जनता टाइम्स

२१ कार्तिक २०७७, शुक्रबार ०८:४४

के नेकपा फुट्नु अपरिहार्य छ ?


अहिले पार्टीमा ऐँजेरुहरु बाक्लै पालाएको र कालीपोके नराम्ररी मौलाएको देखिन्छ । अब भन्नुहोस पाठक मित्रहरु, नेकपाका नेता, कार्यकर्ताहरु र आम जनताहरु कालीपोके र ऐँजेरु हटाउनु पर्यो कि परेन ? हातको औँलामा क्यान्सर लाग्यो, औँलो काट्नु पर्यो कि परेन ? बल्लबल्ल विकास निर्माण गर्न उद्यत तथा क्रियाशील स्थिर सरकार बनेका बेला देशलाई अस्थिरताको दलदलमा पार्न खोज्नेहरुलाई सम्झाउँदा सम्झाउँदा पनि पार नलागेपछि कृष्णले अन्तिममा शिशुपाललाई सुदर्शन चक्र देखाउनु परेको थियो । तर यो चक्र अझै पनि सुधारात्मक र आंशिक अपरेशन गर्नुपर्ने खालको हुनुपर्छ

 

प्रा.डा.बद्रीविशाल पोखरेल

मदन भण्डारी फाउण्डेशनको विरोध जनताको बहुदलीय जनवादको विरोध हो । अनि जबजको विरोध जननेता मदन भण्डारीको विरोध हो । किनभने मदन भण्डारी अमुक भण्डारी सामान्य व्यक्ति मात्र होइन । यो व्यक्तित्व माक्र्सवादी सिद्धान्तको नवीन आलोक हो । जबजका आधारमा राजनैतिक र राजकीय उपल्लो तहको कहिल्यै नसोचेको प्राप्ति र प्रतिफल पाएर तथा पचाएर पनि परोक्ष रुपमा तिनले जबजकै विरुद्ध षडयन्त्रपूर्ण गतिविधि गरिरहेको देखिन्छ । त्यसैले मदन भण्डारीको एकल सघन तथा दूरदर्शी वैचारिक चिन्तनको प्रतिफल जबज हो भन्न बाध्य हुनुपर्ने अवस्था स्पष्ट हुन थालेको छ । पहिले नै जननेता मदन भण्डारीको विरोध थामिनसक्नु हुने भएकाले किस्ता किस्तामा जबज सिध्याउने दाउ रहेको स्पष्ट हुन्छ ।

विशाल वृक्षलाई एक्कैचोटी ढाल्न खोज्दा ढाल्नेहरु आफूहरुसहित किचिएर समाप्त हुने डर हुन्छ । त्यसैले रुखमा मलजल गरेजस्तो पनि गर्ने तर रुखका हाँगाबिँगाहरु काट्तै क्रमशः धिमा गतिमा जबजको जरो उखेल्ने अभियानमा अवसरवादी र उग्रवादी प्रवृत्ति सुविचारित र सुनियोजित रुपमा लागि परेको स्पष्ट हुन्छ । जबजको मियोका रुपमा केपी शर्मा ओली हुनुहुन्छ । र उहाँले सरकार प्रमुख भएर जबज अनुसार देश, जनता र जनजीविकाका सवालमा तुलनात्मक रुपमा विशिष्ट र महत्वपूर्ण कामहरु गर्नुभएको छ । यसरी सैद्धान्तिक र सरकारी दुवै हिसावले काम गर्दा अरु उपल्ला तहका कतिपय नेताहरु आजै ओलीका लिलिपुट भएको हीनता ग्रन्थी ग्रसित देखिन्छन । तर तिनकै भोलिको भाग्य र भविष्यका लागि ओली फाउ जिन्दगी क्रियाशील रहेको देखिरहेका छैनन । तिनले त सिकिस्त विरामी ओलीलाई पनि सरापी रहे । तिनीहरु सरकार बनेदेखि नै प्रायोजित रुपमा सरकार विरुद्धमा प्रतिबद्ध रहेका थिए र छन् । यसको प्रायोजन कसले कति लागतमा गरेको छ । समय क्रममा अवश्य थाहा हुन्छ ।

