जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १९:३६

महाधिवेशनसम्म नेकपा दुई अध्यक्षको सहमतिका आधारमा चल्नुपर्छ, बहुमत-अल्पमत चल्दैन : प्रभु साह


काठमाडौं, बैशाख २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष प्रभु साहले पार्टी एकता जोगाउन दुई अध्यक्षको सहमतिका आधारमा चल्नुपर्ने निश्कर्ष सुनाउँदै बहुमत र अल्पमतको अभ्यास अहिले हुनै नसक्ने बताउनु भएको छ । सचिवालय बैठकले सहमतिका आकारमा पार्टीलाई अघि बढाउने निर्णय गरिसकेको अवस्थामा शीर्ष नेताहरु नै गुट भेलामा लागेपछि साहले सामाजिक सञ्जाल फेसबुकमार्फत आज यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

स्थायी कमिटी बैठको पूर्वसन्ध्यामा नेता साहले अल्पमत र बहुमतको हिसाबले पार्टी सञ्चालन गरे पार्टी फुट्ने घोषणासमेत गर्नुभएको छ । पार्टीका स्थायी कमिटी सदस्यहरूको ध्यानाकर्षण गर्दै नेता साहले संक्रमणकालीन अवस्थामा रहेकोले अन्तरिम विधानबमोजिम सहमतिमै पार्टी सञ्चालन गर्नुपर्ने स्पष्ट पार्नुभएको हो । ‘नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपाको संगठन सञ्चालनको विधि पद्दतिबारे गम्भीर जिज्ञासा र प्रश्न उठ्ने गरेको छ । अहिले पार्टी संक्रमणकालमा रहेकाले यस्तो अवस्थामा संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन, त्यसका लागि विशिष्ट चरित्र अनुरुपको विधि र पद्दति अवलम्बन गर्नैपर्छ,’ साहले भन्नुभएको छ ।

साहले अहिले विवादको चुरो यहीँनिर रहेको भन्दै नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकाले तत्काल पार्टी सञ्चालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै मान्नुपर्ने बताउनु भयो । ‘पार्टीभित्रकै केही नेताहरुले मूल नेतृत्वलाई प्रभावमा पारेर आन्तरिक विवाद निवारणका लागि गलत ढंगले पार्टीको विभिन्न कमिटी लगायत संसदीय दलमा समेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन उत्प्रेरित गरिरहेको छ, जो आम जनभावना तथा पार्टी एकताको मूल मर्म र भावना विपरीत हो,’ नेता साहको भनाई छ ।

यस्तो छ साहको अडान

नेकपा एमाले र नेकपा (माओवादी) मिलेर बनेको नेकपाको संगठन संचानलको विधि पद्धतिबारे गम्भीर जिज्ञासा र प्रश्न उठ्ने गरेको छ । फरकफरक विचार र विरासत बोकेको दुई पार्टी बीच भएको एकता अहिले एकीकृत विचार, संगठन र नेतृत्व निर्माणको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । संक्रमणकालीन अवस्था भनेको आफैमा संवेदनशील एवम् विशिष्ट अवस्था हो । यस्तो अवस्थामा संगठन संचालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन । त्यसको लागि विशिष्ट चरित्र अनुरुपको विधीर पद्धति अवलम्बन गर्नैपर्छ । अहिले विवादको चुरो यहीनिर छ, एकथरीले नेकपा एउटा पार्टी भईसकेकोले विगतदेखि अभ्यास गर्दै आएको अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर छ भने अर्को, नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकोले तत्काल पार्टी संचालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै सही र वस्तुवादी भन्ने पक्षधर छ ।

यसर्थ पार्टीले अहिले अन्तरिम विधानको परिकल्पना र अपानिलाई आत्मसात गर्दै आपसी सद्भाव, समझदारी एवं सहमतिबाट अगाडि बढनु नै उचित हो । पार्टी भित्रकै केहि पुरातन यथास्थितिवादी नेताहरुले मुल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागी गलत ढंगले पार्टीको विभिन्न कमटी लगायत संसदीय दलमा समेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन उत्प्रेरित गरीरहेकोछ , जो आम जनभावना तथा पार्टी एकताको मुल मर्म र भावना विपरीत हो । यसमा अब बस्न लागेको पार्टी स्थाई कमिटीका सम्पूर्ण कामरेडहरूको विशेष ध्यान जाओस ।