जनता टाइम्स

२२ मंसिर २०७७, सोमबार ११:०६

तोडिनैपर्छ नेकपा सिध्याउन माधवले रचेको चक्रब्यूँह


भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालालाई भारतीय शासकले पटक पटक हामीले भनेअनुसार काम गर्ने हो भने प्रधानमन्त्री र राष्ट्रपति नै बनाइदिने भन्दा पनि मान्नुभएको थिएन । तर अहिले के के लेनदेन भएको छ र माधव नेपाल चार महिना पछि हुने पार्टी महाधिवेशनसम्म पनि धैर्य नगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तरिम विधानविपरीत बहुमतका बलमा दुवै पदबाट हटाउने षडयन्त्रमा लागिरहेका हुन ? यस काममा माधवले बन्दुक चाहिँ प्रचण्डको काँधमा भिराउन सफल भएको देखिन्छ । मुखर र वाचाल भन्दा घुसघुसे पात्र खतरानाक हुन्छ भनेझैँ माधव नेपालको चरित्र विस्तारै उजागर हुँदैछ

प्रा.डा. बद्रीविशाल पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीको फाउ जिन्दगीका कारण नेकपा र सरकारका यतिका उपलब्धि देखेर वरिष्ठ नेता माधवकुमार नेपालको ओली प्रतिको इष्र्या, द्वेष र जलन उग्र रुपमा प्रकट भएको छ । ओलीको साथ सहयोगका कारण पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने अवसर पाएका नेपाल भने कति कृतघ्न रहेछन् भन्ने कुरा नवौँ महाधिवेशन ताका ओली लक्षित उनका अत्यन्त अमानवीय र क्षुद्र टिप्पणीबाट अवगत हुन्छ । नेपालले पार्टी अध्यक्षका प्रबल प्रतिस्पर्धी उपचाररत ओलीलाई अन्तिम अवस्थामा, सिकिस्त छन्, आज हो कि भोलि भन्ने अवस्थामा छन भन्दै आफ्ना गुटका मानिसलाई भनाउँदै, प्रचार गर्दै हिँडेका थिए । माधव नेपालले भित्रभित्रै सुलसुले पारामा ओलीको व्यक्तित्वविरुद्ध अत्यन्त अराजक, कपोलकल्पित भ्रमहरु जिल्ला जिल्लामा २०५३ सालदेखि छरेको यही लेखक सुनसरी जिल्ला पार्टी कमिटीमा हुँदाको भुक्तभोगी रहेको छ । जननेता मदन भण्डारी र जबजका कारण जीवनमा कहिल्यै नसोचेको राजनीतिक र राजकीय उच्च उपलब्धि आफूले पाए पनि माधव नेपाल अहिले मृत्युपछि पनि भण्डारीलाई नै देखि सहँदैनन भने पछि उनी कति कृतघ्न होलान । यत्तिसारो अमानवीय व्यवहार नगर्न यस लेखकले विभिन्न रुपमा नेपाललाई सुझाव दिएको पनि हो ।

राधाकृष्ण मैनाली लिखित नलेखिएको इतिहास कृतिमा माधव नेपालले २०४६ सालमा तत्कालीन माले पार्टीको केन्द्रीय समिति बैठकमा दुई दुई पटक भारतीय हातहतियार र लडाकाहरु नेपालमा झिकाएर सशस्त्र गतिविधिमार्फत गणतन्त्र ल्याउनुपर्छ भनेर भित्तो लागेका थिए । नेपालले विश्वस्त भारतीय सूत्रले आफूलाई जस्तोसुकै सहयोग गर्न सक्ने कुरा बैठकमा बताउँदा मदन भण्डारीले नेपालको सातो खानुभएको थियो । भनेपछि नेता नेपाल त्यतिबेलैदेखि भारतीय प्रभाव र दवाबमा जे गर्न पनि तयार रहेको अवगत हुन्छ । त्यसैले आजीवन प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन हत्ते हाल्ने माधव नेपाल पदका लागि देशलाई दाउमा राख्दैनन होला भन्न सकिँदैन । प्रधानमन्त्री हुन दाम चढाउन, दरवारमा निवेदन हाल्न र प्रतिगमन आधा सच्चिएको ऐलान गर्न र दुई दुई वटा निर्वाचन क्षेत्रमा जनताबाट तिरस्कृत भएर पनि प्रधानमन्त्री बन्ने नेपाल आफू पार्टी सत्ता र सरकारमा पुग्न के कस्ता कर्म गर्न सक्ता रहेछन भन्ने देखिएका प्रमाण हुन ।

भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालालाई भारतीय शासकले पटक पटक हामीले भनेअनुसार काम गर्ने हो भने प्रधानमन्त्री र राष्ट्रपति नै बनाइदिने भन्दा पनि मान्नुभएको थिएन । तर अहिले के के लेनदेन भएको छ र माधव नेपाल चार महिना पछि हुने पार्टी महाधिवेशनसम्म पनि धैर्य नगरी ओलीलाई अन्तरिम विधानविपरीत बहुमतका बलमा दुवै पदबाट हटाउने षडयन्त्रमा लागिरहेका हुन ? यस काममा माधवले बन्दुक चाहिँ प्रचण्डको काँधमा भिराउन सफल भएको देखिन्छ । मुखर र वाचाल भन्दा घुसघुसे पात्र खतरानाक हुन्छ भनेझैँ माधव नेपालको चरित्र विस्तारै उजागर हुँदैछ ।

नेका नेता प्रदीप गिरी बारबार अहिलेको संकटपूर्ण अवस्थामा नेकपा मात्र होइन, कुनै पनि राष्ट्रिय पार्टी फुट्नु हुँदैन भन्नुहुन्छ भने मन्त्री हृदयेश त्रिपाठी अहिले नेकपा फुट्ता वर्तमान राजनीतिक अवस्था समेत अस्तव्यस्त हुन्छ र देश ठूलो अराजकताको दलदलमा पर्छ भनिरहनु भएको छ । यस्तै कांग्रेसकै नेता चन्द्र भण्डारी अहिले ओली हटाए भोलि नेपालका कुनैपनि प्रधानमन्त्रीले देशको हितमा सोच्नै नसक्न, कामै नगर्ने र दुतावासको आदेश पालक हुने तथ्य औल्याइरहनु भएको छ तर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भने पार्टी र सरकारको सत्ता स्वार्थमा लम्पट भएर पार्टी विभाजनका लागि पार्टी अध्यक्ष प्रचण्डका काँधमा बन्दुक राखेर पड्काउन उद्यत देखिएका छन ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारत अतिक्रमित नेपाली भूभाग नेपाली नक्सामा समावेश भएको भोलिपल्ट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने काममा माधव नेपालले आफूलाई अगुवाइ गर्ने कुरामा रचेको प्रपञ्च प्रचण्ड निकट नेताले राम्ररी बुझे पनि स्वयं प्रचण्डले अहिले कति बुझेका होलान । कहिले काहिँ लामो समयको खेलमा केही सेकेन्ड र मिनेट पनि गोल गर्ने सुनौलो अवसर हुन्छ । त्यस्तो हुन गयो भने प्रचण्ड आफैँलाई बचाउने सुनौलो अवसर आउनेछ । गर्नेभन्दा गराउने ठूलो हो भनेझैँ नेपाल भारतीय शासकको नेपाल नीतिअनुसार प्रचण्डलाई राम्ररी उपयोग गरिहेको देखिन्छ । नत्र यो बेलाको बोली र मौकाको काम नै होइन । रवर्ट डी कप्लानले …नेपालले आफ्नो शासकीय क्षमता बढाउन सकेन भने सत्तरीको दशकसम्म नेपाल क्रमशः विघटन हुनपुग्छ भनेका छन ।

कप्लानले भनेको शासकीय क्षमताको अर्र्थ नेपालको सरकार, सरकार प्रमुखले देश र जनताको हितमा बाह्य दवाव र प्रभावमा नपरी काम गर्नु हो । तर फिजी भन्ने देशमा जस्तै नेपालमा भारतीय मूलका अङ्गीकृत नागरिकलाई संविधानमा नै जन्मसिद्ध नागरिक सरह अधिकार दिलाउन भारतीय शासक चाहिरहेको देखिन्छ । यस अधिकारअनुसार देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति जस्ता राजकीय तथा संवैधानिक उपल्ला तहमा पुग्ने हक दावी गर्ने अधिकार पर्दछ । यसरी फिजीमा भारतीय मूलका व्यक्ति महेन्द्र चौधरी त्यहाँको प्रधानमन्त्री बन्न र बनाउन भारत सफल भएजस्तै नेपालमा पनि भारत एकलौटी वैधानिक कब्जा कायम गरी देशलाई फिजीकरण गर्ने कपटपूर्ण चाहना आफ्ना प्यादामार्फत् पूरा गर्न रहेको स्पष्ट हुन्छ ।