अनेक बहानामा जबजका मियोलाई हल्लाएर हिलाको किलो बनाउने कुनियत तिनले राखेको स्पष्ट हुन्छ । लटरम्म फल लागेको वृक्षलाई नै भातमारा सबैले झटारो हान्छन् । यसरी भण्डारीका व्यक्तित्वको सारतत्वलाई समूल नष्ट गरेपछि मात्र जननेता मदन भण्डारी अमुक भण्डारी थरिमा मात्र रहने अवस्थाको दिवास्वस्न असरवादीहरुले देखेको हुनसक्छ । यस्ता मान्छे भविष्य होइन, भात मात्र हेर्छन् । क.पुष्पलालको सही नीति बेलैमा नबुझेर, लामो समय भौँतारिएर र आखिरमा उनैको पथमा लतारिएपछि अहिले बुढेसकालमा पुष्पलाललाई व्यर्थैमा गद्दार भनेर किताबै छापिएछ भनेर रोइलो गरेर के हुन्छ ? जबज विरोधीहरुको यस्तै चाला हो भने पोहोर मरिन सासू अहिले आए आँशु भनेझैँ गर्ने दिन अब पनि धेरै टाढा छैन । भोलि नै तिनलाई जबजद्वारा निरुपित आर्थिक र राजनैतिक अधिकारसहितको बहुदलीय प्रतिस्पर्धात्मक समाजवादमा नाक रगडेर जानु अपरिहार्य हुनेछ ।

मदन र जबजका आलोकमा यहाँसम्मको उचाइमा आएको नेकपा जबजकै प्रकाशमा मात्र जनतान्त्रिक समाजवादको प्राप्ति र समृद्धिमा जानसक्छ । जबजले यस सम्बन्धी सुदूरदृष्टि लिएको छ । यस विषयका गहन अध्येता डा.बेदुराम भुसाल नै सैद्धान्तिक अवसरवादको चक्रवातमा पर्ने खतरा देखिन्छ । प्रभावशाली नेता प्रदीप नेपालसमेत जबजप्रति नेपाल थरि वरिष्ठ नेताको ओठेभक्तिमा विश्वस्त भएको देख्दा यस लेखकलाई उदेक लागेको छ । जबजविरुद्ध कसरी आफू र आफ्नो शक्ति समूह र गुटलाई परिचालित गरेका छन भन्ने कुरा प्रदीप नेपालले आफ्नै दाइ वरिष्ठ नेता नेपालको राज र रहस्य बुझेको देखिएन । अवसरवादीहरु इतिहासमा निक्कै बाठा देखिएका छन् । पार्टी विधि, पद्धति र प्रणालीको कुरा पनि गर्छन तर त्यही निहुँमा कृतिम बहुमत पुर्याएर संस्थापक महासचिवलाई अनेक बहानामा पछारेका छन । त्यसैले अहिले नेकपामा स्थायी समिति र सचिवालयको बैठकमा विशेष जोड दिनुको अर्थ विगतमा बारबार प्रयत्न गर्दा पनि संसदीय दलमा ओली विरोधी बहुमत सदस्य अपुग भएपछि पार्टी कमिटीमा बहुमत पुर्याएर भए पनि ओलीलाई दुवै पद त्याग्न नैतिक दवाव दिएर दुनियाँ हँसाउनु मात्र देखिन्छ ।

