जनता टाइम्स

१६ असार २०८२, सोमबार ०९:३२

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा


बलेवा (बागलुङ), १६ असार।  स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको अभाव थियो ।

मूलबाटै आउने भएर पनि पिउनका लागि समस्या भएपछि शुद्ध बनाउने विधिको खोजीमा रहेका विद्यालयले पहिलो पटक नयाँ विधिले पानी खान थालेका छन् । गलकोटका १५ विद्यालयमा १६ ‘आरो विधि’को खानेपानी जडान गरिएको छ ।

यो विधिले पानीको शुद्धिकरण गरेर सिधँ धारोबाटै पिउन योग्य बनाइएको छ । पानी परीक्षण गरेपछि शुद्धिकरणको सुझाव आएको थियो । सो सुझाव अनुसार मूलको पानीलाईसमेत पिउन योग्य बनाइएको हो । गलकोट नगरपालिकाले चालु वर्षको रु २० लाखको लागतमा माध्यामिक तह सञ्चालन भएका सबै विद्यालयमा यो विधिको धारा निर्माण गरेको हो । पहिलो चरणमा मावि तहका विद्यालयमा सञ्चालन भएको यो विधि क्रमशः सबै विद्यालयमा पु¥याउने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

‘हरेक बालबालिकाले शुद्ध पानी पिउन पाउनुपर्छ भन्ने मान्यताले यो विधि जडान गरेका छौँ’ उहाँले भन्नुभयो, “एउटै विद्यालयमा आधादर्जन धारा जोडिएका छन् । ती धारा अपाङ्गताग र बालमैत्री समेत छन् । दुई वर्षअघि गलकोटले बालमैत्री नगर घोषणा गरेको थियो । बालमैत्री नगर दिगोपनाका लागि आवश्यक सूचक पूरा गर्दै लैजाने क्रममा शुद्ध पानीको आवश्यकता देखेर लगानी गरिएको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताउनुभयो ।

यसअघि अधिकांश बालबालिकाले सिधैँ मूलको पानी खाने गर्थे । प्राविधिक रुपमा परीक्षण गर्दा ती पानीका मुहान पनि आवश्यकता अनुसारको शुद्धता नपाएपछि हरेक विद्यालयमा कम्तीमा दुई ट्याङ्की राखेर पानी वितरण गरिएको छ । गलकोट माविमा भने विद्यार्थी सङ्ख्या धेरै भएकाले यहाँ भने अन्य विद्यालयको जस्तै दुईवटा प्लान्ट जडान भएको छ । ‘विद्यार्थी सङ्ख्याको आधारमा पनि गलकोट माविमा पानी नपुग्ने भएपछि दुईवटा प्लान्ट जोडेका छौंँ’ भण्डारीले भन्नुभयो, “यो विधि अब सबै विद्यालयमा लैजाने लक्ष्य छ ।” यो विधिको पानी खान पाएपछि पूर्ण स्वास्थ्य र पूर्ण सरसफाइको सूचकमा पनि गलकोट अब्बल बन्ने उहाँले बताउनुभयो । बालमैत्री नगर घोषणापछि दिगोपनाका लािग धेरै प्रकारका सूचक पूरा गर्नुपर्ने कानुनी र व्यवहारिक बाध्यता छन् । ती सूचक भौतिक निर्माण, शिक्षा र स्वास्थ्यमा बढी छन् । स्वास्थ्यमा त शद्ध पानी खाने विधि नै पहिलो भएकोले यो लगानी गरेर बालबालिकालाई वितरण गरिएको गैरेले बताउनुभयो ।

बालमैत्री नगर घोषणा अघि वडा तहमा पूर्ण सरसफाइ घोषणा पनि सुरु भएको थियो । अझै त्यो अभियान भने पूरा भएको छैन । तर खानेपानीका मुहान शुद्ध बनाएर हरेक घरमा वितरण गरिने पानीलाई शुद्धिकरण गर्ने काममा भने नगरपालिकाले योजना पनि बनाइरहेको हो । एक घर एक धारा अभियानमा पनि गलकोटले सफलता पाउन लागेको छ । ग्रामीण बस्तीमा बाहेक बजार क्षेत्रमा भने हरेक घरमा धारा, शौचालय र सरसफाइका सूचक पूरा भइसकेका छन् ।

त्यस बाहेक शिक्षामा गुणस्तर बढाउने अभियानमा पनि नगरपालिकाले काम गरिरहेको छ । भौगोलिक रुपमा टाढा भएका बस्तीका बालबालिकालाई आवास व्यवस्थापन गर्ने काम पनि गरेको छ । गलकोट माविमा बालिकालाई महिनावारी भएको समयमा नुहाउने र कपडा फेर्ने कोठासमेत बनाइएको छ भने महेन्द्र मावि नरेठाँटीले सहरी विकास कार्यक्रममार्फत आधुनिक शौचालय र स्नानगृहसमेत बनाएको छ । बजेट र आवश्यकता अनुसार अन्य विद्यालयमा पनि यो विधि लैजाने लक्ष्य राखेको नगरप्रमुख गैरेले जानकारी दिनुभयोे ।