जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १०:१३

कोरोना संक्रमणले निम्ताएको विश्व खाध्य संकट


तल्लो तप्काका व्यक्तिहरुलाई विशेष संरक्षण गरी बजारमा मुलप्रवाहीकरण गरी समावेशी समाज निर्माण गर्नु संरक्षणवादी उदारवादको आधारभूत सिध्दान्त हो त्यस्तै छुटेका समुदायलाई संलग्न गराई तलबाट नै समावेशी शासन निर्माण गर्नु उदार समाजवादको रणनीति हो। यसले सीमान्तकृत व्यक्तिको जीवनमा मूक्तिकामी परिवर्तन ल्याउनेछ र विश्वबाट भोक हटाउन स्थानीय खाध्य प्रणाली निर्माण गर्ने आधारस्तम्भ हुनेछ

डा. मानवहादुर बीके

आजकल कोविड १९ बाट हुने मृत्युको आंकडाले हरेक दिन सबैलाई तर्साईरहेको छ। कहिलेकाँही त यो दिनको ७ हजार भन्दा माथि पुग्ने गरेको छ। तर सारै कम व्यक्तिहरूलाई मात्र थाहा होला कि भोक आज पनि मृत्युको सबभन्दा ठूलो कारण हो। भोक र भोक सम्बन्धी रोगहरूका कारण प्रत्येक वर्ष एक करोड अर्थात प्रति दिन २५ हजार भन्दा बढी मानिस मर्ने गर्दछन। भारतमा मात्र प्रति वर्ष २५ लाख भन्दा बढी अर्थात प्रति दिन ७ हजार व्यक्तिहरु भोकका कारणले मर्ने गरेका छन् । हरेक दस सेकेन्डमा एउटा बच्चा भोकले मर्दछ। युनिसेफको प्रतिवेदन (२०१८) अनुसार करिब ३१ लाख बच्चाहरू कुपोषणका कारण मर्दछन्। त्यो संख्या ५ वर्ष मुनिका बच्चाहरूमा हुने मृत्युको झन्डै आधा हो। यसैले भोक अझै पनि विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्या हो भन्ने कुरालाई पुष्टि गर्दछ।

एफएओको प्रतिवेदन (२०१९) अनुसार विश्वभर ८२ करोड मानिसहरु भोकबाट पीडित छन्। सबैभन्दा बढी कुपोषित मानिसहरू एसियामा बस्दछन। खाध्य संकट संवन्धी अन्तराष्ट्रिय प्रतिवेदन (२०१९) अनुसार करिव ११ करोड ३० लाख भन्दा बढी मानिसहरु चरम भोकको अवश्थामा रहेका छन जसलाईतत्काल खानेकुरा र जीविकोपार्जनको सहयोग आवश्यक छ। डब्ल्यूएफपीको अनुमान (२०१६) अनुसार ६ करोड ६० लाख बालवालिकाहरु भोकै स्कूल जान्छन्। आज पनि संसारमा ४० प्रतिशत जनसंख्या पानी र सरसफाइको पहुँचमा छैनन। अब कोभिड १९ को महामारीले पक्कै पनि कुपोषित मानिसहरुको संख्या बढाउने छ। यस्तो प्रक्षेपण गरिएको छ कि विश्वव्यापी अर्थतन्त्रमा एक प्रतिशत विन्दुले मन्दी आउँदा गरीबको संख्या र खाध्यन्न असुरक्षित व्यक्तिको संख्या २ प्रतिशतले बढ्दछ। अर्थविद्हरूले यो महामारीका कारण विश्वव्यापी आर्थिक वृध्दिमा आधा कटौती हुनसक्ने अनुमान गरेका छन । जसअनुसार ३ प्रतिशतको पूर्वानुमान अब १.५ प्रतिशतमा सिमित हुनेछ। यो अनुसार करिव २ करोड १० लाख भन्दा बढी थप मानिसहरूलाई तत्काल खाध्य संकटमा धकेल्नेछ।

