जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १९:४७

कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै बागमती प्रदेश सरकार : मन्त्री आफैले काटे आफैले रोपेको धान


चितवन, कात्तिक ५ । चितवनको माडी नगरपालिकास्थित कान्तिपुरमा सामूहिक चक्लाबन्दी खेतीमा लगाइएको धान कम्बाइन हार्वेस्टरबाट काट्न सुरु गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले यन्त्रीकरणको प्रयोगमार्फत आफैले रोपेको धान आफै काट्नुभएको हो । १७ औं राष्ट्रिय धान दिवसका दिन असार १५ गते उहाँले यन्त्रीकीकरणको प्रयोगमार्फत धान रोप्नुभएको थियो ।

चक्लाबन्दी खेतीमा आफैले रोपेको धान आफै काट्न पाउँदा मन्त्री लामा उत्साहित देखिनुहुन्थ्यो । सो अवसरमा बोल्दै उहाँले माडीका सिमान्तकृत समुदायको जीवनस्तर उकास्न सामूहिक खेतीको अबधारणा अघि सारिएको बताउनु भयो । कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको उहाँको भनाई छ । मन्त्री लामाले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताउनु भयो ।

‘माडीको चक्लाबन्दी खेती सबैलाई उदाहरण दिने खालको बनाउनु छ, त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुहोस,’ मन्त्री लामाले भन्नुभयो । उहाँले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साह थपिने धारणा राख्नुभयो । माडी उर्वर भूमि रहेको भन्दै उहाँले अन्न भण्डारको रुपमा विकास गर्दै लैजाने प्रदेश सरकारको नीति पनि सुनाउनु भयो । यस्तै बागमति प्रदेश सभा सदस्य रामलाल महतोले पहिले र अहिलेको माडीमा धेरै परिवर्तन आएको बताउनुभयो । माडीमा भएको कामले उत्साह जगाएको भन्दै चक्लाबन्दी खेती नमूना बन्ने उहाँको भनाई थियो । आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारले दुई स्थानमा सामूहिक खेती सुरु गरेको जानकारी पनि उहाँले दिनुभयो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीको चक्लाबन्दी खेती बागमती प्रदेशको गौरबको योजना भएको बताउनुभयो । पछाडि परेको क्षेत्रलाई माथि उकास्न मन्त्री आफैले निरन्तर पहल गरिरहेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले लागत घटाउन यान्त्रीकिकरणको प्रयोग गर्दै सामुहिक खेतीमा प्रवेश गरेको जानकारी दिनुभयो ।सामुहिक खेतीमा माडी नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

बागमती प्रदेश सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती सुरु गरेको हो । ९६ जना कृषकको सय विगाहा जमिनमा चक्लाबन्दी गरिएको छ । प्रारम्भिक चरणमा ५० विगाहामा चक्लाबन्दी भइसकेको छ । यसबर्ष १५ विगाहा क्षेत्रफलमा धान रोपिएको सहकारीका प्रवन्धक शिवजी गायकले जानकारी दिनुभयो । सो स्थान १२ विगाहामा माछा पोखरी निर्माण गरिएको छ भने पाडापालनका लागि गोठ निर्माण गरिएको छ । सोही स्थानमा गन्धर्व समुदायको सांस्कृतिक संग्रालय र सामुहिक गन्दर्व बस्ती निर्माण गरिएको छ ।

माडीको चक्लाबन्दी खेती सबैलाई उदाहरण दिने खालको बनाउनु छ, त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुहोस

वागमती प्रदेश सरकारले चितवनको माडीसहित चार जिल्लामा चक्लाबन्दी खेती सुरु गरेको छ । चितवन र सिन्धुलीबाट सुरु गरिएको सामूहिक खेती नुवाकोट र सिन्धुपाल्चोकमा पनि विस्तार गरिएको छ । गतबर्ष मात्रै सो क्षेत्रमा प्रदेश सरकारले १ करोड र माडी नगरपालिकाले १० लाख रुपैंया सहयोग गरेका छन । मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घट्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयो । उहाँले सामुहिक खेती सफल बनाउन ज्ञान केन्द्रले निरन्तर प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो । कान्तिपुरको सामूहिक खेतीमा ४० प्रकारका यन्त्र उपकरण सहयोग गरेको उहाँले बताउनु भयो । सो स्थानमा मेसिनरी सेड र भण्डारण स्थलसमेत बनाइएको छ ।

कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्धर्व समुदायको बसोबास छ । करिब ४० हजार जनसंख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो । चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाटपीडित माडीवासीले दीर्घकालीन रूपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।