जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार ०९:४०

पोखराका सडकमा स्प्रे छर्दै मुख्यमन्त्री गुरुङ र नगरप्रमुख जीसी


पोखरा, चैत १४

चढ्दो गर्मीमा सर्लक्कै ज्यान छोप्ने पहिरनमा दुई व्यक्ति देखिए । एकअर्कालाई हेरेर मुखामुख गरे । पोखरा महानगरपालिकाको कार्यालयभित्र थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नगरप्रमुख मानबहादुर जीसी ।हेलमेट, चस्मा, मास्क, रेनकोट र बुट लगाएर दुवैले स्प्रे मेसिन बोके । एक हातले पम्प गर्दै अर्को हातले औषधि छर्किए । कोभिड–१९ को संक्रमण रोक्न उनीहरूले जीवाणुनाशक औषधि छर्किएका हुन् ।

यो अभियान महानगरले बिहीबार आफ्नै कार्यालयमा सुरु गरेको थियो । त्यसपछि औषधि छर्दै मुख्यमन्त्री र नगरप्रमुख सडकमा निस्किए । मुख्यमन्त्री गुरुङ औषधि छर्दै न्युरोड डुले । बाटोमा पर्ने अस्पताल, एटीएम मेसिन, पसलका सटरलगायत मानिसको निरन्तर सम्पर्क हुने स्थानमा उनले औषधि छरे । महानगरले बिहीबार नै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विभिन्न अस्पतालमा औषधि छर्कियो । कोभिड–१९ को त्रास रहँदासम्मै भीडभाड हुने, सेवाग्राही बढी आउने अस्पताल, सरकारी कार्यालयलगायत ठाउँमा जीवाणुनाशक औषधि छर्किने महानगर प्रमुख जीसीले बताए ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ रोकथाम तथा नियन्त्रण राष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा प्रदेशमा पनि योजना बनाइएको जानकारी दिए । उनले गण्डकी प्रदेशमा विदेशबाट हालै आएकाको तथ्यांक खोजी भइरहेको बताए । ‘जिल्ला प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उनीहरूको खोजी भइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अब विदेशबाट आउनेलाई सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पठाउँछौं ।’ उनले संक्रमण भेटिए पहिले आइसोलेसन र पछि डेडिकेटेड अस्पतालमा राख्ने जानकारी दिए ।

यसअघि प्रदेशले लेखनाथ लायन्स सामुदायिक अस्पताल, फूलबारीको आर्मी अस्पताल र बाटुलेचौरको मातृशिशु अस्पताललाई डेडिकेटेड आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । ती अस्पतालमा पूर्वाधार थप्न ३ करोड १३ लाख रुपैयाँ प्रदेशले विनियोजन गरेको छ । लकडाउन सुरु भएपछि कामदार अभावले अस्पताल तयार गर्न नसकिएको मुख्यमन्त्री गुरुङले बताए । उनका अनुसार तत्काललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताललाई नै डेडिकेटेड आइसोलेसन अस्पताल बनाउने प्रदेशले निर्णय गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण आकस्मिक कोषमा प्रदेश सरकारले १५ करोड रुपैयाँ छुट्याएको छ । प्रदेशका मन्त्रीले १–१ महिनाको तलब, सांसदले न्यूनतम १५ दिनको तलब कोषमा सहयोग गर्नेछन् । विभिन्न व्यक्ति तथा संघसंस्थालाई पनि सहयोग गर्न प्रदेशले आह्वान गरेको छ ।

कोभिड–१९ बाट कोही संक्रमित भइहाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आइतबारसम्म आइसक्ने मुख्यमन्त्री गुरुङले बताए । ‘पीपीई लिएर शनिबारसम्म कार्गो जहाज चीनबाट आउँछ र आइतबारबाट सबै प्रदेशको केन्द्रमा सैनिक हेलिकप्टरबाट सामग्री पुर्‍याउने संघीय सरकारको तयारी छ,’ उनले भने ।

पोखरामा कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला खोल्ने निर्णय संघीय सरकारले गरे पनि उपकरण आउन बाँकी छ । उपकरण आइसकेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राख्ने, त्यहाँ नभए क्षयरोग केन्द्रमा राख्ने प्रदेशको योजना छ । ‘इटाली र स्पेनको जस्तो स्थिति भयो भने हामीलाई जनशक्तिको अभाव हुन सक्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘चीन सरकारसँग जनशक्ति माग गर्‍यो भने त्यहाँबाट आउन सक्छन् । यो स्थानीय, प्रदेश सरकार सबै मिलेर गर्नुपर्छ ।’

महानगर प्रमुख जीसीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको अभियानमा सघाउन महानगरवासीलाई आग्रह गरेका छन् । महानगरमा पहिलो चरणमा १ सय लिटर जीवाणुनाशक औषधि ल्याई छर्न थालिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।‘आवश्यकताअनुसार खरिद गरी मुख्य–मुख्य स्थानमा औषधि छर्किन्छौं,’ उनले भने ।