यो अनुमान आर्थिक मन्दीको अवस्थाका लागि गरिएको हो। तर अर्थतन्त्रको वर्तमान अवस्था बन्दको अवस्थामा छ। तसर्थ, यो अनुमान भन्दा बढी मानिसहरू खाध्य संकटमा पहिले नै धकेलि सकिएका हुन सक्दछन्। अक्सफामले हालै प्रकाशित गरेको प्रतिवेदनमा कोरोनाले विश्वभर ५० करोड गरिब थपिने प्रक्षेपण गरेको छ। डब्ल्यूएफपीको अनुमानअनुसार १२० देशहरुका ३ करोड २० लाख स्कुले वालवालिका विद्यालय बन्द भएका कारणले दीवा खाजाबाट बन्चित छन। अन्तराष्ट्रिय श्रम संगठनका अनुसार लगभग २ अरब ७० करोड कामदारहरू (विश्वको मानव संसाधनको पाँच मध्ये चार जना) पूर्ण वा आंशिक बन्दमा परेका छन। जागिर गुमाउनु भनेको खानाको जोहो गर्ने क्षमता पनि गुमाउनु हो। यसअनुसार अल्प विकसित मुलुकहरुमा भुकमरी सुरु भइसकेको छ । आपूर्ति श्रृंखला अवरोधले गर्दा खाध्यन्न आपूर्तिमा अवरोध हुने हुँदा यसले अनिकालको अवस्थालाई थप गम्भीर बनाएकोछ । यसै पनि विश्वव्यापी रूपमा मानव रोजगारी पहिले देखिनै संकुचित हुदै गएकोछ।

अन्तराष्ट्रिय श्रम संगठनको अनुमान अनुसार यस महामारीको कारणले विश्व बजारले २ करोड ५० लाख सम्म रोजगारी गुमाउनेछ। यसबाट बैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकहरूलाई गंभिर असर पर्नेछ । किनभने यसबाट विप्रेषण आयमा भारी गिरावट आउनेछ। विप्रेषण आयमा आश्रित घर परिवारले भोकको लागि सामना गर्ने क्षमता गुमाउने छन। यसले भोकमरीको जनसंख्याको दायरा झनै बढाउनेछ। कोविड १९ महामारीको असरले कमजोर समुह र कमजोर विश्व अर्थतन्त्रलाई कडा रुपमा हिर्काइरहेको छ। तथापि यसले विकसित मुलुकहरुलाई पनि छोडेको छैन । किनकि ती देशहरूमा संक्रमण झन बढी देखिएको छ। त्यसैले महामारीको पहिलो प्रभाव खाध्य सामग्रीको उपलब्धता र पहुँचमा विश्वव्यापी रुपमै परेको छ।

विशेष गरी कमजोर समुहहरू जस्तै महिला युवा तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सामाजिक सुरक्षा र बेरोजगारी बिमामा पहुँच नभएकाहरुको लागि झनै गम्भीर हुने देखिन्छ। दैनिक मजदुरी गर्ने, सुकुम्बासी, अपांग, शरणार्थी र प्रवासी मजदुरहरू जस्ता अति गरिबहरूलाई यसले झनै संकटग्रस्त बनाएकोछ। कतिपय ठाउमा त द्वन्द्व पनि चलिरहेकोछ। द्वन्द्वका कारण लाखौं मानिस पहिले देखि नै भोकमरीको चपेटामा छन्। चरम भोकको सामना गर्नेहरू मध्ये करिब ७४ करोड मानिसहरू द्वन्द्व वा असुरक्षाबाट प्रभावित छन्। यदि कोविड १९ को महामारी ती देशहरूमा फैलियो भने के हुन्छ होला ? संक्रमणका लक्षणहरू त देखिइसकेकोछ। यो महामारीले नयाँ द्वन्द्व र भुकमरी सृजना गर्ने संभावना पनि त्यतिकै छ।

मानव शरीरमा खानापान र जीवन शैलीले प्रतिरक्षा प्रणालीको प्राकृतिक रुपमै निर्माण गरेको हुन्छ। मानव जातिको विकास चरणमा उनीहरुले आफ्नो वरिपरि उपलव्ध खाने कुराको सेवनले उनीहरुमा सोहीअनुसारको प्रतिरक्षा प्रणाली विकास भएको हुन्छ। तर नवउदार आर्थिक नीतिले स्थानीय खाध्य प्रणालीलाई क्षति पुर्‍यायो र खाना सर्वव्यापी बनायो जसले गर्दा प्रतिरक्षा प्रणाली कमजोर भयो। परिणामस्वरूप, जुनसुकै रोग विश्वव्यापी भैहाल्ने संभावना रहेको छ। अहिलेको अनुभवले कम उदार अर्थतन्त्र भएका देशहरूमा त्यस्तो क्षमता हराइनसकेको देखाएको छ। रोब वालेसले आफ्नो पुस्तक ूबिग फार्म्स मेक बिग फ्लूू मा बहुराष्ट्रिय कंपनिहरूले नियन्त्रण गरेका कृषि उध्योगबाट इन्फ्लूएन्जा र अन्य रोगजन्य किटाणुहरू पनि उत्पादन हुने कुरा उल्लेख गरेका छन ।