विगतका तुलनामा नेकपाको ओली नेतृत्वको सरकार कमी कमजोरीका अतिरिक्त कप्लानका अनुसार शासकीय क्षमता र इमानका साथ क्रियाशील रहेको देखिन्छ । यसमा नेकपा मित्रवत आलोचनाका साथ सक्रिय सहयोगी हुँदा देशको कायापलट हुने अवस्था टड्कारो थियो र छ । यसरी काम गर्दा नेपालको शासकीय क्षमता सबल बन्दै जाने र नेपाल वैदेशिक स्वार्थको क्रिडास्थल बन्न सक्ने अवस्था हुँदैनथ्यो । तर बर्दीबिनाका नेकपाका उपल्ला तहका केही साइवार सेनाले सरकारविरुद्ध सुरुदेखि दुष्प्रचार मात्र होइन, एकाध नेता त शत्रुवत आक्रमण गर्न निर्वस्त्र रुपमा ओर्लिए । तर पनि जहाँजहाँ, जुनजुन, स्थान, क्षेत्र र तहमा सरकारको जन सेवा तथा राहतमूलक उपस्थिति रहेको छ, तीती ठाउँमा आम जनता बेखुस छैनन । तर तिनको आवाज फेक, पेड र प्रायोजित माध्यम र मिडियाले कत्ति पनि उजागर नगरिरहेको स्थितिलाई ध्यान दिएर नवीन विधि र प्रविधिमार्फत् जनसमक्ष बेलैमा उजागर गरे सदन र सडकका रत्यौली साम्य हुने थिए ।

यतिबेला देशी र विदेशी प्रतिकूल अवस्थामा पनि विशेषतः भारतीयलगायत वैदेशिक शक्तिका प्रभाव र दवावबाट बचेर मुलुकको शासन व्यवस्था सञ्चालित रहेको छ । नेपाललाई विगतझैँ प्रत्यक्ष वा परोक्ष रुपमा आफ्नो पन्जा पार्न खोज्ने प्रयत्न असफल भएपछि विशेषतः भारतीय शासक ओली सरकारविरुद्ध आफैँ धामी र आफैँ बोक्सी भएर अहिले अलिव्यग्र भएर लागेको स्पष्ट हुन्छ । भारतले उहिलेदेखि नै लिएको नवऔपनिवेशी नेपाल नीतिका बारेमा अरु धेरै विज्ञहरुले झैँ प्रा.डा. गणेशप्रसाद क्षेत्रीले आफ्नो भारतको नेपाल नीति’ एक शल्यक्रिया शीर्षक कृतिमा सविस्तार उल्लेख गर्नुभएको छ । क्षेत्रीका अनुसार भारतले नेपाललाई फिजीकरण गर्ने कुनियत राखेर आफ्ना सारा गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभएको छ । यसका लागि नेपालको पानी धमिलो बनाउन भारत उपर्युक्त नेकपाका द्वयनेतामार्फत काम गरिरहेको स्पष्ट हुन्छ । यसरी भारतले पहिलेझैँ अझ अहिले आएर नेपाल राष्ट्रलाई नै विखण्डन गर्नेगरी माखोसाङ्लो तयार गरेको तयार पार्न खोजेको स्पष्ट हुन्छ ।

जवाहरलालख नेहरु विश्वविद्यालय, भारतका प्राध्यापक एस.डी. मुनिले नेपालको एक टेलिभिजनमा दिएको एक अन्तर्वार्ताका राजाले भारतको हितविपरीत गरेको हुनाले हट्नु परेको तथा अब उप्रान्त पनि कसैले भारतीय हितविपरीत गरेमा उसको पनि ठीक यस्तै हविगत हुने चेतावनी दिएको डा. क्षेत्री बताएका छन (पृ.५२) । यो उनको अहिलेको कडा चेतावनी हो । संविधान जारी नगर्न भारतीय विदेश सचिवले समेत कडा चेतावनी दिएको थिए । यी सबै भारतले नेपाल, नेपाली दरवार र सरकार प्रमुखप्रति गर्दै आएको बेसरम हेपाहा प्रवृत्तिकै परिणाम हो । यस्ता बेहराका भुक्तभोगी जननायक बीपी कोइराला पनि हुनुहुन्थ्यो । उहाँले आत्म वृत्तान्तमा भारतीय शासकले नेपालको अखण्ड, स्वाधीन, सार्वभौम र स्वतन्त्र अस्तित्वलाई खण्डित गर्न चाहेको कुरा उजागर गर्नुभएको छ ।

ओलीविरुद्ध लामो समयदेखि संसद सदस्यहरुको बहुमत जुटाएर अविश्वास सिर्जना गर्ने पटक पटकको प्रयत्न असफल भएपछि विधि, पद्धति र प्रणाली मिचेर वा जस्केलाबाट छिरेर भएपनि पार्टीमा कू गर्ने दुष्प्रयत्नमा दुवै नेता रहेको अवगत हुन्छ । कम्तीमा देशमा अस्थिरता नआओस भन्ने अत्यन्त दूरदर्शी सोच राखेर दोस्रो वा तेस्रो पुस्ताको नेतृत्वले बेलैमा सोचोस । अब पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका केही नेताको सती गएर आन्दोलन र अझ देशलाई भड्खालोमा हाल्ने काम नहोस । आगामी दिनमा प्रधानमन्त्री, मन्त्री, माननीयलगायत राजकीय तथा राजनीतिक अनेक तहमा बसेर देशको सेवा गर्ने आकांक्षीहरुले बेलाको बोली बोलौं 

