जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार ०७:४९

देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने



काठमाडोै, बैशाख २४  । देशभर आज (शुक्रबार)को मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने माहाशाखाले बताएको छ ।अझै तीन दिन मौसम पूर्णरुपमा नखुल्ने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । अहिले प्रदेश एक, दुई र वाग्मती बाहेक अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । चितवनसहित पश्चिममा बादल लागेको छ । त्यस्तै काठमाण्डौ उपत्यकामा पनि अहिले बादल लागेको छ ।

दिउँसोपख काठमाण्डौ उपत्यकामा पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै आज बेलुका र राति प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र अरु ठाउँमा आंशिक बद्ली रहने महाशाखाले जनाएको छ । केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।