त्यस्तै विज्ञान पत्रकार, लौरा स्पिनले कसरी ठूला कम्पनीहरूले साना किसानहरूलाई भाइरसको नजिक धकेल्छन् र तिनीहरू संक्रमित हुन्छन भन्ने कुरा वर्णन गरेका छन। सन १९९० को दशकदेखि आर्थिक रूपान्तरण गर्ने क्रममा चीनले आफ्नो खाध्य उत्पादन प्रणालीलाई औद्योगिक स्तरमा अगाडि बढायो। यसले गर्दा साना किसानहरु विस्थापित भए। जीविकोपार्जनको लागि नयाँ तरिका खोज्दै, तिनीहरूमध्ये केही जंगलको छेउमा गई “जंगली” प्रजातिको खेतीतिर लागे । त्यहा तीनिहरु चमेरा र अन्य भाइरस संग संक्रमित हुन पुगे र पछि त्यो फेलिदै गयो। यसले गर्दा पशुजन्य रोग (Zoonoses) को प्रकोप बढ्दै गयो । यसरी नवउदारवादले ठूला कम्पनीहरूको प्रवर्धन गरी मानव प्रतिरोधात्मक प्रणालीलाई कमजोर वनाउने र संक्रमण वढाउने वातावरण बनायो । वास्तवमा यो एक प्रकारको ‘नवउदार उत्पिडन’ हो। खाना केवल वस्तु मात्र होइन यो एक मानवीय क्षमता र अधिकारको आन्दोलन होस अर्थात् खाना र खाध्य सम्प्रभुताको अधिकार। त्यसकारण मानविय प्रतिरक्षा प्रणालीलाई पुनर्जिवित गर्ने, वातावरण संरक्षण गर्ने, सांस्कृतिक विविधतालाई सम्मान गर्ने र बहुलवादलाई पुरस्कृत गर्ने कुरालाई जोड दिई स्थानिय खाध्य प्रणालीको संरक्षण गर्ने गरी विश्वको अर्थव्यवस्थाको पुनर्संरचना गर्नु आवश्यक भएको छ।

खाध्य सुरक्षाले व्यक्ति,परिवार, समाज, राज्य र समग्रमा विश्वमा नै बहुआयामिक प्रभाव पार्दछ। यसको असर दीर्घकालिन हुन्छ। तसर्थ महामारी समाप्त भएपछि पनि यसले आर्थिक सुधारमा अवरोध सिर्जना गर्दछ। आर्थिक झट्काहरु चरम भोकका प्राथमिक चालक हुन्। तसर्थ, यो स्वास्थ्य संकट भन्दा अझ बढी मानविय संकट हो। राज्य र समाजले मानिसहरूलाई कोविड १९ को संक्रमण र भोकबाट उचित तरीकाले जोगाउने विषयमा दरिलो प्रतिबध्दता जनाउनु पर्दछ । मानिसहरूले चरम भोकको सामना गरिरहेका सबैभन्दा संकटग्रस्त क्षेत्रमा मानवीय सहयोग तात्कालै पुर्याउनु पर्दछ । कतिपय देशहरूले त्यस्ता कमजोर समूहहरूका लागि राहत प्याकेज घोषणा गरिसकेका पनि छन्। केहि प्रभावकारी उपायहरूमा सामुदायिक खाध्य बैंक, खाध्य सहायता, नगद वा खाध्य हस्तान्तरण, खाध्य कुपन, रासन कार्ड इत्यादि हुन सक्छन्। सबैभन्दा चुनौतीपूर्ण विषय अवरुध्द वितरण श्रृंखला र मूल्य अस्थिरताका कारण खानाको पहुँचमा आउने संकट हो। यसको लागि राज्यका नियामक तथा परिचालन संयन्त्रको सुदृढीकरण गरी सक्रियता बडाउनु जरुरी छ।

घरेलु आम्दानीको पुनर्उत्थानले विश्वव्यापी अर्थतन्त्रलाई फेरि सक्रिय व्यवस्थामा ल्याउनेछ। त्यसको लागि रोजगारीलाई सुचारु राख्न अन्तराष्ट्रिय श्रम संगठनले काम गर्ने ठाउँमा कामदारहरूलाई सुरक्षित राख्ने, अर्थव्यवस्था र रोजगारीलाई उत्प्रेरित गर्ने, साना तथा मझौला उध्यमहरूको लागि वित्तीय र कर राहतको व्यवस्था गर्ने उपायहरू अवलम्बन गर्न आव्हान गरेकोछ। परिवर्तित सन्दर्भमा जीविकोपार्जनको विविधीकरण गर्नु पनि जरुरी छ। त्यस्तै खाध्यन्नमा हुने नोक्सानी कम गर्न सके तीव्र भोकको सामना गरिरहेका मानिसहरूलाई खुवाउन सकिने अवस्था हुन्छ। खाध्य नोक्सानी खाध्य उत्पादन देखि उपभोग सम्मका विभिन्न चरणहरूमा देखा पर्दछ। प्राय जसो उत्पादन भएको करिव आधा खाध्यान्न कुनै न कुनै तरिकाले नोक्सान हुने कुरा विभिन्न लेखहरुमा उल्लेख गरिएको पाइन्छ।

