जनता टाइम्स

६ माघ २०७७, मंगलवार १३:२३

काठमाडौं महानगरको अर्ध बार्षिक समीक्षा सम्पन्न : महामारीका कारण रोकिएका काम तीब्र बनाउनु पर्नेमा जोड


काठमाडौं, माघ ६

काठमाडौं महानगरले चालु आर्थिक बर्षको अर्ध बार्षिक समीक्षा गरेको छ । माघ ४ र ५ गते सभा गृहमा आयोजना गरिएको समीक्षामा विभाग, महाशाखा, आयोजना र इकाइ गरी २८ क्षेत्रका प्रस्तुति भएका थिए ।

चालु आर्थिक बर्षको कार्ययोजनामा समावेश भएका योजना तथा कार्यक्रमको प्रगति, अहिलेसम्म सम्पन्न भएका र कार्यान्वयन चरणमा रहेका योजना तथा कार्यक्रम, कार्ययोजनामा समावेश भएका तर चालु आर्थिक बर्षमा कार्यान्वयनमा आउन नसक्ने योजना तथा कार्यक्रमको तथ्यलाई आधार बनाएर प्रस्तुति गरिएका थिए ।

महानगरपालिकाले चालु आर्थिक बर्षको छ महिना अवधिमा २३ किलोमिटर सडक कालेपत्रे गरेको छ । त्यसैगरी ३४ हजार १ सय ६५ बर्गमिटर सडक मर्मत गरेको छ । यही अवधीमा ४ वटा वडा भवन, २ वटा अन्य भवन र २ वटा आकाशे पुल निर्माण सम्पन्न गरेको जानकारी दिएको छ। त्यसैगरी ३ किलोमिटर बढी सडक ढलान गरेको छ भने ९ सय ७२ मिटर ढल राख्ने र ८ सय ६० मिटर ब्लक छाप्ने काम सम्पन्न गरेको छ ।

३ सय ६६ वटा योजना मध्ये ६९ वटा सम्पन्न भइसकेका छन् । २२५ वटा कार्यान्वयन चरणमा रहेका छन् । २०१ वटा चालु र १६५ वटा गएको बर्षबाट दायित्व सरेर आएका गरी ३ सय ६६ वटामध्ये भने ७२ वटा सुरु हुन बाँकी रहेको छ ।

महानगरको बार्षिक बजेट १४ अर्व २६ करोड ६५ लाखमध्ये पहिलो आधा बर्षमा २ अर्व १२ करोड ९३ लाख ६९ हजार रुपैयाँ अर्थात् १५ प्रतिशत रकम खर्च भएको छ । जसमा चालुतर्फ ४ अर्व ८८ करोड ६ लाख ४३ हजारको २९ प्रतिशत अर्थात् १ अर्व ४४ करोड ३१ लख ४६ हजार र पुँजीगततर्फ ९ अर्व ६ करोड ४७ लाख २९ हजारको ७ प्रतिशत अर्थात् ६९ करोड ६२ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले, महानगरको नीतिबमोजिम प्राथमिकता प्राप्त योजनालाई कार्यान्वयन लैजान निर्देशन दिनुभयो । ‘नागरिकले नतिजामुखी योजनाको अपेक्षा गर्नुभएको छ । महानगरसँग भएको स्रोतलाई जनताका माग र आवश्यकताका आधारमा खर्च गर्ने प्रणालीमा साझा मत बनाउनोस् र जनप्रतिनिधिको चाहनाबमोजिम योजना कार्यान्वयन गर्नोस् ।’ मेयर शाक्यको भनाइ थियो ।

‘महानगरबाट जनताले अझै धेरै अपेक्षा गर्नुभएको छ । त्यो अपेक्षा पूरा गर्ने दिशामा काम गरौं ।’ डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामी थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दिशामा जनप्रतिनिधि र कर्मचारीको एउटै सोच हुनुपर्छ ।’

महानगरसँग योजना कार्यान्वयन गर्ने क्षमता हुँदाहुँदै पनि परिणाम आउने काम गर्न सकिएन । कोविड–१९ को महामारी मुख्य कारण रह्यो । समीक्षापछि सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भन्नुभयो, ‘अब महामारीको डर कम भएको छ । पहिले रोकिएका काम अव अगाडि बढाउन सकिन्छ ।’

‘निर्माणका टुक्रे धेरै योजना खरिद गर्नु पर्ने भएकोले प्रक्रियामा धेरै समय खर्च भयो । पूर्वाधार विकासमा नतिजामुखी परिणाम ल्याउन प्याकेजमा काम गर्नुपर्ने देखियो ।’ समीक्षापछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘ महानगरका प्राथमिकतमा रहेका ठूला, जनसरोकारका योजना कार्यान्वयनमा लैजान हतार भइ सक्यो ।

विगतमा भएका गल्ती सुधार गर्दै यसअघि नै परिणाम दिनु पर्ने योजनालाई तीव्र कार्यान्वयनमा ल्याउन विभागहरुको सशक्त नेतृत्व चाहिएको छ ।’ बिभागको चालु आर्थिक बर्षको विनियोजित बजेट ३ अर्व १ करोड ६१ लख ६ हजार रुपैयाँ हो । यस्तै, सामाजिक विकासतर्फ १ अर्व ६२ करोड रुपैयाँका योजना छन् ।

सामाजिक सुरक्षा सम्बन्धि महानगरले लिएका २३ वटा नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट व्यहोरिने ७७ वटा, नेपाल सरकारबाट प्राप्त ससर्त अनुदानबाट २४ वटा र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट ८ वटा गरी १०९ वटा कार्यक्रम तय गरेको छ । जसमध्ये ६६ वटा कार्यक्रम सुरु गरिसकिएका छन् । ३२ वटा कार्यक्रम कार्यान्वयनको चरणमा छन् भने ११ वटा कार्यक्रम चालु आवमा कार्यान्वयनमा आउन नसक्ने अवस्थामा छन् ।

यी कार्यक्रममध्ये लघु, घरेलु तथा साना उद्योग संरक्षण तथा सम्वर्धनका लागि रिभल्भिङ् फन्ड स्थापना र सञ्चालन, जेष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र सञ्चालन, पर्किन्सन रोग उपचार लक्षित कार्यक्रमलगायत कार्यक्रम कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने भएकोले चालु आर्थिक बर्षमा केही कार्यक्रम सञ्चालनमा आउन नसक्ने भएका हुन् ।

यस अवधिमा विभागले १ हजार २१५ संस्था नविकरण गर्न र ७७ वटा संस्था दता गर्न शिफारिस गरेको छ । वडा १ देखि १७ सम्म २१, २६ र २८ मा महिला समूह, समिति र निगरानी समूह गठन गरिएका छन् । यीमध्ये १७, २१, २६ र २८ यसै बर्ष गठन गरिएका हुन् ।