जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार ०८:२७

समाजवादमा जात र धर्मको स्थान


उहिले हामी गाउँथ्यौँ– साह्रै नै टाढा छ हामी पुग्ने ठाउँ ।’ अहिले सम्झँदा लाग्छ– हामीले सोचेको ठिकै रहेछ । हामी उतिबेला समाजवाद, साम्यवादको कुरो गर्दैनथ्यौँ । ती धेरै टाढाका थिए । हामी बढीमा प्रजातान्त्रिक पार्टीहरूका बीचमा खुला प्रतिस्पर्धा हुने बहुदलीय जनवादको कुरो गथ्र्यौं । चौथो महाधिवेशनमा माओत्सेतुङ विचारधारालाई छोड्दासम्म पनि हाम्रो चेत यति थियो । जनताको बहुदलीय जनवाद (जवज) को आरम्भ पाँचौँ महाधिवेशनमा भएको हो । पाँचौँमा यो नवीन विचारका रूपमा थियो । छैटौँ महाधिवेशनमा यो ‘पार्टीको मार्गदर्शक सिद्धान्त’ भयो । सातौँ महाधिवेशनमा यो नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त भयो । यसरी क्रमागत ढङ्गले यसको विकास भएको छ । कुनै पनि नयाँ विचार सिद्धान्तमा पुग्ने बाटो भनेको यसरी नै हो 

प्रदीप नेपाल

समाजवाद भनेर जति भाषण गरे पनि नेपालमा समाजवाद आउनु भनेको निकै परको कुरा हो । हाम्रो जडबुद्धिले हामीलाई पाइला–पाइलामा पछार्छ । समाजवाद भनेको त्यस्तो प्रणाली हो, जहाँ मान्छेले काम गरेर खानुपर्छ । काम गर्न सक्ने सबैले काम गर्ने हो । काम गर्न नसक्नेले सामाजिक सुरक्षा भत्ता लिने हो । राज्यले अशक्त, असहाय मानिसको मात्र जिम्मा लिन्छ ।

नेपाल एउटा त्यस्तो देश जहाँ बलियो, बाङ्गो मानिस पनि सित्तैमा पाइन्छ भनेपछि लल्याकलुलुक भइहाल्छ । यो हाम्रो प्रत्यक्ष अनुभव हो । हामीले ७५ जनाको जिम्मेवारी पाएका थियौँ । तर, १५ दिनमै एक सय ५० पुगेपछि हामीले त्यो काम छोडिदियौँ । कतिपयले भने पनि, ‘स्कुलले नै सित्तैमा खान दिने भनेपछि एकछाक भए पनि घरको जोगिन्छ ।’ यो नेपाली चेतना हो । जब कि पुँजीपति वर्गको शासन भएको नर्वेमा अरूका लागि भने एकछाक अतिरिक्त किनेर छोडिदिने चलन रहेछ ।

युरोपेली देशमा जात छैन । बाहुन र दर्जी एउटै टेबुलमा हाँस्तै–हाँस्तै बसेर खान्छन । को बाहुन ?, को दर्जी ?, उनीहरूलाई चासो नै छैन । तर, नेपालमा छुतहरूमा पनि जात छ– पानी चल्ने र नचल्ने । चुलो चल्ने र नचल्ने । उत्पीडितहरूमा पनि भेदभाव छ । सायद विश्वकर्माहरू सबैभन्दा माथि हुन्छन र दर्जी सबैभन्दा तल हुन्छ क्या र ! यत्रो डरलाग्दो भेद छ– समाजमा । तर, यतातिर कसैको ध्यान गएको छैन । ५५ वर्ष भयो जातपात नमान्ने कानुन बनेको । खै के गर्यो कानुनले ? त्यसैले मान्छेको मन परिवर्तन नभएसम्म जातभातको अन्त्य हुने सम्भावना छैन । पहिले मानिसलाई ‘जाति र पाति बनाउने रीतलाई म मान्दै मान्दिनँ’ भन्ने गीत सिकाउनु पर्यो । त्यसको व्यवहारमा लगाउनुपर्यो । तर, हाम्रो पुस्तामा यो काम त हुँदैहुँदैन ।

