जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १८:३४

स्रष्टाहरुनै भ्रमको सिकार बनेपछि..


हो, यो हो प्रज्ञा । तर हाम्रा पण्डितहरुलाई किताब कण्ठ छ । सूत्र र श्लोक फरर आउँछ तर शब्द आए पनि सार आउँदैन र सिर्जना र सन्दर्भ भ्याउँदैन । आवरणमा मार्क्सवादी अन्तर्यमा अधिभौतिकवादी विचार र चिन्तनबाट ग्रस्त देखिन्छ

प्रा.डा. बद्रीविशाल पोखरेल

प्रगतिशील तथा लोकतान्त्रिक स्रष्टाहरु प्रतिनिधिसभा विघटनपछि परस्पर दुई भिन्न कित्तामा उभिएका देखिन्छन । एकथरी विघटनलाई प्रतिगामी, पश्चगामी, प्राप्त उपलब्धी खोस्न वा संकुचित पार्न र मुलुकलाई अझै निरंकुसतातिर लैजाने कदम मान्छन । अझ उनीहरु अग्रगामी समाधान नखोजी विघटनलाई प्रथमिकता दिनु नाजायज भएको प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका छन भने अर्कातिर विखण्डनविरुद्धका स्वरहरु शीर्षक राखेर जनसाँस्कृतिक महासंघ सुनसरीको आयोजनामा स्रष्टाहरु संगठित विगतमा झैँ नेपालीहरुलाई नै प्रयोग गरेर तिनलाई अनेक लोभ लालचमा पारेर विशेषतः भारतीय शाषक र यसमार्फत नेपाललाई क्रमशः विखण्डनको डिलमा पुर्याएको इतिहास बताउँछन ।

सुनसरी मोरङ र झापाका प्रगतिशील तथा लोकतान्त्रिक प्रतिनिधिमूलक सर्जकहरुद्वारा समसामयिक सान्दर्भिक कविता, गीत वाचन गरेका थिए । उनीहरुले कार्यक्रमको मूल व्यानरमा निम्नानुसार कवितांश उल्लेख गरी सिर्जनात्मक स्वरहरु अभिव्यक्त गरेका थिए, जनप्रिय सरकारलाई गिराएरै छाड्ने । विदेशीको इसारामा विखण्डन रोज्ने, जनघाती, राष्ट्रघाती तह लगाउन । सिर्जनाको धुनी जगाउँ देश बचाउन ।

उपर्युक्त कवितांशले विगतदेखि नै पटक पटक घरका धन्धुकारीहरुलाई उपयोग गर्न खोजेर र गरेर नेपाललाई अस्थिरताको दलदलमा पार्दै अन्तिममा देशलाई विखण्डित गर्न खोजेको यथार्थ र वास्तविकता बताउँछ । पछिल्लो घटनाको कुरा गर्ने हो भने भारत प्रवासमा रहेका जननायक तथा भूतपूर्व प्रधानमन्त्री बीपी कोइरालालाई नै भारतीय शाषकले हामीले भनेअनुसार मान्ने हो भने तपाईंको देशमा हामी बहुदल ल्याइदिन्छौँ र तपाईंलाई प्रधानमन्त्री बनाइदिन्छौँ भनेर लोभ्याउँदा पनि उहाँ लोभिनु भएन । त्यसैले नेकपाका केही नितान्त निजी स्वार्थी तथा लालची नेताहरु बाह्य प्रभाव र दवावमा परी क्रमशः पार्टी, सरकारहुँदै देशलाई विखण्डनको धरापमा पार्ने नियतका साथ लागिपरेको विगतका धेरै घटनाहरु साक्ष्य रहेको विखण्डन विरोधी स्रष्टा बताउँछन र यस्तै देश र जनता विरोधी चिन्तन र चरित्रका कारण बाध्यतावस प्रतिनिधिसभा विघटन भएको यथार्थ अर्काथरी स्रष्टाहरु औँल्याउँछन ।

