जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार ०६:५५

प्रचण्ड कमरेड ! बिधि र पद्धती भनेको ‘नाम सुनिने तर मान्छे नदेखिने’ कमिटीको निर्माण हो ?


हामीले जानेकै छौँ क्रियाशीलताबिनाको परिणाम पनि शून्य नै हुन्छ ।अर्कोतिर पूर्वमाओवादीलाई आफूले पाएको ४० प्रतिशत भागमा मान्छे भर्न हम्मेहम्मे छ । त्यसैले त एउटै मान्छेले तीन–चार ओटा कमिटी ओगट्न बाध्य छन । पूर्वमाओवादीबाट प्रस्तावित नामहरूका कारण धेरैजसो स्थानीय तहका कमिटीहरू नाम सुनिने तर मान्छे नदेखिनेहरूले भरिभराउ छन । हामीले हिजोको माओवादीलाई राम्रै देखे–भोगेका छौं 

बिबेक देबकोटा

सत्ता स्वार्थले निम्त्याएको नेकपाको झगडा वारपारको धारमा उभिएका बेला नेकपालाई अर्ती उपदेश दिनेहरू धेरै तिरबाट निस्किए तर झगडाको डढेलोलाई निभाउने सामथ्र्य भने कसैको देखिएन । यो बेला कार्यकर्ताहरूको भुमिका पनि बिशेष हुन्छ । खासमा कार्यकर्ताहरू कै स्विकार्यताले मात्र कुनै पनि पार्टीहरू एकताबद्ध हुनसक्छन् । तर एमाले–माओवादी एकताबाट निर्मित नेकपाप्रति कार्यकर्ताहरूको स्विकार्यता भन्दा पनि मौनता बढी हो भन्ने प्रष्ट छ । किनकि कार्यकर्ताहरूको स्विकार्यतामा बनेको नयाँ पार्टीको जग यति छिट्टै सानो हुरीले नहल्लिनु पर्ने हो । यसका पछाडि धेरै कारणहरू छन ।

जब २०७५ जेठ ३ गते बिनातयारी एमाले–माओवादी एकताको घोषणा गरियो, त्यतिबेलै आम कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र सांगठानिक पद्धतिको छिनोफानो खोजेका थिए । उबेला नेताहरूको नाटकीय हार्दिकताका सामु कार्यकर्ताहरू मौन बसे, लाग्यो नेताहरूले ऐतिहासिक एकता गर्न खोज्दैछन । तर आज एकताको दुई बर्ष बित्दा नबित्दै पार्टीभित्र क्षुद्र, अस्वस्थ आरोप–प्रत्यारोपको श्रृंखला सुरूभएको छ । यिनै कथा, पटकथाहरूका आधारमा भन्न सकिन्छ, यदि दीर्घजिवी नेकपा चाहाने हो भने धरातलीय हैसियत अनुसार एमाले–माओवादीको पुनःएकता जरुरी भएको छ ।

सबैलाई थाहा छ, पूर्वएमाले एउटा आस लाग्दो, भर लाग्दो र प्रतिद्वन्द्वीलाई डर लाग्दो हराभरा पार्टी थियो । पार्टी त्यति आकर्षक हुनुका पछि सजिलै आँकलन गर्न सकिन्छ, जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक पद्धति नै एमालेका गहना हुन । पहाड जस्ता समस्याहरूलाई आवधिक सम्मेलन, अधिवेशन, महाधिवेशनहरूले मैदान बनाईदिने परिणाम नै लोकतान्त्रिक अभ्यासको अनुपम उपहार हो भन्ने कुरा आम नेपालीले राम्रै बुझेका छन । विश्व राजनितीबाट कम्युनिस्टहरू असफल भएर हराई रहँदा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) भित्र जनता संगठित हुँदै जानु जनताको बहुदलीय जनवादकै श्रेय हो । चुस्त दुरुस्त रूपमा क्रियाशील रहेका जनसंगठनहरू एमालेका दरिला खम्बाहरू थिए । जसका जराहरूले नेपालका सबै भुगोल, समुदायलाई अंगालो हालेर सम्पूर्ण नेपालीलाई एमालेको विचार, सिद्धान्त र संगठनमा आवद्ध गर्न मद्दत गर्थे । एमाले आफैंमा लोभलाग्दो पार्टी थियो । हामीले धेरै पटक कांग्रेसलगायत अन्य पार्टीका नेता–कार्यकर्ताहरूको मुखबाट एमालेको संगठन, सिद्धान्त र कार्यकर्ताको प्रसंशासहित व्याख्या गरेको सुनेका छौं ।