नाकाबन्दी विरुद्ध चट्टानी अडान लिनु, संविधान निर्माण र यसलाई लागू गर्ने सबालमा स्वविवेकको प्रयोग गर्नु, चीनसित वाणिज्य तथा पारवहन सम्झौता गर्नु र नेपाल विखण्डनका अनेक प्रपञ्चहरुलाई परास्त गर्नु विकासका अल्पकालीन तथा दीर्घकालीन खाका कोर्दै अगाडि बढ्नु, कालापानी, लिपुलेक, लिम्पयाधुरालगायत भारत अतिक्रमित नेपाली भूभाग समेटेर नेपाली नक्सा जारी गर्नु जस्ता सबल शासकीय क्षमताका कारण भारतीय शासक ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न चाहन्छ । हजार झूटलाई एउटै सत्यले सत्यानाश पार्छ भनेझैँ अहिले जबज र जननेता मदन भण्डारीका योगदानलाई उजागर गर्ने व्यक्तित्वहरु देशव्यापी रुपमा क्रमशः अगाडि आउन थालेका छन भन्ने कुरा माधव नेपालले बेलैमा बुझे हुन्छ ।

भारतको नेपाल नीति कतिसम्म घृणित छ भन्ने कुरा नेपालबाट बिदाइ हुन लागेका भारतीय राजदूत रन्जित रायको भनाइबाट पनि स्पष्ट हुन्छ । उनले नेपालले विचार नपुर्याउने हो भने अबको दश वर्षमा नेपालको हालत अहिलेको भन्दा बिग्रने र नेपाल ठूलो द्वन्द्वमा प्रवेश गर्नेछ भनेका थिए । यसको अर्थ भारतले नेपालभित्र आन्तरिक विग्रह, विप्लव र द्वन्द्व सिर्जना गर्न सक्छ, यदि उसले भनेअनुसार प्रमुख काम हुनसकेन भने । नेकपामा उत्पन्न कृत्रिम विवादलाई त्यतैतिर उन्मुख गराउन खोजिएको देखिन्छ । यो कुरा प्रचण्ड निकट र नेपाल निकटका नेताहरुले राम्ररी बुझेको देखिन्छ । त्यसैले पार्टीको स्थायी समिति बैठकले नै यो कृत्रिम विवाद समाधान गर्ने आशा र विश्वास भुईं तहमा देखिन्छ ।

नेपालको उचालमा परेर कार्यकारी अध्यक्षका नाताले पार्टी काममा पटक्कै ध्यान नदिई अनेक निहुँ र बखेडा झिकेर सरकारलाई जनसेवाका काममा हर्दम अवरोध सिर्जना गर्ने उदेश्य प्रचण्डको रहेको देखिन्छ । अझ पार्टीको अन्तरिम विधानको धारा ६० मा आसन्न महाधिवेशनका बेला मात्र अलपमत र बहुमतका आधारमा फैसला गर्ने प्रावधान राखेको देखिन्छ । त्यसबाहेक आसन्न महाधिवेशन अघि दुई अध्यक्षको पारस्परिक सहमति र सझदारीमा सरकार र पार्टी सञ्चालन गर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै यही बीचमा सचिवालय र स्थायी समितिमा ओलीविरुद्ध बहुमत पुर्याएर नैतिक संकट सिर्जना गर्ने नेपाल र दाहालको दुराशय देखिन्छ । त्यसो गर्ने वित्तिकै विधानतः पार्टी एकता भङ्ग हुन्छ ।

ओलीविरुद्ध लामो समयदेखि संसद सदस्यहरुको बहुमत जुटाएर अविश्वास सिर्जना गर्ने पटक पटकको प्रयत्न असफल भएपछि विधि, पद्धति र प्रणाली मिचेर वा जस्केलाबाट छिरेर भएपनि पार्टीमा कू गर्ने दुष्प्रयत्नमा दुवै नेता रहेको अवगत हुन्छ । कम्तीमा देशमा अस्थिरता नआओस भन्ने अत्यन्त दूरदर्शी सोच राखेर दोस्रो वा तेस्रो पुस्ताको नेतृत्वले बेलैमा सोचोस । अब पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका केही नेताको सती गएर आन्दोलन र अझ देशलाई भड्खालोमा हाल्ने काम नहोस । आगामी दिनमा प्रधानमन्त्री, मन्त्री, माननीयलगायत राजकीय तथा राजनीतिक अनेक तहमा बसेर देशको सेवा गर्ने आकांक्षीहरुले बेलाको बोली बोलौं ।