सरकारले अग्रगामी अन्य कदम नचाली विघटन रोजेको भन्ने विघटनविरोधी सर्जकहरु आफू कुनै अग्रगामी उपाय सुझाउन भने असमर्थ देखिन्छन । संसदीय अभ्यासमा बाध्यतावस मध्यावधि निर्वाचनमा जानु वा जनगमन गर्नुलाई प्रतिगमन भन्न मिल्दैन र सुहाउँदैन । प्रधानमन्त्री ओली र यो सरकार अलोकप्रिय हो भने त आफूलाई लोकप्रिय मान्ने र ठान्ने नेता किन जनगमनदेखि तर्सिएका होलान र केवल कुर्सी गमनमा ज्यान फालेर लागेका हुन ? विघटन विरोधी स्रष्टाहरुले भनेझैँ यथास्थिति कायम हुँदा भोलिका दिनमा तीन वा चार दल मिलेर बनेको सरकारमा विगतको सांसद् खरिदबिक्रिसम्मको चरम सरमको अवस्था आउन दिनु अग्रगामी उपाय हुन्थ्यो र ? आफूसमेत सरकारमा सहभागी तथा आफ्नै पार्टीको सरकारले चुच्चे नक्सा जारी गरेको भोलिपल्छ ओलीको राजिनामा स्वतः परिचालित तथा प्रायोजित देखिन्छ ।

यही प्रसंगमा वीपी विरासद पक्षधर लोकतान्त्रिक स्रष्टाहरु नेपाललाई कुनै पनि थिचोमिचो, हेलाहोचो हुन नदिन र सिक्किमीकरण हुन नदिनसमेत ज्यानको बाजी लगाएर भारत प्रवासबाट नेपाल आउनु भएका जननायक तथा भूतपूर्व प्रधानमन्त्रीको चिन्तन र चरित्रविपरीत सडकको तडकभडक सिर्जनामा रमाउनु संगतिपूर्ण देखिएन । अझ नेका नेता डा. चन्द्र भण्डारीका अनुसार भारत अतिक्रमित नेपालको पश्चिमी भूभाग नेपाली नक्सामा समावेश गरेका कारण प्रधानमन्त्री ओलीलाई भारतीय शासकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्थ गर्छन भन्ने किटानी कुरा र त्यसको अन्तर्य स्रटाहरुले बुझ्न जरुरी देखिन्छ ।

विखण्डन विरुद्धका स्वरहरु सम्बद्ध स्रष्टाहरु भने केही उपल्ला तहका भनिएका प्रगतिशील तथा लोकतान्त्रिक नेपाली सर्जकहरुमा इतिहास चेत र सामाजिक सचेतनाका कमजोरीका कारण यथार्थको सक्रिय प्रतिविम्वन गरिरहेको पाइँदैन भन्छन । प्रगतिशील तथा लोकतान्त्रिक स्रष्टाहरुका सकार पर्याप्त छन तर तिनमा इतिहास चेतका कतिपय सबालमा गम्भीर कमजोरी देखिन्छन । महामना डा.मोदनाथ प्रश्रितले प्रसिद्ध समालोचक निनु चापागाईंसमेत सहभागी ठूलै संख्यामा चीन भ्रमण दलमा सम्मिलित वरिष्ठ लेखकका रोचक अनुभव यस लेखकलाई सुनाउनु भएको थियो ।

प्रश्रितले इतिहास चेतका दृष्टिले कमजोर रहेको भ्रमण दलका सर्जकहरुलाई साँक्षी राखेर भ्रमण गरिएका सबै प्रान्तका सबै उमेर समूहका प्रतिनिधि चिनियाँ जनतालाई तपाईंहरुको देशका चार वा पाँच सम्मानित नेताको नाम सोध्दा सबका सबले विशाल चीनको एकीकरणकर्ता तत्कालीन सम्राट सी ह्वह्वाङ, माओ त्से तुङ र तेङ सियाओ पिङसहित नेताको सगर्व नाम उच्चारण गरेको यस लेखकलाई बताउनु भएको थियो । स्वयं माओ आफ्नो देश एकीकरण गर्ने सम्राटलाई सलाम गर्थे ।

आम चिनियाँ जनता जात, जाति, धर्म, वर्ण, वर्ग, लिंग, नाक र नश्लको संकीर्ण घेराबन्दीमा नपरी देशको निर्माण, उत्थान र समृद्धिमा समर्पित नेताहरुलाई सगौरव सम्मान गर्दारहेछन । तर नेपाली विद्वान भनिनेहरु क्रान्तिकारी हुने नाममा भ्रान्तिकारी हुन उद्यत देखिन्छन । तिनले नेपाल र नेपाली हुनुमा सर्वाधिक गर्व गर्ने विषय अर्थात नेपाल एकीकरण, यसमा बलिदान गर्ने नरनारी र यसका मूल अभियन्ताप्रति अहिले पनि कटु कटाक्ष गर्छन । इतिहास र समाजका सकारात्मक पक्षको जगेर्ना गर्नु पर्ने सही माक्र्सवादी सोचविपरीत कतिपय माक्र्सवादी स्रष्टाहरु भडकाउमा रहेको टीठलाग्दो दृष्य देख्नुपरेको छ ।

