जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार ००:४२

के हो पार्टी र सरकारको मुख्य कार्यभार र प्राथमिकता ?


पार्टी भनेको प्रधानमन्त्री, मन्त्री भन्दा बाहिर हुन्न । नीतिगत रुपमा पार्टीले सरकार चलाउने हो । यसमा बहश जरुरी छ । यो पार्टी चार-चार जना प्रधानमन्त्री भइसकेका नेताहरु संगठित भएको पार्टी हो । आ-आफ्नो कार्यकालको समिक्षा गरेर कत्ति कुरा पार्टीको औपचारिक निर्णय गरेर सरकार चलाउनु भएको थियो ? माइन्यूट एकपटक पल्टाएर हेरे भइहाल्छ

राजेन्द्र गौतम

बहुचर्चित बनेको र बनाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एजेण्डाबारे टुंगो नलागेपछि एकाएक स्थगित भयो । बैशाख २० गतेको सचिवालय बैठको निर्णयअनुसार पार्टीको आन्तरिक जीवनलाई सुदृढ र एकतावद्ध गर्ने, सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, पार्टीको उपाध्यक्ष कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने लगायतका निर्णयको आलोकमा स्थायी कमिटी बैठकमा पेश गर्ने एउटा ठोश र मुर्त प्रस्ताव बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएकोमा २४ गते बसेको बैठकमा सो प्रस्ताव प्राप्त हुन सकेन । स्थायी कमिटीको बैठकलाई प्रस्तावहरु तयार भएनन । त्यस्का लागि पुनः गृहकार्यको आवश्यकता देखियो । र स्थायी समिति बैठक स्थगित भएको छ । तर मुलुक र पार्टीको सामू केही तात्कालिक तर ऐतिहासिक महत्वका कार्यभारहरु हाम्रा सामू रहेका छन ।

कोरोना भाइरसबिरुद्धको संघर्ष

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम, उपचार र नियन्त्रण गर्न सरकार र सिंगो देश एकजुट भएर लडिरहेको अवस्था छ । यो हाम्रो मुख्य चुनौती हो । यस्को रोकथाम, उपचारात्मक ब्यवस्था, पुनर्वास र पुनर्मिलनमा जोड दिनुपर्ने अवस्था बिद्यमान छ ।

नीति कार्यक्रम र बजेटको सन्दर्भ

कोरोना भाइरसको कहरबीच संघीय संसदको अधिवेशन आह्वान भएको छ । त्यसलाई सुरक्षित ब्यवस्थापन र सञ्ञ्चालन गर्नुपर्ने अवस्था छ । यसै अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटको सन्दर्भ छ । त्यसलाई कसरी जनमुखी, उत्पादनमुखी, कोरोना भाइरस नियन्त्रणमुखी बनाउने ? राजश्व ठप्पको अवस्था छ, यस्मा स्रोतहरुको पहिचान र ब्यवस्थापन कसरी गर्र्ने भन्ने चुनौती छ । यसलाई छलेर भाग्न मिल्दैन। त्यस्का निम्ति २८ गतेदेखि पूर्वबजेट छलफल, जेठ २ गते सरकारको नीति तथा कार्यक्रम र १५ गते सरकारले बजेट ल्याउँदैछ ।

पार्टी संगठनको ब्यवस्थापन र परिचालन

एकतापछि पार्टीको प्रभाव, परिचय र बिस्तार जुन रुपमा फैलिएको छ, त्यो रुपमा यस्को संगठनात्मक स्वरुप छियाछिया छ । कमिटी छन, बैठक बस्दैन, योजना बन्दैनन, कार्यान्वयन हुँदेनन । पार्टीमा बनेको बिधि, बिधान, संहितालागू हुँदैनन, कमिटीको ब्यवस्था सुदृढ हन सकेका छैनन । कमिटीहरु भनेको नेताहरु संगठित भएको ठाउँहरुहुन । तिनीहरु कार्यार्थ हुन, केवल बोधार्थ वा मानार्थ मात्र होइनन । हरेक तहमा कमिटीहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बनिधत समस्याहरु सामुहिक रुपले जवाफदेहीयुक्त ढंगले निर्णय लिनु र नेतृत्व दिनुपर्ने हुन्छ । कमिटीहरु कार्यकारी र क्षमतावान हुनुपर्दछ । त्यसकारण ठोश कार्ययोजनाका साथ कमिटीहरु चल्नुपर्छ । त्यो काम कस्ले गर्छ ? त्यस्को अनुगमन, निरीक्षण र परिचालन खोइ ?