दोस्रो खराब कर्म हो– धर्म । केही दिनपहिले मैले पढेको थिएँ– कुन धर्म विज्ञानको नजिक छ ? संसारका कुनै पनि धर्म वैज्ञानिक छैनन । बुद्ध धर्म विज्ञानको नजिक छ । तर, नेपालमा यो धर्म मान्ने जनसंख्या १० वा ११ प्रतिशत होला । हिन्दुहरू आफूलाई ८१ प्रतिशत मान्छन । हिन्दु ‘जिन’ सङ्ग्रामी हुन्छ, पेलाहा पनि हुन्छ । थोरै हुँदा त यो धेरैमाथि शासन गर्छ भने ८१ भनेको त पाँच भागको एक भाग पो हो । खैर, यो ८१ मा ३० प्रतिशत खस होलान । तर पनि ५० प्रतिशत त हुँदै भए । तपाईं खसको कुनै धर्म हुँदैन भनेर सम्झाउन सक्नुहोला । स्वधर्म (भनेको प्रकृति पुजकहरू) मान्नेहरू पनि समाजवाद आउने भयो भनेर पूजासुजा गर्न छाडिदेलान । तर, ४५ प्रतिशत नै भए पनि हिन्दुहरूलाई सम्झाउने काम त्यति सजिलो छैन ।

तपाईंको दैलादैलामा भगवान र भगवती छन । काठमाडौँमा मात्रै तीन सय ६६ देवीदेवता होलान । काठमाडौँ, सङ्घीय राजधानी । काठमाडौँ, सबै काम कुराको केन्द्र । काठमाडौँ, नामीगिरामी बौद्धिकहरूको खाल्डो । समाजवाद ल्याउनु भनेको यिनै मानिसलाई समाजवादी चेतनामा पुर्याउनु हो । सक्छ हाम्रो पुस्ताले यति काम गर्न ? सक्दैन । हाम्रा नेताहरू कुरोको चुरो नबुझी भाषण गर्छन । समानताका लागि डा. बाबुराम भट्टराईले आफूलाई कामी लेख्नुस भन्नुभयो रे । नेपालमा धर्म परिवर्तन गर्न सकिन्छ तर जात फेर्न सकिँदैन । कामीको छोरी बिहे गर्नुभएको हुन्थ्यो भने नलेखे पनि कामी हुन पाउनुहुन्थ्यो । बिहे गर्नुभयो यमीकी छोरीसित, अनि कामी हुने कुरै सकिइहाल्यो नि ! नेपालको परम्परामा जुन जातकी छोरीसँग बाहुनको बिहे हुन्छ, बाहुनको जात पनि त्यही तहमा जान्छ ।

श्रम हो सबैलाई तह लगाउने । कुनै पनि श्रमिकको जात हुँदैन । कामले गलाएको शरीरलाई जुन जातले पानी दिए पनि त्यो आँत भर्न सँगै काम गर्ने साथीले दिएको पानी नै हुन्छ । उहिले हामी गाउँथ्यौँ– साह्रै नै टाढा छ हामी पुग्ने ठाउँ ।’ अहिले सम्झँदा लाग्छ– हामीले सोचेको ठिकै रहेछ । हामी उतिबेला समाजवाद, साम्यवादको कुरो गर्दैनथ्यौँ । ती धेरै टाढाका थिए । हामी बढीमा प्रजातान्त्रिक पार्टीहरूका बीचमा खुला प्रतिस्पर्धा हुने बहुदलीय जनवादको कुरो गथ्र्यौं । चौथो महाधिवेशनमा माओत्सेतुङ विचारधारालाई छोड्दासम्म पनि हाम्रो चेत यति थियो । जनताको बहुदलीय जनवाद (जवज) को आरम्भ पाँचौँ महाधिवेशनमा भएको हो । पाँचौँमा यो नवीन विचारका रूपमा थियो । छैटौँ महाधिवेशनमा यो ‘पार्टीको मार्गदर्शक सिद्धान्त’ भयो । सातौँ महाधिवेशनमा यो नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त भयो । यसरी क्रमागत ढङ्गले यसको विकास भएको छ । कुनै पनि नयाँ विचार सिद्धान्तमा पुग्ने बाटो भनेको यसरी नै हो ।