पूर्वएमालेमा लाखौं कार्यकर्ताहरू जो समाजमा स्थापित भएर जनताको प्रिय बनेकाहरूको लर्को थियो । तिनै कार्यकर्ताहरूकै बलले पार्टी सधैं सतिसाल झैँ उभिन पाएको थियो । मैले पूर्वबनिसकेको पार्टी एमालेको थोरै स्मरण गर्नाको कारण यतिमात्र हो कि । के अहिले नेकपाभित्र ती कार्यकर्ताहरूको व्यवस्थापन र उचित संरक्षण भैरहेको छ ? के पूर्वएमालेको विशाल संगठन नेकपाको ५५/६० प्रतिशत भागमा अट्न सक्छ ? के जनताको बहुदलीय जनबादको औचित्य सकिएकै हो ? यिनै प्रश्नहरूको उचित जवाफ नपाएसम्म माथि नेताहरूको जोड घटाउले एकता टिकाईराखे पनि कार्यकर्ता स्तरमा गतिविधि शून्य हुन्छ । हामीले जानेकै छौँ क्रियाशीलताबिनाको परिणाम पनि शून्य नै हुन्छ ।अर्कोतिर पूर्वमाओवादीलाई आफूले पाएको ४० प्रतिशत भागमा मान्छे भर्न हम्मेहम्मे छ । त्यसैले त एउटै मान्छेले तीन–चार ओटा कमिटी ओगट्न बाध्य छन । पूर्वमाओवादीबाट प्रस्तावित नामहरूका कारण धेरैजसो स्थानीय तहका कमिटीहरू नाम सुनिने तर मान्छे नदेखिनेहरूले भरिभराउ छन । हामीले हिजोको माओवादीलाई राम्रै देखे–भोगेका छौं । समाजमा उनीहरूको विश्वसनीयता गुमिसकेको थियो । उनीहरूलाई एक हिसाबले पलायन भएका भन्दा पनि फरक पर्दैनथ्यो । कोही–कोही देखिएकाहरू पनि निष्क्रिय अवस्थामा थिए ।

पूर्वमाओवादी पार्टी उल्टो पिरामिडको संज्ञाले आजित भैसकेको थियो । भएका सबै कार्यकर्ताहरूलाई हजारौंको पार्टी केन्द्रीय कमिटीमा आवद्ध गरेर माओवादीले भुँई खाली गरेको यथार्थलाई लुकाउने हजारौं प्रयाश गरेपनि संभव छैन । बैचारिक हिसाबले पूर्वमाओवादी भुत्ते हुन थालेपछि कार्यकर्ताहरूले विस्तारै पार्टी छोड्दै हिडेका परिदृश्यहरू यथार्थ हुन । पूर्वमाओवादी पार्टी जनयुद्धको निष्कर्ष निकाल्न नसकेर आँफैमा टुक्राटुक्रा परिरहेकै बेला सिङ्गो पार्टी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई कहिले बेपत्ताहरूको प्रश्न, कहिले जनमुक्ति सेनाको ३४ अर्ब घोटालाको प्रश्न, कहिले एनसेलबाट कमिसन काण्डको प्रश्न, कहिले माडीका बाँदरमुडेमा मारिएकाहरूको आफन्तले गर्ने प्रश्न, कहिले यदु गौतम, डेकेन्द्र थापा, ज्ञानेन्द्र खडका, मुक्तिनाथ अधिकारीका प्रश्न त कहिले फुजेलका कृष्णप्रसाद अधिकारी र बुद्धिमान पाख्रिनहरू जस्ता थुप्रैलाई हत्या गर्ने हत्यारा खोइ भन्ने प्रश्न उठिरह्यो । एवंरुपले कहिले सुमार्गीको पर्दाफास, कहिले छोरा कमरेडको जिद्दीलाई साम्मे पार्न सगरमाथा आरोहणका नाममा राज्यकोषबाट करोडौं पैसा निकास, कहिले छोरीको जिद्दीलाई साम्मे पार्न मतपत्र च्यातेर लोकतन्त्रको उपहास । सुप्रिमोकै यस्ता खालका कर्तुतहरूले पूर्वमाओवादी नाङ्गिसकेको थियो ।