माओका अनुसार कुुनै पनि समाजमा शाषकका विचार, चिन्तन र संस्कृति प्रभावी हुने गर्छ र यसको कुप्रभाव प्रगतिशील वा अन्य स्रष्टा, लेखक तथा बुद्धिजीवीमा लामो समयसम्म रहिरहन्छ । त्यसको ज्वलन्त उदाहरण संघीय लोकतान्त्रिक गणतन्त्र कालको नेपालमा टड्कारो रुपमा देखिन्छ । यसमा आफैँले सचेतता नअपाउने हो भने भोलिका दिनसम्म पनि उपर्युक्त खाले पछौटे चिन्तन, चेत र चरित्र बाँकी रहने देखिन्छ ।

भन्नलाई आफू प्रगतिशील वा प्रगतिवादी भन्ने तर बिरालो बाँध्ने संस्कारका अनुयायी बन्ने संस्कार स्रष्टाहरुमा पाइन्छ । कार्लमार्क्स कण्ठै पार्ने तर मार्क्सवादी सिर्जनात्मक सोच र व्यवहार ठ्याम्मै नहुने विसंगति यत्रतत्र पाइन्छ । मार्क्सवाद कण्ठ पार्ने तर त्यसका आलोकमा नवीन सिर्जनात्मक क्षमता भने भुत्ते हुने रोग व्याप्त देखिन्छ । त्यसैले मार्क्सले झैँ धर्म र धार्मिक व्यक्तित्व र कृतित्वलाई खुट्टाले टेकाउने सिर्जनात्मक ज्ञान पलाउन सकेन । गाली गर्न सिक्यो, गुणग्रहण गर्न जानेन । पढ्न पढ्यो, त्यसलाई सिर्जनात्मक रुपमा आफैँले आत्मसात गरेन । यही कुरालाई मध्यनजर राखेर प्रधानमन्त्री ओलीले ‘यस्य नास्ति स्थित प्रज्ञा, तस्य शास्त्र करोति किम’ भन्दै अथ्र्याउन खोज्नुभएको थियो । प्रज्ञा भनेको त प्रकृष्ट, विशिष्ट, सिर्जनशील, गहन तथा नवीन सोच र सिर्जनात्मक ज्ञान हो । कार्लमार्क्सले टाउकाले टेकेको हेगेलको द्वन्द्ववादलाई खुट्टाले टेकाउनु भएको हो । हो, यो हो प्रज्ञा । तर हाम्रा पण्डितहरुलाई किताब कण्ठ छ । सूत्र र श्लोक फरर आउँछ तर शब्द आए पनि सार आउँदैन र सिर्जना र सन्दर्भ भ्याउँदैन । आवरणमा मार्क्सवादी अन्तर्यमा अधिभौतिकवादी विचार र चिन्तनबाट ग्रस्त देखिन्छ ।

जसले नेपाल र नेपाली हुनुमा गर्व गर्र्दैन र त्यसमा दुराग्रह राख्छ भने यस्ता खोटपूर्ण सोचले अरु कसैको राम्रो कामलाई राम्रो देख्दैन र भन्दैन । आग्रह र आदतको दास भयो भने उसले भिन्न राजनीति, विचार र व्यक्तित्वको राम्रोलाई राम्रो भन्दैन । जसले अरु पार्टी राजनीति र व्यक्तिलाई सदा धारेहात लगाएर पार्टी र अन्य खालका अनेक समूह र सम्प्रदाय निर्माण गरेको हुँदा र यसखालका प्रशिक्षणद्वारा प्रशिक्षित हुँदा यसैको कुप्रभावमा पर्ने खतरा हुन्छ । यस खालका कुप्रभावमा परी अनर्गल विचार प्रवाह गर्ने कथित विज्ञको कमी छैन । यसखालको भ्रमित प्रशिक्षणले भिन्न विचार र व्यक्तित्वको सकार देख्न सक्दैन ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको संयुक्त जन आन्दोलनको सही नीति धेरैले बेलैमा नबुझ्नुको कारण नै यही हो । बीपी कोइरालाले लिएको राष्ट्रवादी अडान समयमै बोध गर्न नसक्नुमा पनि यही कारण रहेको छ । अनि प्रधानमन्त्री ओलीले तुलनात्मक रुपमा लगभग तीन वर्षका अवधिमा देश र जनताका हितमा गरेका उल्लेखनीय कामहरु केही पनि नदेख्नुमा कतिपय नेता, जेता र स्रष्टाको होइन, तिनका भ्रमित गति, मति र नियति नै प्रमुख कारण रहेको देखिन्छ । तर सामाजिक सञ्चेतनालाई समग्र रुपमा सक्रिय प्रतिबिम्बन गर्ने हो भने सरकारले तुइन विस्थापित गरिएका, छात्रवृत्ति पाएर पढिरहेका लाखौँ दलित, अपाङ्गता भएका तथा लक्षित वर्गका विद्यार्थीसम्म पुग्नुपर्छ । निशुल्क प्याड पाएका हजारौं छात्राहरुको आवाज सुन्नुपर्छ । काठमाडौं उपत्यकाको खाल्टो मात्र नेपाल होइन । यत्ति साँघुरो खालको सामाजिक सञ्चेतनाले समग्र समाजको सक्रिय प्रतिबिम्बन किमार्थ हुनसक्दैन । केवल आफ्ना अनेक खालका आग्रह र असन्तुष्टि मात्र प्रवाह गर्नु मात्र कला साहित्य होइन । एउटा स्रष्टा देश र जनताको प्रतिपक्ष हुँदैन, हुनुहुँदैन । आफूलाई मार्क्सवाद, द्वन्द्ववादी भन्ने सर्जकले जसकसैका ससाना वा ठूला उपलब्धि र प्राप्तिलाई जगेर्ना गर्नुपर्छ । मात्रा नभई गुण हुँदैन ।

