जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार ०७:४५

रेल्वे कम्पनीलाई तहस-नहस बनाउन गिरोह सक्रिय, यसरी खुल्यो प्रदेश प्रमुखकै अपराधको पोल


महेन्द्र पौडेल/काठमाडौं ।

केही हप्ता पहिलो नेपाल रेल विभागका महाप्रबन्धक गुरु भट्टराई भन्दै थिए, ‘मलाई आफ्नै प्रदेशबाट थ्रेट आएको छ । कहाँबाट कसरी आएको ? मलाई थाहा छैन तर प्रदेश प्रमुखको कार्यालयबाट बारम्बार मेसेज र सिधै कल गर्नु भनेर मेसेज पनि आइरहेको छ ।’ रेल विभागले केही महिनाअघि एक सय उन्तीस जना कर्मचारी भर्ना सम्बन्धि आवेदन निकाल्यो । कसैको दवाव र प्रभावमानपरी योग्य, सक्षम कर्मचारी छानिनु पर्ने गुरुले अडान लिइदिए । त्यो आवेदन अहिले निस्कृय रहेको छ ।

त्यसमा कुनै निर्णय भएको छैन । उनलाई काम गर्न नदिन र काममा अबरोध खडा गर्न सानादेखि ठूला तहका सबै तप्काका मान्छेहरु लागिपरेका छन् । पार्टीभित्रका पार्टीइतरकाहरु लागिपरेका छन । महोत्तरीको बर्दिबासस्थित हात्तीलेटको जनता माध्यामिक विद्यालयको होनहार छात्रका रुपमा आफ्नो नाम दर्ज गराएर गुरुले दुइ दशकअघि एसएलसी उत्तिर्ण गरेका थिए । काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा बीई गरेपछि उनी केहीवर्ष देशभित्रै इन्जिनियर भएर काम गरे । भारतको प्रतिष्ठित टाटा हाउजिङ्गमा उनी साइट इन्जिनियरको रुपमा छानिए । त्यसपछि मलेशिया, दुवई र माल्दीभ्सजस्ता देशमा प्राविधिक रुपमा मेनेजर र प्रबन्धक जस्ता जिम्मेवारीमा काम गर्दै जाँदा पछिल्लो अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई नेपालको रेल्वे विभागमा महाप्रबन्धकमा नियुक्ती गर्नुअघि माल्दिभ्समा उनको तलब अठार लाख थियो । महिनाको अठार लाख तलबलाई छाडेर उनी देश फर्किए ।

प्रदेश २ को महोत्तरी जिल्ला सबैभन्दा जालझेल, तिकडम भएको जिल्ला मानिन्छ । केही दिनअघि एउटा सानो समुहको बैठकमा महेश बस्नेत भन्दै थिए, ‘तपाईहरु खाली एक अर्कामा खुट्टा तान्ने प्रवृत्ति गर्नुहुन्छ । देशभरीका जिल्लाहरुमा केवल तीन जिल्ला गोरखा, भक्तपुर र महोत्तरी यस्ता जिल्ला हुन् जहाँ संगठन नबनाउने खाली एक अर्काको खुट्टा मात्र तान्ने । गोरखा सुध्रियो । भक्तपुरमा म आफैं सक्रिय भएर सुधारे ।’ बस्नेतको भनाईमामहोत्तरी उस्तै छ ।

फागुनभित्र कुनैपनि हालतमा रेल कुदाउँछु भनेर दौडिएका गुरुलाई जिल्लाका केही तत्वहरुले ‘तँलाई टुक्राटुक्रा पारिदिन्छु’ भनेर धम्काए । महाप्रबन्धक जस्ता मान्छेलाई सिधै यसरी धम्काएपछि आममानिसले प्रदेश २ मा कसरी काम गर्न सक्छन ? साना कर्मचारीहरुले कसरी काम गर्न सक्छन् ? प्रतिउत्तरमा महाप्रबन्धकले जवाफ फर्काए उस्तै । धम्कीपुर्ण शैलीमै । सामाजिक सन्जालमा खरो टिप्पणी गर्ने महाप्रबन्धकले प्रतिउत्तरमा पनि खरै बोलेछन । तर यसैलाई अतिरन्जित गरियो ।

नेपालमा रेलका विषयमा गुरु भटृराई नयाँ हुन । गुरु मात्रै होइन, यो पुस्ता नै नयाँ हो यस क्षेत्रमा । रेलको विषयमा कुरा गर्दा पहिलो पटक राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा वि.सं. १९८४ मा शुरुवात गरिएको थियो रेलवे सेवा । तर वि.सं. २०२२ मा बन्द गरियो । बेलायती सरकारले भारतको रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किमि रेलवे संचालन गर्दिएको थियो । वि.सं. १९९४ सालमा दोस्रो रेल संचालन आयो । जयनगर, जनकपुरहुँदै महोत्तरीको बिजलापुरासम्म ५२ किमि । यसरी संचालन गर्दै आएको रेल पंचायती सरकारका पालामा बन्द भएपछि त्यसयता कुनैपनि सरकारले रेल संचालन गरिनुपर्दछ भन्ने ध्यान दिन सकेनन् ।

