमा भन्दा त्यो अराजकता हो, अनि अहिलेको अवस्थामा भन्नु पर्दा त्यो आफु र आफ्नाहरुको स्वास्थ्यप्रतिको असावधानी मात्रै नभएर अर्काको स्वास्थ्यलाई समस्यामा पार्ने मानवीय अपराध पनि हो ।

हाम्रो मातृभुमि नेपाल जस्तो भुकम्पले थला परेको अर्थतन्त्र भएको देश देखि महाशक्ति अमेरिकासम्मका सरकारहरु यो विषम परिवेशमा थन्कन वाध्य नागरिकको चिन्ता गरिरहेका छन, उनीहरुलाइ परेको आर्थिक, भौतिक र सामाजिक मारलाई घटाउन आवश्यक कदम चाल्ने भनिरहेकै छन । अर्को शव्दमा भन्दा सवै सरकारहरुले जनतालाइ केन्द्रमा राखेर काम गरिरहेको वर्तमानमा आफ्नो निम्ती चिन्तित मात्रै नभएर सक्रिय सरकारको अनुरोधात्मक आदेश नमान्ने कुराले नागरिकको स्वास्थ्य सुरक्षामा चुनौती थप्नुको अलावा नागरिक सभ्यतालाइ नै जिस्क्याई रहेको छ भन्दा अन्याय नहोला ।

बढो स्पष्ट भन्नु पर्दा हामि नागरिकहरुको सजगता, सतर्कता र केही मात्रामा गरिने जीवनशैली परिवर्तनले आफु बच्ने अनि अरुलाइ बचाउने काम हुन्छ भन्ने सत्य स्थापित भएको वर्तमानमा हामीले सवैभन्दा पहिला आफुलाइ जिम्मेवार बनाउनु अनिवार्य भैसकेको छ । हो, अत्यावश्यक मानिने स्वास्थ्य सेवामा कार्यरतहरुले चाहेर पनि घर बस्न पाउने अवस्था छैन अनि सामान्य जीवन धान्न आवश्यक सेवा प्रदायक कार्यलयहरुमा काम गर्नेहरुले पनि घर बस्न पाएका छैनन् अनि हामि जस्ता कतिपयले चाहिं काम गर्ने कम्पनि अत्यावश्यक सेवा भित्र परेको कारण काम गर्नु परेको छ तर जसको त्यस्तो अवस्था वा वाध्यता छैन उहाँहरुले गरिदिनु पर्ने एक मात्रै काम भनेकै सुरक्षित र आनन्दित रुपमा घर भित्र बसिदिनु हो । जसले गर्दा बाँच्ने बचाउने काम एकै पटक हुन्छ । अनि अहिले अर्को समस्या पनि देखिएको छ त्यो भनेको कोरोना संक्रमणको आशँका हुँदा पनि त्यस बारेमा भन्न लजाउने वा लुकाउने अनि कोरोना संक्रमणको बारेमा थाहा हुँदा पनि नभन्ने, गोपनियता कायम गर्ने नाममा लुकाउने पनि देखिएको छ ।

त्यसो गर्नेहरुले स्मरण गर्न नचाहेको वा नगरको कुरा के हो भने कोरोनाको संक्रमण जोसुकैलाई कुनै पनि बेला हुन सक्ने मात्रै नभएर संक्रमितको सम्पर्कमा आउने जोसुकैलाइ पनि हुन सक्ने कुरा हो । यदी आफु वा आफुले चिनेको कोही कसैलाइ कोरोना संक्रमण भएको छ भने तत्काल सार्वजनिक नगरिदिने हो भने संक्रमितबाट संक्रमित भएकाहरुले अरु थपलाइ संक्रमण गराउने खतरा हुनु अनिवार्य हुन्छ । संक्रमण लुकाउने कार्यनै मानवीयतानै शर्मसार हुने मात्रै नभएर म मर्छु भने अरु किन बाच्नु पर्यो भन्ने अमानवीयता प्रदर्शन हुने मात्रै नभएर त्यसो गर्दै गर्दा एक महाअपराध हुन्छ भन्ने पनि सत्य सम्झना पनि गरिनु पर्ने देखिएको छ ।

खैर जे होस, अहिलेको अवस्थामा भै परि आउने अवस्थालाइ सामना गर्ने मनोवल राख्ने, अराजकता हैन अनुशासनलाइ अंगाल्ने, सजग र सतर्क रहने नै महत्वपूर्ण हुन । जसले चुनौतीलाइ आउनबाट रोक्न सक्छ । तर यदी दुर्भाग्यवश कोरना संक्रमण भयो भने चाहिं त्यस दुखद सत्य लुकाउने हैन बरु तत्काल त्यसलाइ सार्वजनिक गर्नुपर्छ भन्ने कुरालाइ मनन गरौँ । कहीं कतै आफ्नै त्रुटीले एडस लागे त लुकाउनु हुदैन भने कोरोना संक्रमणलाइ गोपनियताको आडमा लुकाउने काम चाहिं नगर्ने प्रण गर्नुपर्छ । झन माया, प्रेम र शान्तीको पर्यायको रुपमा चिनिने नेपाली हामिले त आफैं मर्दै गर्दा पनि अरुलाइ जोगाउने कुराको ग्यारेण्टी गर्नुपर्छ ।