निर्मल भट्टराई
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नियमित र सामान्य जीवनबाट नभै एकता भएको छोटो अवधिमा कैयौं पटक असामान्य र जोखिमपूर्ण जीवनबाट अगाडि बढिरहेको छ । पार्टीको जीवनमा जोखिम शीर्ष नेताहरुमा देखिने टकरावकै कारण उत्पन्न हुने हो, नेकपामा त्यही भयो । फरक धरातल र मान्यता भएका पार्टी एकतामा आउँदा यस्ता टकराव आउनु अस्वभाविक नमानिएता पनि पदलाई केन्द्रमा राखेर गरिएको पछिल्लो विवादचाँहि सबभन्दा पेचिलो बनेको छ ।
पार्टीको मूल नेतृत्व र देशको कार्यकारी प्रमुखमाथि लगाईएका संगीन र आधारहीन आरोपहरू कहाँ पुगेर थन्किने हुन् भन्ने निर्क्योल नहुँदा एकपछि अर्का सचिवालयका बैठकहरू अनिर्णित बन्दै गएका छन् । नेपाली कम्युनिष्ट र विश्वका अरु कम्युनिष्टले पनि गर्वले नाम लिने विश्वकै ठूलो कम्युनिष्ट पार्टी चिनिया कम्युनिष्ट पार्टीले सन १९५६मा सम्पन्न आठौं केन्द्रिय कमिटीको बैठकले पार्टी सञ्चालनका लागि आठ बुँदे प्रस्ताव पारित गरेको थियो । ती बुँदा यसप्रकार थिए ।
–चिनिया कम्युनिष्ट पार्टी निर्विवाद रुपमा सामुहिक नेतृत्वको सिद्धान्तको अवलम्बन गर्नैपर्छ र अन्तरपार्टी जनवादलाई विस्तार गरिनुपर्दछ,
–जनवादी केन्द्रियता नेतृत्वको नभै केन्द्रीयताको मार्गनिर्देशनमा कायम हुने जनवाद हो र जनवादी केन्द्रीयताको सार केन्द्रियता नभै जनवाद नै हो,
–केन्द्रिय कमिटीका सबै निर्णय र काम कारवाही सार्वजनिक गरिनुपर्दछ,
–पार्टीभित्र कसैको पनि देवत्वकरण गरिनुहुदैन,
–पार्टीका सबै मातहतका अधिवेशनमा केन्द्रबाट प्रतिनिधिहरु खटाइनु पर्दछ,
–पार्टीभित्र एक अनुशासित र प्रभावकारी अनुगमन निकाय स्थापना गर्नु पर्दछ,
–पार्टीभित्र जीवनभर पदमा रहनेभन्दा नेतृत्वको निस्चित अवधि तोकिनु पर्छ र,
–पार्टीले आफ्ना सदस्यको जनवादी अधिकारको सुरक्षा र विस्तार गरिनुपर्छ ।
चिनिया सांस्कृतिक क्रान्ति र महान अग्रगामी छलाङ्को केही समयलाई छोड्ने हो भने चिनिया कम्युनिष्ट पार्टीले आफूले पारित गरेको यो प्रस्तावको इमान्दार कार्यान्वयन गरेकै कारण चीनजस्तो संसारको सबैभन्दा बढी जनसंख्या भएको देशमा स्थीरता कायम गर्नमात्र सकेन, विश्वकै महाशक्ति राष्ट्रको रुपमा उदय भयो, हुदैछ ।
नब्बेको दशकमा विश्वमै कम्युनिष्टहरुले धक्का खाएको बेलामा समेत नेपालमा मदन भण्डारीजस्ता नेताहरुको नवीन विचारको कारणले खास धक्का महसुस गर्नु नपरेको मात्र होइन, नेपालका कम्युनिष्टहरु थप सुदृढ हुदै गए र दक्षिण एशियाकै ठूलो कम्युनिष्ट पार्टी निर्माण गर्न सफल भए । पञ्चायत व्यवस्था र करिब अढाई शताब्दी शक्तिमा रहेको राजतन्त्रको जरै उखेल्ने तुमुलकारी आन्दोलनको नेतृत्व गर्न सफल भए । संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ संविधानपछि सबैतिर अत्यन्त सुविधाजनक बहुमत सहित सरकारको नेतृत्व प्राप्त गरेको छ ।