यस्तोमा बिदेशमा प्राविधिक रुपमा काम गरेको एउटा ठिटोलाई प्रधानमन्त्री ओलीले रेल संचालन गर्न जिल्ला पठाए । रेलको लिग राम्रो छैन । अनुभव छैन । संरचनाहरु ध्वस्त छन् । एउटा रेल पनि नेपालमा छैन । कर्मचारी त परै जाओस कार्यालयसमेत छैन । छ त केवल उर्जा मात्र । केही गर्छु भन्ने भावना । स्पष्ट दृष्टिकोण । मनको शक्ति लिएर बर्दिबासदेखि जनकपुर र जयनगरसम्म सयौं पटकको दौडधुपबाट अन्ततः भारतीय पक्षसँग बारम्बारको बैठक र छलफलपछि बल्लबल्ल रेल ल्याउन सफल भयो नेपाल रेल्वे कम्पनी लिमिटेड ।

यद्यपि खुलेआम रेल्वे कम्पनीका महाप्रबन्धक स्वीकार्छन, ‘कानुनी र भौतिक पुर्वाधारको अभावका कारण समयमै रेल संचालन गर्न नसकिएको हो । दक्ष जनशक्तिको अभाव, दुई देशका बीचमा हुने कतिपय सन्धि सम्झौताहरु र स्थानीय मानिसको अर्घेंल्याइँका कारण पनि ढिला हुन पुगेको म मान्छु ।’ उनका अनुसार ‘जतिसुकै अभाव भएपनि अब फागुन र चैत्रमा रेल चल्नेछ खासमा कोभिडका कारण पनि हाम्रो गुरुयोजनालाई प्रभावित पारेको हो’ । लिगमात्रै बनाइ दिएपछि रेल चलाउने प्राविधिकहरु र रेल भारतबाटै आउने भन्ने कुरा हुँदैन । रेलमात्रै भारतबाट आउने हो र तर चलाउने प्राविधकहरु नेपाली नै हुनेहुन । तिनीहरुलाई तालिम दिएर दक्ष बनाएर चलाउने योजना रहेको बुझिएको छ । खासमा रेल संचालन गर्न अहिलेलाई प्राविधिकसहितको २ सय २६ जना जतिकर्मचारी आवश्यक रहेको उनले बताए ।

यिनै योजना लिएर हिडेका रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धकलाई अमुक मान्छे लगाएर धम्याउने, तर्साउने काम गर्ने बातावरण नदिने खेल हुन थालेको कुरा पछिल्लो अडियो रेकर्डबाट पुष्टि हुन्छ । प्रधानमन्त्रीको गुरुयोजनालाई असफल बनाउन र रेल संचालनमा अवरोध र हतोत्साही गराउन तत्वहरु सक्रिय रहेको कुरा स्वयं भट्टराई बताउँछन् । तर मुख्यकुरा आफू अनुकूल कर्मचारी भर्ना गर्न र गराउन केही तत्वले महाप्रबन्धकलाई दबाब दिदैं आएको थियो । त्यो दबाब प्रदेश प्रमुखकै कार्यालयबाट आएको हो ।

अपराधको तथ्य बाहिर आएपछि सरकारले प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी डा. राजेश अहिराजलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । उहाँले हिजो मात्रै कार्यभार सम्हाल्नु भएको छ । प्रदेश प्रमुखकै सचिवालयबाट यस्तो हर्कत भएपछि सरकारले हटाउनु परेको हो । सरकारका सार्वजनिक सेवा कार्यालय र संस्थानहरुमा राजनीतिक पार्टीले आफ्ना कार्यकर्ता भर्तिकेन्द्र गराउने प्रचलन बहुदल आएपछि हुँदै आएको हो ।

जसका कारण देशका लोभलाग्दा कलकारखाना, संस्थानहरु जस्तै जनकपुर चुरोट कारखाना, हरिसिद्दी इँटा टाइल उद्योग, भृकुटी कागज कारखाना, लुम्बिनी चिनी उद्योग, हिमालसिमेन्ट कारखाना, ट्र्रलि सेवा, साझा यातायातजस्ता सरकारी स्वामित्वका उद्योग र संस्थानहरुमा तहस नहस भएको कुरा छिपेको छैन । यिनै कलकारखाना, उद्योग र संस्थान जस्तै रेल्वे कम्पनी लिमिटेडलाई राजनीतिक भर्तिकेन्द्र बनाई तहस नहस बनाउन राजनीतिक विचौलियाहरु लागिपरेका हुन । यसरी भर्ति गराएपछि भोली आन्दोलन गर्न, रेल बन्द गराउनलगायतका जायज नाजायज मागहरु थोपारि रेल सेवा नै बन्द गराउन गिरोह सक्रिय हुनथालेको हो ।

यिनै गिरोहलाई चिरेर गुरु भट्टराइले कसैका कुरा नसुनि अघि बढ्दा आएको धम्की हो । उनले विदेशमा काम गरेको अनुभव र संगठनात्मक संरचना र तरिकाहरु अपनाई कार्य गर्दा हस्तक्षेप हुनथालेको देखिन्छ र कम्पनीलाई तहस नहस बनाउन गिरोह सक्रिय देखिन्छ । यो धम्की पनि यसैको स्वरुप हो ।