सवै ध्यान सत्ता, स्वार्थ र गणितमा ?

यतिबेला सवै नेता कार्यकर्ताहरुको ध्यान सत्ता, स्वार्थमा केन्द्रित छ, अंकगणित पुर्याएर सत्ताच्यूत गर्ने, भित्र एउटा, बाहिर अर्काे खेल । गुट उपगुटका बैठक जारी छन । पद ब्यक्ति केन्द्रित बिषयहरु उठान्छन, सैद्धान्तिक लेवल लगाइन्छ रभनिन्छ, यो कुरा मानिन्न, त्यो कुरा मानिन्न । मलाइ हुन्न भने केही पनि मानिन्न । पद्धती र कमिटी ब्यवस्थालाई मिचेर मत र मान्यताहरु बाहिर लैजाने, बिचार र राजनीति मुख्य कुरा हुन भनेर संगठनात्मक सिद्धान्तलाई बेवास्ता गर्ने, बिचारधारात्मक पकेटहरु दवाव समुह र दवाव दिने, तिनीहरुलाई प्रयोग गर्ने जस्ता गलत प्रबृकिो प्रयोग भइराखेको छ । काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने झै भएको छ । सरकार कोरोनाबिरुद्धको लडाईंमा छ । नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ, राहात कसरी दिने ? रोजगारी कसरी सिर्जना गर्ने ? घटदो राजश्वको बिकल्प कसरी कसरी खोज्ने भन्नेमा सरकारको चासो छ । अर्काेतिर सरकारबिरोधी मोर्चा संगठित गर्नेमा नै छ । कहिले झम्सिखेलमा त कहिले धुम्बाराहीमा छलफल जारी छ । नेतृत्व मुकदर्शक छ ।

बेमौसमका एजेण्डा र निरर्थक बहश

यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीब शक्ति संघर्षको पटाक्षेप भएको छ । सकुनीहरुको तालमा कुसुलेको पुतलीको नाच जस्तो देखिन्छ । एक थान मानिसको भीड प्रधानमन्त्रीको राजीनामा माग गर्ने आरोपपत्र तयार गर्दैछन, एक ब्यक्ति एक पद । कर्णप्रिय सुनिने यो नारा उचालिएको छ । आलोचना/आत्मआलोचनाको प्रसंग पार्टीले सरकार कि सरकारले पार्टी ? अध्यादेश प्रकरण, हस्ताक्षर अभियान, बिधि र पद्धतीको पालना, पार्टीभित्रको आन्तरिक द्धन्द्धको सही ब्यवस्थापन आदि मुद्दामा केन्द्रित भएर कहिले २४ से, कहिले २० से,कहिले १६ भैयाको राडो रुवाइ चलेको नै छ । कँही नभएको जात्रा हाँडिगाउँमा भने झै जनता भन्दैछन, कम्युनिष्टलाई घ्यूँ नपचेको अवस्था देखियो । जस्का बारेमासंक्षिप्त चर्चा गरौं । आखिर के हुन त निरर्थक बहशका मुद्दाहरु :

सुन्नमा यो यो नारा साह्रै कर्णप्रिय छ । अन्तर्यमा भागबण्डा, बहुकेन्द्रको स्थापना गर्ने कुटिल चालबाट यो नारा यतिबेला उचालिएको छ । सहमतिका आधारमा एउटा पार्टीमा दुई अध्यक्षको ब्यवस्था गर्दा त यो हालत छ, पार्टीमा । पार्टीब्यापी रुपमा त्रीपक्षीय भिडन्तको अवस्था सिर्जना गर्ने, दुई मिल्ने र तेस्रोलाई एक्ल्याउने नीतिमा स्वयं पार्टीका नेताहरु लागेको अवस्था छ

