जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार ०७:०६

पवन चाम्लिङको साम्राज्य ढल्दा सिक्किममा दोहोरियो पुरानै कथा


गान्तोक सिक्किम) जेठ ११

भारतको बिधानसभा निर्वाचनसँगै सुन्दर हिमाली राज्य सिक्किममा पवन चाम्लिङको २५ वर्षे साम्राज्य ढलेको छ । १७ औं विधानसभा निर्वाचनमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले नराम्रोसँग पराजयको सामना गर्नुपरेको हो । सिक्किम विधानसभाका ३२ सिटमध्ये चाम्लिङकै पूर्वसहयोगी प्रेमसिंह तामाङ (पीएस गोले) नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ सिटमा जित हासिल गरेको छ । दुई क्षेत्रबाट बिजयी बन्दा पनि चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) केवल १५ सिटमा खुम्चिएर आफ्नो २५ बर्षे साम्राज्य गुमाउन बाध्य बनेको छ । सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

पवन चाम्लिङ तात्कालिन सिक्किम संग्राम परिषद (एसडिएफ) का नेता नरबहादुर भण्डारीको बिश्वासपात्र थिए । भण्डारी नेतृत्वको सरकारमा निकै राम्रो अवसर पाएका चाम्लिङले आफ्नै नेतालाई धोका दिएर सिक्किम डेमोक्र्याटिक फन्ट (एसडिएफ) गठन गरे । लामो समय सिक्किममा साशन गरेका भण्डारीको पार्टीलाई चाम्लिङ नेतृत्वको पार्टीले पराजय गर्यो । भण्डारीको ठाउँमा आइपुगे चाम्लिङ । सन १९९४ देखि लगातार एकछत्र राज गर्दै आएका चाम्लिङको साम्राज्य यसपटक ढलेको छ । त्यो साम्राज्य ढाल्ने अरु कोही नभएर चाम्लिङ नेतृत्वकै सरकारमा सहभागी रहेका नेता पीएस गोले हुन ।

चाम्लिङको अति दम्भ पलाएपछि गोलेले छुट्टै पार्टी गठन गरेका थिए । पार्टी गठनपछि उनीमाथि निकै पुरानो मुद्दा ब्युँताएर भ्रष्टाचार मुद्दा लगाइयो । चाम्लिङकै डिजाइनमा भएको त्यो मुद्दामा गोले दोषी ठहर भई जेल सजाय भुक्तान गरेर फर्किएपछि चाम्लिङको २५ बर्षे लामो साम्राज्य ढालिदिएका हुन । नरबहादुर भण्डारीलाई धोका दिएर सत्तामा आएका चाम्लिङलाई उनकै कार्यकर्ता गोलेले यसपटक पुरानो सवक सिकाइ दिएका छन । सत्तामा पुगेपछि मिलेर बसेका सिक्किमेलीबीच आफ्नो सत्ता लम्ब्याउन चाम्लिङले अघि बढाएको जातीय राजनीति नै अहिले उनको हारको प्रमुख कारण बनेको छ । १९९४ सम्म सिक्किमका जनताबीच कहिल्यै जात र धर्मले काम गरेन ।

सवैले दसैं मनाए, दिपावली मनाए । ल्होछारदेखि हरेक समुदायको चाडपर्वमा रमाए । जव चाम्लिङ सत्तामा आए, केही बर्षमै दसैं त क्षेत्री बाहुनको हो भन्दै जनजातीलाई नमान्न उर्दी जारी गरे । चाम्लिङको त्यो कदम आफ्नो राजनीतिलाई सदा सर्वदा जिवित राख्न थियो । उनको यही कुकर्मपछि सिक्किममा थुप्रै जातीले खुलेर दसैं मनाएन । यसपटक त्यही कार्ड उनको बिरुद्धमा गयो । अर्थात तामाङ समुदाय गोलेको पक्षमा खुलेर उभियो, क्षेत्री, बाहुन र नेवार समुदाय पनि चाम्लिङको बिरुद्धमै लाग्यो । परिणाम ढल्यो चाम्लिङको साम्राज्य ।

सिक्किमको एकमात्र लोकसभामा पनि चाम्लिङ पराजित भए । सो सिटमा सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ । अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ २५ बर्षदेखिको चाम्लिङको साम्राज्यलाई चकनाचुर पारेर ।

को हुन पिएस गोले ?

गोले पवन चाम्लिङको पार्टी एसडीएफमा रहँदा पश्चिमी सिक्किमको चुखुंग निर्वाचन क्षेत्रबाट सन् १९९४ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । एसडीएफमा रहँदा उनले राज्य युवा संयोजक र उपाध्यक्षको रुपमा काम गरेका थिए । त्यसपछि उनले लगातार तीन पटकसम्म सिक्किम सरकारमा मन्त्रीस्तरीय भूमिकामा रहेर काम गरे । १९९४ देखि १९९९ सम्म र १९९९ देखि सन् २००४ सम्म पशुपालन तथा उद्योगमन्त्रीको रुपमा उनले काम गरेका थिए । त्यसपछि सन् २००४ देखि सन् २००९ सम्म भवन तथा आवास विभाग मन्त्रीको रुपमा काम गरे । सन् २००९ मा बर्टुक संविधानसभा चुनाव जितेपछि उनी उद्योग विभागको अध्यक्षको रुपमा नियुक्त भए । तर, उनले सन् २०१३ को सेप्टेम्बरमा चाम्लिङ नेतृत्वको एसडीएफ पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरे ।

त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) नामको नयाँ पार्टी खोले । सन् २०१४ को विधानसभा चुनावमा उनको पार्टीले १० सिट जित्यो । उनी आफैं बर्टुक निर्वाचन क्षेत्रबाटै सांसद निर्वा्चित भएका थिए । उनको पार्टीले सिक्किममा कूल भोटको ४२ प्रतिशत भोट पायो । गोलेलाई सन् २०१६ मा भ्रष्टाचारको मुद्दा लाग्यो । सन् १९९४ देखि १९९९ को बीचमा एसडीएफ पार्टीमा रहँदा उनीमाथि सरकारी सम्पत्ती दुरुपयोग गरेको अभियोग थियो ।

सन् २०१७ मा उनी अदालतबाट दोषि ठहरिए । त्यसपछि सिक्किम विधानसभा सदस्यका लागि उनलाई अयोग्य घोषित गरियो । गोले जेलबाट रिहा भएपछि १० अगष्ट सन् २०१८ मा सिक्किममा भव्य जनसभा आयोजना भयो । जसलाई सिक्किममा सबैभन्दा धेरै मानिस जम्मा भएको राजनीतिक कार्यक्रम मानिन्छ ।