यसले त करिव २ अर्व मानिस (विश्व भरि कुपोषित मानिसहरू भन्दा दुई गुणा बढी) लाई खुवाउन पुग्दछ। यसले घरेलु आम्दानी बढाउने छ, खाध्यान्न उपलब्धतामा सुधार ल्याउनेछ छ, खाध्यान्नको आयातलाई घटाउने छ र व्यापार सन्तुलनमा पनि सुधार ल्याउनेछ। यध्यपी यसका लागि वितरण श्रृंखला यथावत् पुनर्स्थापित गर्नु आवश्यक छ । अन्यथा, बन्दले खाध्यन्नको नोक्सानी झनै बढाउन सक्छ । किनकि किसानहरू बजारमा उत्पादन ल्याउन असमर्थ छन्। सामाजिक संजालहरू तथा नागरिक क्रियाक्लापहरु खाध्य सुरक्षाको महत्वपूर्ण सुरक्षा कवज हुन् जसले खाध्य सुरक्षाको लागि उत्थानशीलता निर्माण गर्दछ। त्यस्तै गरी सक्रिय संचार माध्यम खाध्यसंकटको लागि सबैभन्दा राम्रो पूर्व सुचना प्रणाली हुन सक्छन । यसलाई प्रवर्धन गर्नु जरुरी छ।

मुख्य चिन्ता भनेको नयाँ आयामको साथ अर्थव्यवस्था पुनर्जीवित गर्नु हो। नवउदारवादी अर्थव्यवस्थाको विश्वव्यापी उत्पादन, व्यापार, शासन र शक्ति संरचनाले भोकमरी हटाउन सकेन, बरु असमानतालाई झनै प्रबल बनायो। विश्व खाध्य सुरक्षा समितिले भोकमरी उन्मूलनका लागि देशले नेतृत्व गरेको प्रक्रियामा जोड दिएको छ। भोक विनाको संसारको लागि एक अन्तर्राष्ट्रिय प्रतिबद्धता जिरो हंगर च्यालेन्जले सन् २०२५ सम्म र दीगो विकास लक्ष्यले २०३० सम्ममा विश्वबाट भोकमरी अन्त्य गर्न आव्हान गरेकोछ। तर वर्तमान महामारीले तोकिएको समयमा यी लक्ष्यहरू प्राप्त गर्न गाह्रो बनाएकोछस न त नवउदार आर्थिक नीतिले यसलाई नितिगत रुपले सघाउछ। यसको लागि राज्यबाट स्थानीय खाध्य प्रणालीको विकास गर्ने गरी संरक्षणात्मक हस्तक्षेपको आवश्यकता छ। यसले खाध्य सुरक्षाका लागि समुदायको उत्थानशिलतालाई सुदृढ पार्छ र कार्बन उत्सर्जन पनि कम गर्दछ।

यद्यपि किसानहरुलाई खेतीयोग्य जमिन उपलव्ध हुने गरी भूमि सुधार र मूल्य श्रृंखलामा ध्यान केन्द्रित हुने गरी कृषि सुधार गर्न आवश्यक छ भने किसानहरुलाई पुँजीमा पहुँचको विशेष व्यवस्था हुनु जरुरी छ। यस्तो आर्थिक नीतिलाई संरक्षित उदारबाद वा राजनीतिक रूपमा उदार समाजवाद भनेर चिनिन्छ। तल्लो तप्काका व्यक्तिहरुलाई विशेष संरक्षण गरी बजारमा मुलप्रवाहीकरण गरी समावेशी समाज निर्माण गर्नु संरक्षणवादी उदारवादको आधारभूत सिध्दान्त हो त्यस्तै छुटेका समुदायलाई संलग्न गराई तलबाट नै समावेशी शासन निर्माण गर्नु उदार समाजवादको रणनीति हो। यसले सीमान्तकृत व्यक्तिको जीवनमा मूक्तिकामी परिवर्तन ल्याउनेछ र विश्वबाट भोक हटाउन स्थानीय खाध्य प्रणाली निर्माण गर्ने आधारस्तम्भ हुनेछ।

(लेखक नेपाल सरकारका सहसचिव तथा ‘Eradicating Hunger: Rebuilding Food Regime’ पुस्तकका लेखक हुनुहुन्छ)