एक ब्यक्ति एक पद : सुन्नमा यो यो नारा साह्रै कर्णप्रिय छ । अन्तर्यमा भागबण्डा, बहुकेन्द्रको स्थापना गर्ने कुटिल चालबाट यो नारा यतिबेला उचालिएको छ । सहमतिका आधारमा एउटा पार्टीमा दुई अध्यक्षको ब्यवस्था गर्दा त यो हालत छ, पार्टीमा । पार्टीब्यापी रुपमा त्रीपक्षीय भिडन्तको अवस्था सिर्जना गर्ने, दुई मिल्ने र तेस्रोलाई एक्ल्याउने नीतिमा स्वयं पार्टीका नेताहरु लागेको अवस्था छ । पार्टी एकतासँगै भएको सहमतिअनुसार चल्ने, महाधिवेशन भन्दा अगाडिसम्म त्यसलाई पार्टी जीवनमा कडाईका साथ पालना गर्ने, पार्टीमा बिधान, नियम र संहितालाई हरेक सदस्य (नेतादेखि कार्यकर्तासम्म) प्रत्येक कमिटीको न्यूनतम योग्यता, क्षमता र न्यूनतम क्रियाशिलताको मुल्यांकण गर्ने मापदण्ड बनाएर लागू गर्ने, बिधान, नियम र संहिताहरु भनेका न्यूनतम कुराहरु हुन र पार्टीमा स्वेच्छाद्वारा सामुहिक रुपमा गरिएका संझौताहरु हुन । तिनीहरुको उलंघन कसैका निम्ति पनि क्षम्य हुनुहुन्न । त्यो आलोच्य र खण्डनीय हुनुपर्छ । आज एउटा संझौता, फेरि त्यस्को उलंघन, फेरि अर्काे बार्ता ? अनि कसरी सरकारले/पार्टीले काम गर्न सक्दछ ? त्यसकारण एक ब्यक्ति एक पद भागबण्डाका लागि अगाडि सारिएको एजेण्डा हो । यस्ले पार्टीमा बहु शक्तिकेन्द्रको निर्माण गर्ने र अर्काे भाँडभैलो सुरुवात हुन्छ । त्यसबाट नेतृत्व चनाखो बन्नुपर्छ ।

प्रधानमन्त्रीको राजीनामाको प्रसंग : बिभिन्न प्रतिकुल परिस्थितिका बीचमा पनि २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट बाम गठबन्धनका पक्षमा झण्डै दुईतिहाई बहुमतसहितको स्पष्ट जनादेश प्राप्त गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भयो । सुरुवातमा झमेलाले गर्दा एक महिना सरकारले पुर्णता पायो । सरकार गठन गर्दा मुलुककको राजनीतिक र आर्थिक अवस्था निकै अस्तब्यस्त थियो । संघीयता कार्यान्वयनको आधार तयार गर्ने, मुलुकको बाह्य सम्बनध एकदमै असन्तुलित थियो । संघीयता कार्यान्वयनका निम्ति आवश्यक कर्मचारी बिन्याश, स्रोत ब्यवस्थापन, भौतिक पूर्वाधार र कानूनी आधारहरु सवै सून्यप्रायः अवस्था थिए । यसबाट उठेर सरकारको नेतृत्वले बृहत्तर राजनीतिक सहमति निर्माण, मुलुकको बाह्य सम्बनधमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित ब्यवस्थापन, तीन तहका सरकारको सञ्चालन, कानून निर्माण र संबिधान कार्यान्वयन गर्यो ।