यस लेखकको चिन्ता चाहिँ ओली सरकार ढल्नु र नढल्नुसित मात्र सम्वन्धित छैन । नेपाल एकीकरणका मूल अभियन्ता पृथ्वीनारायण शाहका पालादेखि बारबार नेपाललाई छिन्नभिन्न पार्ने दुष्प्रयत्न अहिले झन जारी रहेको देखेको हुँदा देशको स्थिरताका लागि मात्र तारन्तार भ्रमविरुद्ध यस लेखकले लेखिरहेको हो । अहिले सरकारबाट एउटा पदक पाएकाले यो लेखक केही अबूझहरुको आलोचनाको केन्द्र भागमा परेको छ । तर अगुवाहरु कहिल्यै हरेस खाँदैनन् । अँध्यारोसित घामले कहिल्यै सम्झौता गर्दैन । अहिले जबजविरुद्ध प्रायोजन गरिएका भीडहरु समय क्रममा छिचिमिराझैँ हराउने निश्चित छ । समय लाग्छ तर भ्रम र फरेवविरुद्ध मौन बस्दा तिनको चर्तिकला बढेको मात्र हो । हजारौँ युवा विद्यार्थीको नेतृत्वदायी तहमा रहेका व्यक्तिहरु रमेश पौडेल, नविना लामा र ऐन महरहरुका अगाडि सडकमा उफ्रिएका वर्दीधारी साइवर सेनाहरु पानीका फोका सरह हुन्छन् र हुनेछन् ।त्यसैगरी पार्टीभित्रका बिनावर्दीका साइबर सेनाहरु नै पनि जबज रक्षकहरुका अगाडि कायल हुने दिन आउने निश्चित देखिन्छ ।

हाम्रो समाजमा अहिले पनि भातका लागि मात्र बाँच्ने मानिस छैनन, तिनले भविष्य पनि हेर्छन । यस्ता बुद्धिजीवीहरु थोरै भए पनि नेपालमा मौन वा वाचाल रुपमा छन् । तर नेपालमा बोक्रा बुद्धिजीवी धेरै छन् कि जस्तो लाग्छ । संसारमै नेपाल जस्तो अत्यन्त भूराजनैतिक संवेदनशील मुलुक अर्को छैन होला । अहिलेको पार्टी र सरकारको यो अवस्थालाई देखिनसहने बाहिरी र भित्री शक्तिसमूह क्रियाशील रहेका छन तर मेची काली अभियानमार्फत् पार्टी पङ्ती र आम जनतालाई सरकार र पार्टीका कामहरु सुसूचित गर्ने हो भने तमाम भ्रमहरु समाप्त हुनेछन् । अहिले कार्यकारी अध्यक्ष प्रचण्ड नै पनि पार्टीलाई सबल र सुदृढ बनाउने काममा नलाग्नुको रहस्य यस लेखकलाई अवगत भएको छ । आफ्ना र अरुका सबै कमजोरी ओलीमाथि थुपारेर निर्दोष हुने र देखिने प्रचण्डको कलुषित नियत पनि यस लेखकलाई थाहा छ ।

त्यसैले यो लेखक बोक्रा बुद्धिजीवी मात्र नभएर होइन । गुदी, चुरो र सारतत्व हेरेर र बुझेर निश्वार्थ रुपमा लेख्ने प्रयत्न गरिरहेको छ । किनभने बिसालु झारपात हुर्किरहेको हेरेर बस्न मन लागेन । अझ अहिले त लहलहाउँदो बाली नै सखाव पार्ने बिसालु किराहरु घरभित्र र बाहिर राइँदाइँ गरेको देखिँदैछ । यी कीराहरु सुसंगठित रुपमा लागिपरेका छन् र परिचालित छन् । फेक र पेड मिडियाहरुको निर्लज्ज परेड पनि देखिँदैछ । तर एउटै चन्द्रमाले अन्धकार मास्छ । टिमटिमे ताराहरु भोलि जुनकिरीमा परिणत हुनेछन । विगतमा पनि यस्तो भएको छ । त्यसैले सबै नेताहरुले सुनून । भोलि पनि माननीय, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति तपाईंहरु नै हुने हो । हामी त कारमा होइन, कलम र किताब गर्व गर्ने मान्छे हौँ । हामी पद भन्दा प्रतिष्ठालाई महत्व दिन्छौँ, भात भन्दा भविष्य हेछौँ । गल्ती नै गरे पनि, भए पनि अझै सुध्रिने मौका नेतालाई छ । नेता आदरणीय भए पनि तपाईहरुको बेहोरा आत्मघाती देखियो ।

