१३ जेष्ठ २०७८, बिहीबार ००:००

प्रतिनिधिसभा विघटन : भ्रम र यथार्थ


यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन संबैधानिक र कानुनीरुपमा स्वभाविक देखिन्छ । राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रवाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनबाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो । मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुख प्रतिपक्षी दलका नेताहरुले समेत पटक पटक स्वीकार गरेको देखिन्छ । कस्को नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन, संवैधानिक र कानुनी व्यवस्थाका आधारमा हुने हो । जुनकुरा केपी शर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ

शंकर पोखरेल

संविधानको धारा ७६ (३)अन्तरगतको सरकारमा जसपा तटस्थ रहने हुँदा बहुमतको सम्भावना नरहने स्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नुभएको अवस्थामा सम्माननीय राष्ट्रपतिवाट धारा ७६ (५) अन्तरगतको सरकार गठनका लागि प्रस्ताव माग भएको,

धारा ७६ (५) अन्तरगतको सरकार वस्तुतः चुनावी सरकार हुनेभएका कारण जसपा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइ पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेतावाट संयुक्त रुपमा समर्थनको पत्र प्राप्त भएको,

दलको प्रतिनिधित्व दलको नेताबाट हुने संसदीय परम्परा अनुसार नेकपा (एमाले) को १२१ र जसपाको ३२ प्रतिनिधिसभाका सदस्य रहेको र उक्त संख्या प्रतिनिधिसभाको स्पष्ट वहुमत पुग्नेहुदा सम्माननीय प्रधानमन्त्रीवाट सरकारको पुनः नेतृत्वको दावी भएको,

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पार्टी औपचारिक रुपमा विभाजन नभएको र वैधानिक रुपमा विभाजन हुनसक्ने अवस्था समेत नरहेको स्पष्ट हुँदाहुँदै नेकपा (एमाले) का २६ र जसपाका १२ प्रतिनिधिसभा सदस्यको हस्ताक्षर प्रयोग गरी प्रधामन्त्रीमा दावी गर्नुभएको, दुवैपक्षवाट धारा ७६ (५) को प्रकृया स्वीकार गरी प्रस्ताव प्रस्तुत भएको,

दलीय हिसावले केपी शर्मा ओलीको दावी बलियो रहेको, तर उक्त प्रस्ताव अन्तरगतका केही सदस्यहरुको समर्थन देउवाजीको प्रस्तावको पक्षमा देखिएको । देउवाजीको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कतिपयले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भनेर सार्वजनिक गरेको, साथै विश्वासको मतको प्रयोजनमा उक्त सबै संख्या प्रयोग हुने वैधानिक सुनिश्चितता नरहेको स्थिति,

नेकपा (एमाले) र जसपाका तर्फवाट देउवाजीको समर्थनमा रहेका प्रतिनिधिसभाका सदस्यहरुलाई कारबाही गरिने जानकारी राष्ट्रपतिलाई गराइएको अवस्थामा के कति संख्यामा कारवाही हुने हो भन्ने कुरा एकिन नभएको स्थितिमा सम्माननीय राष्ट्रपतिवाट दुवै प्रस्ताव वहुमत पाउने सुनिश्चितता नरहेको महसुसगरी अस्विकृत भएको,

सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्तरगतको सरकार गठनका सन्दर्भमा प्रस्तुत भएका प्रस्तावहरु अस्वीकृत भएको स्थितिमा धारा ७६ (७) अन्तरगतको परिस्थिति स्वतः उत्पन्न भएको,

यस्तो स्थितिमा यस पटकको प्रतिनिधिसभा विघटन सम्माननीय केपीशर्मा ओलीका कारणले नभइ धारा ७६ (७)को वाध्यात्मक परिस्थितिका कारणले हुन गएको,

प्रतिनिधिसभा पुनःस्थापित हुने संवैधानिक र कानुनी आधार नभएको अवस्थामा विघटित प्रतिनिधिसभाका जिम्मेवार सदस्यहरुका तर्फवाट सर्वोच्च अदालतमा गएर दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने काम भएको,

प्रतिनिधिसभा पुनस्थापित हुँदाको अवस्थामा नेकपा (एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरुलाई कारवाही गर्दा देउवाजीको पक्षमा बहुमत नपुग्ने अवस्था रहेको,

नेपालको संविधान दलीय प्रणालीमा आधारित रहेको र कानुनतः जननिर्वाचित प्रतिनिधिहरु पार्टी र दलको अनुशासनमा रहनुपर्ने वाध्यकारी व्यवस्था गरिएको । दल विभाजन गर्दा पार्टी र दलका ४० प्रतिसत सदस्यको समर्थन आवश्यक पर्ने वाध्यात्मक कानुनी प्रवन्ध विद्यमान रहेकोमा स्थितिमा विद्रोहले कानुनी वैधता पाउने स्थिति नरहेको,

यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन संबैधानिक र कानुनीरुपमा स्वभाविक देखिन्छ । राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रवाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनबाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो । मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुख प्रतिपक्षी दलका नेताहरुले समेत पटक पटक स्वीकार गरेको देखिन्छ । कस्को नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन, संवैधानिक र कानुनी व्यवस्थाका आधारमा हुने हो । जुनकुरा केपी शर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ ।

जहाँसम्म जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ, त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।

तर नेपाली राजनीति सत्ता विरोधी मानसिकतावाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति वढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो । तर त्यसवाट नेपाली राजनीति नै बहुआयामिक द्वन्द्वको शिकार वन्नु पर्यो । अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ । जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभावाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिदैन । म लोकतन्त्रका लागि लडेका सबै नेताहरुलाई यस विषम परिस्थितिमा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दछु ।