बर्तमान सरकारको नेकपाको स्थायी कमिटीको तेस्रो बैठक (२९ मंसिरदेखि १३ पुस २०७५) ले हासिल गरेका उपलब्धीहरु समिक्षा प्रस्तुत गरेकोछ। त्यसको अतिरिक्त केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठक (पुस २०७६) ले सरकारको कामहरुको समिक्षा गर्दै उक्त समिक्षा प्रतिवेदन केन्द्रीय कमिटीले सर्वसम्मत पारित गरेको तथ्य जगजाहर छ । सात वटा बुँदामा गरिएको समिक्षा केन्द्रीय कमिटीको संस्थागत निर्णय हो र त्यो सकारात्मक छ । अनि यहाँ एकाएक प्रधानमन्त्रीको राजीनामा कस्को इसारामा मागिदैछ ? यो बहुलठीपुर्ण, पूर्वाग्रहपुर्ण, आग्रहसहित सत्ता स्वार्थद्वारा प्रेरित छ भनेर कसैले पनि निश्कर्ष निकाल्न सक्दछ ।

आरोपपत्र तयार पार्ने हौवा : स्थायी कमिटीको निर्णय,निश्कर्ष र केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय र निश्कर्षका बिरुद्ध प्रधानमन्त्रीलाई हटाउन आरोपपत्र तयार गर्ने ब्यक्तिहरुको कथित जिम्मेवारीको पटाक्षेप भएको नै छ । आफ्नो आङको जुम्रा नदेख्नेहरुको झुण्डले ऐतिहासिक रुपमा सम्पन्न दोस्रो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत सरकारको समिक्षा सम्बन्धी प्रतिवेदन बाचन गर्न बान्छनीय नै हुनेछ ।

आलोचना आत्मालोचनाको प्रसंङ्ग : एउटा क्रान्तिकारी पार्टी, माक्र्सवादी लेनिनवादी पार्टीको निश्चित कार्यपद्धती र कार्यशैलीका समस्याहरु हुन्छन, नहुने होइनन । हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो, हामीले तयार गरेका सिद्धान्त, कार्यक्रम, नीति र नाराहरु केवल गहना होइनन, हाम्रा कार्यसूत्रहरु हुन । जननेता मदन भण्डारीले भनेझै अवसरवादीहरुको जस्तो माक्र्सवाद लेनिनवाद र जनवादी क्रान्तिका कुण्डल हालेर, बुर्जुवा बर्गको पुच्छर पच्छ्याउँदै हिडने होइन । बिद्यमान बर्ग संघर्षको अवस्थाबाट जनतालाई अगाडि बढाउने हो । पार्टीलाई सुदृढ, एकतावद्ध, प्रतिस्पर्धी र बलियो बनाउने पार्टीको बर्तमान कार्यपद्धतीको एउटा महत्वपुर्ण तत्व हो । त्यसैगरी हाम्रो पार्टी कार्यपद्धतीको अर्को महत्वपुर्ण तत्व कमिटीहरुलाई आफ्नो कार्यक्षेत्रको बास्तविक नेताका रुपमा स्थापित गर्नु हो । सामुहिक नेतृत्व र ब्यक्तिगत जिम्मेवारीको तरिका कार्यपद्धती र कार्यशैलीभित्र खासगरी कमिटीको कार्यप्रणालीभित्र पर्ने एउटा अत्यन्त महत्वपुर्ण तत्व हो । कम्युनिष्ट पार्टीले आफ्नो ब्यवहारिक जीवनमा आलोचना आत्मालोचनाको महत्वको उच्च मुल्यांकण गरेको छ । आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन, कामलाई योग्यतापुर्वक सम्पादन गर्नका लागि आफ्नै बिगतबाट सिक्ने महत्वपुर्ण अवसर प्रदान गर्छ । जनतासँगको सम्बन्धलाई गाढा बनाउँदछ । पार्टीभित्रको एकतालाई हार्दिक र खँदिलो,बलिया बनाउँदछ ।