दशकौंको नेपालको अस्थीर राजनीतिबाट आजित भएका नेपाली जनताले शान्तिपूर्ण संघर्षको बाटो हिड्दै आएको तत्कालीन नेकपा (एमाले) र सशस्त्र संघर्षको बाटो हिड्दै आएको तत्कालीन माओवादी केन्द्रले पार्टी एकता गर्ने उद्घोषसहित देशलाई स्थीर सरकार, शान्ति र समृद्धि प्रदान गर्ने प्रतिबद्धता मन पराएर सो गठबन्धनलाई गत निर्वाचनमा जिताएका हुन् । पार्टी एकताका बखत तत्कालील एमाले अध्यक्ष प्रधानमन्त्री के पी शर्मा ओली र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालका विच भएको उच्चस्तरको सहमति र सहकार्यले नेपाली जनतामा कायम उत्साह दुई नेताविच पछिल्लो समयमा देखा परेको असहमतिले एकता प्रक्रियामै रहेको नेकपाको सिंगो जीवन तरङ्गित बन्यो,बनिरहेछ ।
पार्टीभित्र एकतै भाँडिने हो कि भन्ने त्राहि त्राहि पैदा भयो,भईरहेछ । विगतमा विवाद र अन्यौल चिर्दै नेकपाको सर्वोच्च निकाय सचिवालयले सर्वसम्मत निकास दिएको थियो–पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले वर्तामान संसदको अवधिभर संसदको नेतृत्व गर्ने र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने । यो सर्वसम्मत निर्णयपस्चात् केही समय विवाद मिलेजस्तो भयो, तर मिलेन । त्यो त केवल आँधी आउनु अगाडिको सन्नाटामात्र बन्यो । प्रधानमन्त्रीलाई पार्टीभित्रबाटै विभिन्न विषयमा एकाएक दवाव सिर्जना गर्न थालियो । यसै बर्षको अन्त्यमा हुने एकताको महाधिवेशनसम्म मिलेर जाने विगतको सहमति, राजनीतिक स्थीरताका लागि पाँच बर्षसम्म के पी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सचिवालयको सर्वसम्मत निर्णय तथा गत आम निर्वाचनमा जनतासामू व्यक्त गरिएका प्रतिबद्धता भुलेर शीर्ष नेताहरु नै आरोप–प्रत्यारोप, शीर्ष नेताकै हरियो बत्तिमा पक्ष विपक्षमा हस्ताक्षर संकलन र गुट गत गतिविधिमा उत्रदा फेरि एकपटक नेकपामा अन्यौल दिनानुदिन बढ्दो छ । जनतालाई स्थीरताको सपना बाँडेर सत्तामा पुगेको नेकपा आफै अस्थीरता र अन्यौलको शिकार बन्दै गएको छ । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने नेपाली उखान सत्तारुढ नेकपामा चरितार्थ हुदै गएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को मूल नारा लिएर अगाडि बढिरहेको सरकार सोसम्बन्धी आफ्ना सबै योजना र काम कारवाही मुल्तवीमा राखेर कोरोनासंग र देशी विदेशी प्रतिक्रियावादी शक्तिसंग लडिरहेको बखत सत्तारुढ दलभित्रको यो पैमानाको उकुसमुकुस विडम्बनापूर्ण त छ नै, खेदजनक पनि छ ।
