जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १६:०७

‘नेपाली उत्पादनको ब्राण्डिङ गर्न आवश्यक’


काठमाडौं, जेठ २३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै यस्ता उद्योगहरुको ब्राण्डिङमा जान सुझाव दिनुभएको छ ।

बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को कार्यक्रमा उहाँले – ‘नेपालीको क्रयशक्ति बढेको छ हामी ब्राण्ड खोज्छौं, तर विना ब्राण्डका नेपाली उत्पादन हेर्ने वित्तिकै मनपर्दैन त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’

मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने भन्दै उहाँले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।

आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भन्नुभयो –‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्धिका लागि हो ।’