तल जिल्ला स्तरमा प्रचण्डका कार्यकर्ताह ले चन्दा उठाएकै पैसाले दुईचार ओटा घर जोड्दा पनि सुप्रिमो भाडामा घर खोज्ने नाटक गर्दै थिए । यस्ता अनेकौं नाटकले जनतामा अलिकति विश्वास पनि बाँकी राखेन । यी र यस्तै खालका जनताका सयौं प्रश्न र खबरदारीहरूले वाक्क दिक्क बनेका पूर्वमाओवादीहरू न्यानो सुरक्षित घरको खोजीमा थिए । यत्तिकैमा एमाले जस्तो भरपर्दो घर फेला पार्नु पूर्वमाओवादीलाई के खोज्छस कानो आँखो’ भने जस्तै भयो । अहिलेको नेकपाभित्रको भुसे आगो निभाउने एउटै अस्त्र छ । त्यो बस्तुगत धरातलीय परिस्थितिको अध्ययन गरी सही (जनताको बहुदलीय जनबाद) सिद्धान्त सहित ७०/३० अनुपातमा भागवन्डा गर्ने गरी फेरि पूर्वएमाले र माओवादीबीच पार्टी पुनःएकता नै हो । यसमा बिचारबाट च्युत भएका पूर्वमाओवादीहरूले जबज नमान्नु पर्ने कुनै कारण छैन । जबजका विरूद्धमा एमाले खेमाकै केही हुटिट्याङहरू कराए पनि केही हुनेवाला छैन । किनकि जबजको औचित्य सकिन सताब्दी लाग्छ, जतिबेला पुर्णरूपमा समाजवादी मोडल नेपालमा लागू भईसकेको हुनेछ ।

खासमा एमाले–माओवादी एकताका लागि ७०/३० को अनुपात ठिक्क हुन्छ भन्ने कुरा अहिलेको एकताले देखाएकै छ । राजनिती जनताको साथ समर्थनमा सही विचार, संगठन र अनुशासित कार्यकर्ताहरूकै कारण चल्छ । अन्ततः तल्लो ग्राउन्डमा अनुशासित कार्यकर्ता अर्थात एमाले कार्यकर्ताहरूको उचित व्यवस्थापन नहुने हो भने भोलिको नेकपा शून्य प्राय हुने निश्चित छ । यो तथ्यलाई बुझ्न जरुरी छ । एमालेका लाखौं कार्यकर्ताहरू जिम्मेवारी विहिन भैरहदा वा योगदान अनुसारको जिम्मेवारी नभईरहदा पार्टी जनताको बिचमा देखिएकै छैन । त्यसोत पार्टी देखिदै नदेखिएपछि पार्टी फुट्ने कुराले के अर्थ राख्छ । पार्टीलाई देखिने, महसुस गरिने र समाजमा हरेक बिषयप्रति पैरवी गर्ने बनाउन न्यायोचित एकता हुनुपर्छ । त्यसका लागि पूर्वपार्टीहरू एमाले–माओवादीको पुनःएकता गर्न जरुरी छ ।

(लेखक नेकपा कास्कीका युवा नेता हुनुहुन्छ)