किनभने आफू मिलेर प्रतिक्रियावादी–पुनरुत्थानवादी शक्तिका षणयन्त्रलाई परास्त गर्नु पर्नेमा आफू(आफू झगडा गरेर उनीहरुलाई टाउको उठाउने वातावरण बनाउने काम नेकपाबाटै हुदैछ । नेकपाभित्र लामो रस्साकस्सी पछि पार्टी सचिवालयको बैठक शृंखलाले कुनै निष्कर्ष दिन सकेको छैन । मिति तोकिसकिएको महाधिवेशनबाट पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने र अर्को आम निर्वाचनसम्म मात्र सरकारको नेतृत्व गर्ने पार्टी अध्यक्ष के पी शर्मा ओलीको प्रस्ताव नेतृत्वमा बाँचुन्ज्याल रहिरहन चाहने अरु नेतालाई ग्राह्य हुन सकेको छैन । यसो गर्दा पार्टीमा नयाँ नयाँ नेताले नेतृत्वको अवसर प्राप्त हुने मात्र होइन, पार्टीका केही नेताहरु मात्र प्रधानमन्त्रीको कुर्सी विचमा राखेर म्युजिकल चेयर खेलमा दोहोर्याई तेहेर्याइ सामेल हुने र अरु त्यत्तिकै क्षमतावान र भिजन भएका नेताहरुचाहिं दर्शकमात्र बन्ने वर्तमान खण्डित समेत हुनेछ । कोही पार्टीको वा राजकीय सत्तामा पुग्दा अरु कोहीले मुख रातो पीरो गर्ने र सत्ताबाट बाहिर जाँदा बाहिरिनेले मुख रातोपीरो पार्नु पर्ने नराम्रो संस्कृतिबाट समेत मुक्ति मिल्नेछ । सत्ता हस्तान्तरणसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको यो राम्रो परम्परा हामीले किन नसिक्ने ?
फ्रान्सका राजा लुइ पन्द्रौं भन्दथे–मेरा शेखपछि बाढी आवोस् ! यसको अर्थ हो, म र मेरो परिवारलाई केही हुनु भएन, देश र जनतालाई जेसुकै होस्, मतलव छैन । यो करिब चार शताब्दी पहिले फ्रान्सेली निरङ्कुश राजाको कथन हो । आशा मार्नु हुदैन, एकाईशौं शताब्दीका आधुनिक नेपालका कम्युनिष्ट नेताहरु लुई पन्द्रौंको चेतभन्दा उन्नत चेत प्रदर्शन गर्नेछन् । माओ र चिनिया कम्युनिष्ट पार्टीको लामा–लामा सन्दर्भ कार्यकर्तालाई पढाउने नेताहरु देश र जनताको हितमा आफ्नो व्यक्तिगत हित अधिनस्थ गर्न र जनमतको कदर गर्न तयार हुनेछन्। जनताको अभिमतबाट पार्टीको शीर्ष स्थानमा पुगेका नेताहरु नै पद र प्रतिष्ठाको लुछाचुँडीमा मात्र अल्मलिने छैनन् भन्ने केवल अपेक्षामात्र गर्न सकिन्छ । र, जस्तोसुकै संकटमा पनि उनीहरुले जनतालाई बाँडेको स्थीरताको सपना विर्सने छैनन् र जनतासंग गरिएको आफ्नै पुरानो प्रतिबद्धताको विरुद्ध तानावाना बुन्ने छैनन् । पुरानो भत्काउने क्षमता राख्नेले नया बनाउन नसक्ने हो भने जनताले कसैलाई माफ गर्ने छैनन् ।
सबै अग्रगामीहरुको एउटै अपेक्षा छ– कम्युनिष्टको नेतृत्वमा बल्लबल्ल निर्माण हुन लागेको देश, उज्यालो हुन लागेको गरिब जनताको अनुहार विर्सेर व्यक्ति र गूट स्वार्थको लागि नेकपाको शीर्ष तह पौंठेजोरीको क्रीडास्थल होईन, समृद्धि र समाजवादको लागि सहमति र सहकार्यको अनुकरणीय थलो बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्