कसरी, कताबाट आइपुग्यो सङ्घीयता । जनताको चेतना सङ्घीयतामा पुगेको छैन, यो महँगो प्रणाली पनि हो । जनताको जागरुकता सङ्घीयताको छेउमा पुगेको छैन भनेर पार्टीभित्र खुब लडियो र पराजित भएपछि चुप लागेर बसियो । बाहिर जनमतको कदर गर्नुपर्छ, पार्टीभित्र बहुमतको । त्यसैले अब साथीहरूले ल्याउलान सङ्घीयताको संविधान भनेर कुरेर बसेको, त्यो पनि बेलामा आएन । एक्कासि साथीहरू ‘सिंहदरबारलाई जनताको घरदैलामा ल्याइयो’ भन्दै चुरीफुरी देखाउन थाल्नुभयो । ‘यस्तो भने त अब ‘कू’ पनि नहुने भो’ भनेर मन पनि हाँस्यो । ‘कू’ भन्ने शब्द मैले ०२८ मा सुनेको हुँ । ०५९ सालमा त भोगेर आएको हुँ । तर, जनताको घरदैलामा ल्याइयो भनिएको संविधान दलाल पुँजीपतिको घरको दैलामा गएर फस्यो । आफूले चिनेको जनताको दैलामा त पुगेको रहेनछ । र, अब त्यो जनताको घरदैलामा पुग्दा पनि पुग्दैन ।

सिंहदरबारलाई जनताको घरदैलामा पुर्याउनु भनेको, जनताको घरदैलोमा चलिरहेको सरकारमा पुर्याउनु भनेको हो । त्यो सरकार भनेको पालिका सरकार हो । स्थानीय सरकार भनेका पालिका सरकार नै हुन । स्टाफ कलेज किन बनाएको ? स्थानीय तह प्रशिक्षण प्रतिष्ठान किन बनाएको हो ? यस्तै प्रशिक्षणका लागि होइन ? भाषण गर्न सजिलो छ तर काम गर्न अलिक गाह्रो नै हुन्छ । पहिले घर–घरमा सिंहदरबार भनेको यो हो भनेर प्रशिक्षण मात्रै दिएको भए नेताहरूको इज्जत बढ्ने थियो । तर, उनीहरूको मुख एउटा व्यवहार ठिक्क उल्टो भएपछि मान्छेले आरोप लगाउने ठाउँ पाएका छन् ।

काम बिगारेपछि टोकसो गर्न सजिलो हुन्छ । मेयर र प्रदेश प्रमुखहरूले करोड–करोडका गाडी किने भनेर उनीहरूको हुर्मत लिने काम भयो । स्थानीय निकायमा भ्रष्टाचार बढी भयो भन्ने पनि सुनियो । तपाईं एउटा ओभरसियरबाट कति अपेक्षा गर्नुहुन्छ ? ओभरसियर पठाउन नसक्ने केन्द्रीय सरकारले पहिले आफूलाई गाली गर्ने हो कि पालिका प्रमुखलाई ! जे भए पनि राजनीतिमा छलाङको कुनै अर्थ छैन । छलाङ मार्ने सबै पछि फर्किएर ठाउँमा आउनै छ । विकास जसरी प्राकृतिक हुन्छ, क्रान्ति पनि त्यसरी नै प्राकृतिक हुन्छ । यो सत्य हामीले सोभियत सङ्घको विघटनबाट सिक्नुपर्छ ।

चीनको दश वर्षे साँस्कृतिक क्रान्तिबाट सिक्नु पर्छ । जनताको प्रतिरोध गर्न नसकेर विघटित भएका पूर्वी युरोपका मुलुकहरूबाट सिक्नुपर्छ । र सिक्नुपर्छ, क्युबाबाट जहाँका जनताले ६३ वर्षको अमेरिकी कालापानी सजायँसँग जुधेर आफूलाई जीवित राखे । अन्यायपूर्ण अमेरिकी घेरा खेपेर पनि त्यसले शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गर्यो । भारतले हामीलाई त्यही क्युबा बनाइदिएको छ । लौ आउनुस्, हामी पनि कम्मर कसौँ । अहिले हामीले कसैको विरोध गर्नु छैन । खाद्यान्नमा आत्मनिर्भरता नै हाम्रो आजको प्रमुख काम हो । छोड्दिनोस जातपातको लफडा । जुन धर्मको भए पनि सबैको रगत रातै हुन्छ ।