आफैँभित्र सशक्त वीज छ भने ढुङ्गाको कापमा पनि पीपल उम्रिन्छ मात्र होइन, हुर्कन्छ पनि । यसले जबर्जस्त चट्टानी पहाड पनि पल्टाउँछ । प्रभावशाली नेताले कठिन भन्दा कठिन प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गर्नसक्छ । यही कुरालाई आधार मानेर माओले प्रतिभाशाली नेताहरुका अभावमा समाज दृढताका साथ संघर्ष गरेर विजय प्राप्त गर्न सक्तैन भनेका हुन् । माओले नै भनेअनुसार तिमीसित जे छ त्यही शक्ति हो भनेझैँ देश, जनता र जनजीवीकाका लागि गरेका कामहरु ओली सरकार पार्टीको अहिलेको शक्ति र सामथ्र्य हो । यो कुरा केही स्थायी समिति र केन्द्रीय सदस्यहरु भन्न चाहिरहेको स्थिति देखिन्न, मात्र लवीगत दुराग्रहका कारण सरकार र सरकार प्रमुखलाई बदनाम गर्न गराउन एकमुखले कुतर्क गर्दैछन । तर तिनले भोलि जनताका सामु त्यसरी नै भन्ने आँट गर्ने छैनन । यदि भने भनेँ तिनलाई जनता र कार्यकर्ताले नै ठेगान लगाउने अवस्था देखिन्छ । त्यसैले अहिले पार्टीमा ऐँजेरुहरु बाक्लै पालाएको र कालीपोके नराम्ररी मौलाएको देखिन्छ ।

अब भन्नुहोस पाठक मित्रहरु, नेकपाका नेता, कार्यकर्ताहरु र आम जनताहरु कालीपोके र ऐँजेरु हटाउनु पर्यो कि परेन ? हातको औँलामा क्यान्सर लाग्यो, औँलो काट्नु पर्यो कि परेन ? बल्लबल्ल विकास निर्माण गर्न उद्यत तथा क्रियाशील स्थिर सरकार बनेका बेला देशलाई अस्थिरताको दलदलमा पार्न खोज्नेहरुलाई सम्झाउँदा सम्झाउँदा पनि पार नलागेपछि कृष्णले अन्तिममा शिशुपाललाई सुदर्शन चक्र देखाउनु परेको थियो । तर यो चक्र अझै पनि सुधारात्मक र आंशिक अपरेशन गर्नुपर्ने खालको हुनुपर्छ । हाम्रा घरगाउँमा पनि भन्ने गरिन्छ, अझै एउटा फुल फुटेर के हुन्छ र तर सबै मिलेर एकमुखले विकृतिमाथि बोलेर, लेखेर राम्ररी सम्झाउने हो भने र आवश्यक परे धावा बोल्ने हो भने ठेगान लगाउन सकिन्छ ।

सय थुकी नदीले नै यस्ता प्रवृत्तिलाई निस्तेज गर्न सकिन्छ तर यसका लागि कुनै पनि खाले आश, त्रास र बतासमा पर्नुहुन्न । अब के गर्नुहुन्छ देश र जनता सम्झेर बोल्न सक्नु हुन्छ ? चुरो हुन प्रयत्न गर्नुहुन्छ कि बोक्रा ? र पलाँस र पात मात्र भएर जिन्दगी बिउनु हुन्छ ? आठ लाख सदस्य रहेको पार्टीलाई यो कुरा भनिँदैछ । पार्टीका निर्माता जनता र पार्टीका आम सदस्य हुन् भने पार्टी बिगार्ने प्रायः माथिल्ला तहका नेता हुन । विचार र सिद्धान्त यस्तो बल हो, जसले सबै खालको बारबन्देज र अवरोधलाई तोड्ने सामथ्र्य राख्छ ।