कमिटीहरु र हरेक पार्टी सदस्यले यो शैलीमा अभ्यस्त र प्रशिक्षित गर्दै जानुपर्छ भनेर सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यो शैलीलाई नियमित गरौं, पार्टी र सरकार सञ्चालन गर्दा हाम्रा कँही कतै गल्ती, कमजोरी भए त्यसको समिक्षा र आत्मालोचनाा गरौं, सवैले गरौं । म प्रमुख नेता र सरकारको पनि प्रमुख भएकोले पहिले आत्मालोचना गर्छु । तपाईं सचिवालय सदस्यहरुले पनि आत्मालोचित भएर अगाडि बढौं र पार्टीलाई आन्तरिक रुपमा सुदृढ, बलियो बनाउँ भन्दा त्यसलाई फेरि उचालियो, प्रधानमन्त्रीले आत्मालोचना गरे, हामीले जित्यौं । यो के भनेको ? र के गर्न खोजेको हो ?

कम्युनिष्ट पार्टील आत्मालोचना गर्ने आफ्नाकामको समिक्षा गर्ने शैलीलाई नियमित गर्नुपर्छ । आफ्ना गल्तीहरु खोज्ने, तिनीहरुलाई नंग्याउने र त्यसको निम्ति आत्मालोचना गर्ने कुरामा उदाहरण पेश गर्नुपर्छ । कमिटीहरु र हरेक पार्टी सदस्यले यो शैलीमा अभ्यस्त र प्रशिक्षित गर्दै जानुपर्छ भनेर सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यो शैलीलाई नियमित गरौं, पार्टी र सरकार सञ्चालन गर्दा हाम्रा कँही कतै गल्ती, कमजोरी भए त्यसको समिक्षा र आत्मालोचनाा गरौं, सवैले गरौं । म प्रमुख नेता र सरकारको पनि प्रमुख भएकोले पहिले आत्मालोचना गर्छु । तपाईं सचिवालय सदस्यहरुले पनि आत्मालोचित भएर अगाडि बढौं र पार्टीलाई आन्तरिक रुपमा सुदृढ, बलियो बनाउँ भन्दा त्यसलाई फेरि उचालियो, प्रधानमन्त्रीले आत्मालोचना गरे, हामीले जित्यौं । यो के भनेको ? र के गर्न खोजेको हो ? यस्को समिक्षा जरुरी छ । यसरी पनि अर्थात आलोचना/आत्मालोचनाको तरिकाबाट पनि पार्टीलाई आन्तरिक रुपमा सदृढ र एकतावद्ध बनाउन सकिन्छ ।

जहाँसम्म पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने ? भन्ने अफवाह फैलाइएको छ । यस्को अर्थ यो सरकारको प्रधानमन्त्री पार्टी अध्यक्ष नै हुनुहुन्छ । पार्टी भनेको प्रधानमन्त्री, मन्त्री भन्दा बाहिर हुन्न । नीतिगत रुपमा पार्टीले सरकार चलाउने हो । यसमा बहश जरुरी छ । यो पार्टी चार-चार जना प्रधानमन्त्री भइसकेका नेताहरु संगठित भएको पार्टी हो । आ-आफ्नो कार्यकालको समिक्षा गरेर कत्ति कुरा पार्टीको औपचारिक निर्णय गरेर सरकार चलाउनु भएको थियो ? माइन्यूट एकपटक पल्टाएर हेरे भइहाल्छ । हरेक कामको जवाफदेही बोक्ने गरी कामहरु सम्पादन गर्ने गर्नुपर्छ। चाहे पार्टी होस या सरकार । जवाफदेही र जिम्मेवारीबोधका साथ तोकिएको काम गरौं, यसैमा हामी सवैको भलो छ । संसद अधिवेशन जारी छ, कोरोना भाइरस रोकथाम, उपचार नियन्त्रण गर्ने, सरकारको नीति तथा कार्यक्रम पास गर्ने, बजेट पारित गर्ने अनि आवश्यकता अनुसार पार्टी कमिटीको बैठक, समिक्षा र भावी योजना निर्माण गर्दै अगाडि बढने हो । आजको मुख्य कार्यभार र प्राथमिकता यही हो, यही नै हुनुपर्छ ।