जनता टाइम्स

२२ मंसिर २०७७, सोमबार १७:००

भारतमा कोरोना खोप प्रयोगका लागि सिरम इन्स्टिच्युटले माग्यो अनुमति, नेपाल पनि प्राथमिकताको सूचीमा


काठमाडौं, मंसिर २२ । भारतीय खोप कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले सरकारसँगको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ । डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको एसआईआईले कोरोना खोपको आपत्कालीन प्रयोगका लागि भारत सरकारसँग अनुमति मागेको हो ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा भारतमा कोरोना खोप विकास गरिरहेको छ । यसअघि नै अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग संयुक्त रुपमा विकास गरेको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि भारत सरकारसँग अनुमति मागिसकेको छ । फाइजरको कोरोना खोपको प्रयोगका लागि बेलायत र बहराइनले भने अनुमति दिइसकेका छन ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा भारतमा कोभिसिल्ड नामक कोरोना खोप उत्पादन गरिरहेको छ । यसअघि कम्पनीले सन २०२० अन्त्यसम्ममा कोरोना खोप उत्पादन हुने बताएको थियो । शुक्रबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्तामै भारतका कोरोना खोप उपलब्ध हुने जानकारी दिनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले एसआईआईलगायत विभिन्न औषधि र खोप निर्माण गर्ने कम्पनीको भ्रमणपछि केही हप्तामै कोरोना खोप उपलब्ध हुने बताउनु भएको हो ।

एसआईआईका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अदार पुनावालाले वाचागरेअनुरुप नै कम्पनीले सरकारसँग कोभिसिल्डको आपत्कालीन प्रयोग अनुमति माग गरेको जानकारी दिनुभयो । उहाँले भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना खोपको विकासमा महत्वपूर्ण साथ दिएको उल्लेख गर्दै यसले लाखौंलाई बचाउन सकिने जानकारीसमेत दिनुभएको छ ।

सीईओ पुनावालाका अनुसार एसआईआईले पहिलो ब्याचअन्तर्गत एक सय करोड डोज उत्पादन गर्नेछ । उक्त परिमाणको खोप सन् २०२१ पहिलो र दोस्रो त्रैमासिकसम्म उत्पादन भइसक्ने छ । एसआईआईले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) को निगरानीमा भारतका विभिन्न ठाउँमा कोरोना खोपको तेस्रो चरणको चिकित्सकीय परीक्षण गरेको थियो । एसआईआइले परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै कोभिसिल्ड सुरक्षित रहेको र लक्षित व्यक्तिमा प्रभावकारी देखिएको दाबी गरेको थियो ।

२ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिने कोरोना खोप ‘कोभिसिल्ड’ सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा उत्पादन गरिरहेको छ 

केही हप्ताअघि अक्सफोर्ड र एस्ट्राजेनेकाले आफूले विकास गरेको कोरोना खोप औसतमा ७० प्रतिशत प्रभावकारी भएको बताएको थियो । कोरोना खोपको मात्रा र संक्रमितको अवस्थाअनुसार ९० प्रतिशतसम्म प्रभावकारी देखिएको एस्ट्राजेनेकाले दाबी गरेको थियो । कोभिसिल्ड पाका उमेरका व्यक्तिमा पनि प्रभावकारी देखिएको एसआईआईको भनाई छ ।

कोभिसिल्ड २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ । फाइजरको कोरोना खोपको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ । नेपालले पनि कोरोनाविरुद्धको खोप ल्याउन एसआईआईसँग छलफल गरिरहेको छ । पुनावालाले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताइसक्नु भएको छ ।