सरकारले दूरदराजका विद्यालयहरु गरेको आवासीय सुविधाको व्यवस्था ५० हजार विद्यार्थीलाई प्राविधिक शिक्षा उपलब्ध गराएको अवस्था, ८३ हजार युवाहरुलाई विभिन्न सीपमूलक तालिम दिएको स्थिति, प्रत्येक जिल्लामा एक प्रविधिक धारको आंगिक क्याम्पसको व्यवस्था जस्ता अनेक विकास निर्माणका काम र गत दुई वर्षमा मात्र ३ सय २५ वटा सडक पुल निर्माण भएको पनि नदेख्ने स्रष्टालाई द्रष्टा चेत कमजोर लेखक भन्नु पर्ने हुन्छ । रुख देख्ने, जंगल नदेख्ने अनि जंगल देख्ने, रुख नदेख्ने खालका अतिवादको भ्रममा पर्दा आखिरमा स्रष्टाले आफैँलाई पनि एक दिन नदेख्न सक्छ ।

इतिहासकै गर्भबाट वर्तमानको जन्म हुन्छ । इतिहास भत्काएर बर्तमान बन्दैन । इतिहास चेतनाका अभावमा जीवन जगतका यथार्थ र वास्तविकताको बोध हुनसक्तैन । मानव जीवनका समग्र र सही सूचनाले मात्र वर्तमान र भविष्यको यात्रा तय गर्न सहज हुन्छ । मार्क्सले सामाजिक, आर्थिक, दर्शनिक, सांंस्कृतिक र ऐतिहासिक पक्षको विगत इतिहासको गहन ज्ञान खाएर मार्क्सवादको निरुपण गर्नुभयो । इतिहासको समग्र र सही ज्ञानले मात्र इतिहासका भुल, भ्रम र अन्यौललाई सच्याउन सकिन्छ । ऐतिहासिक सत्यलाई कुनै पनि आग्रह, दुराग्रह र बहानामा भुल्न र मेट्न सकिँदैन ।

हिजोका दिनमा नेपालको संविधान जारी गर्न नदिन दवाव र प्रभाव पार्नेहरुका मतियार बनेर प्राप्त उपलब्धि जोगिन्न । माक्र्सवादी सैद्धान्तिक सतही ज्ञानले मात्र कुनै पनि नेता र स्रष्टा शुद्धबुद्ध हुनसक्तैन । तनको मैलो साबुनले धोएर जान्छ तर मन र मस्तिष्कमा बसौँदेखि कटकटिएर दर्सन ढुङ्गा सरह जब्बर बनेर बसेको पछौटे चिन्तन माओले झैँ बारबार र हजारबार अध्ययन, पठन, मनन र चिन्तन गरेर मात्र घटाउन र हटाउन सकियो भने मात्र उपलब्धिको जगेर्ना हुनसक्छ । अहिले स्रष्टाहरुमा सरकारबिरुद्ध मिसन चलाउने जे जे हर्कत देखिदै छ, त्यस्ले कसैको भलो गर्दैन ।