जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १५:३९

कोरोना कहर : न्यूयोर्कदेखि नेपालसम्म नियाल्दा



प्रथम संक्रमणको लहर चल्दा म अमेरिकाको व्यस्त सहर न्यूयोर्कमा थिए भने दोस्रो लहरमा मैले मातृभूमिकै राजधानी सहर काठमाडौँ मै बसी डर त्रासका बीच मनोबल उच्च राखी यसका गतिविधिहरू नियाली रहेको छु । स्वास्थ्य विज्ञहरूका अनुसार प्रथम लहर भन्दा यो दोस्रो लहर तीव्र गतिमा फैलने र विभिन्न देशका भेटियन्टहरु रहेको कारण अनेक किसिममा लक्षणहरू पनि देखिने, रोगले बढी च्याप्ने, तुरुन्तै फोक्सोमा निमोनिया हुन गई शरीरमा अक्सिजनको मात्रा कम हुने र समयमै अस्पताल नपुर्याउँदा मृत्यु भएका घटना धेरै देखिएका छन । पुराना बिरामी, दीर्घ रोगी तथा वृद्धहरूलाई संक्रमण हुने सम्भावना बढी देखिए पनि दोस्रो लहरमा संक्रमणवाट मृत्यु हुने युवाहरूको संख्या उल्लेख्य देखिन्छ

विनोदकुमार पोख्रेल

कोरोनाको महामारीले विगत १८ महिनादेखि विश्व आक्रान्त भैरहेको वेला अहिले सबैभन्दा बढी प्रभावित भारत रहेको छ । नेपालमा पनि संक्रमणको दर घटदै गएता पनि चार सातामा लकडाउनमै समेत रोकिएको छैन । त्यसैगरी दक्षिण अमेरिकी राष्ट्रहरू, फ्रान्स, रसिया, जर्मनीलगायत केही युरोपियन राष्ट्रहरू, इरान, इराकलगायत केही खाडी राष्ट्रहरु तथा फिलिपिन्स, जापान, इन्डोनेसिया, मलेसियालगायत केही पूर्वी एसियन राष्ट्रहरूमा समेत यसको संक्रमण गति रोकिएको छैन । अहिलेसम्म विश्वको जनसंख्याको आधारमा विश्लेषण गरेर हेर्दा विश्वको कूल जनसंख्याको २.१६प्रतिशत (१७ करोड ०१ लाखभन्दा बढी) लाई कोरोना संक्रमण भएको देखिन्छ भने कुल संक्रमित मधे औसत रूपमा २.०८ प्रतिशत (३५ लाख ३७ हजार भन्दा बढी) मृत्यु भएको रेकर्ड देखिन्छ ।

अहिले सम्म सबैभन्दा बढी संक्रमित देश अमेरिका रहेको छ, जहाँ करिब ३ करोड ४० लाख संक्रमित भैसकेका छन भने ६ लाख ८ हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यसैगरी भारतमा २ करोड ७७ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने करिब ३ लाख २२ हजार भन्दा बढीको ज्यान गईसकेको छ । तेस्रो प्रभावित देश ब्राजिलमा १ करोड ६३ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने ४ लाख ५९ हजार भन्दा वढीको ज्यान गइसकेको छ । त्यसैगरी बिश्वका २८ देशहरुमा दश लाख भन्दा वढी संक्रमित रहेका छन भने अमेरिका, ब्राजिल, भारतलगायत ८ वटा देशमा १ लाख भन्दा बढी जनताले संक्रमणवाट ज्यान गुमाउनु परेको छ । नेपाल बढी संक्रमण हुने देशमध्ये ४१ औं नम्बरमा पर्दछ । जहाँ अहिलेसम्म ५ लाख भन्दा बढी संक्रमित भैसकेका छन भने ७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन र अहिलेसम्म सक्रिय संक्रमित १ लाख १३ हजार रहेको तथ्यांक छ ।

चाईनाको वुहान प्रान्तबाट सुरु भएको यस रोग सन २०१९ को डिसेम्बरको अन्तसम्म त्यहाँ करिब दर्जन भन्दा बढी मान्छेमा संक्रमण भैसकेको थियो र जनवरी ११, २०२० मा कोरोना भाइरसबाटै ६१ वर्षीय व्यक्तिको पहिलो मृत्यू भएको थियो । जब यो भाइरस बुहानमा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन थाल्यो यसको चेन ब्रेक गर्नको लागि सरकारले वुहानलाई पुर्ण रुपमा लकडाउन गरेको थियो । त्यसैगरी ३० जनवरी, २०२० मा विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गर्दै सारा विश्वलाई सचेत गराएको थियो र फेब्रुअरी ११, २०२० मा कोरोना भाइरसलाई कोविड–१९ नामाकरण गरिएको थियो ।

यसरी चीनबाट सुरु भएर जापान, दक्षिण कोरिया, थाइल्यान्डहुँदै युरोप तथा विश्वका धेरै देशहरूमा फैलने क्रम सुरु भएको हो । यसै क्रममा जनवरी २०, २०२० मा पहिलो पटक अमेरिकाको वासिङ्टन राज्यमा एक जना ३५ वर्षीय पुरुषलाई यो रोग पहिलो पटक प्रमाणित भएको थियो । अमेरिकामै कुनै ट्राभल हिस्ट्रिसमेत नभएको कोरोनाबाट पहिलो व्यक्तिको मृत्यू फेब्रुअरी २९ मा वासिङ्टन राज्यकै किर्किल्यान्ड भन्ने सहरमा भएको थियो । सोही सहरको नजिकै अर्को अस्पतालमा केही दिन अघि फेब्रुअरी २६ मा दुई जनाको समेत मृत्यु भएको थियो उक्त घटनालाई पछि पहिलो घटना भनेर रेकर्ड गरिएको थियो भने फेब्रुअरी ५ मा सान्ता क्लारामा भएको एउटा मृत्यु पनि कोबिड–१९ बाटै भएको हुनसक्ने भन्दै उक्त मृत्यु अमेरिकामा पहिलो हुन सक्ने भनिएको थियो ।

यसरी अमेरिकाको पूर्वी राज्यहरू वासिङ्टन र क्यालिफोर्नियामा कोरोनाबाट आफ्नो नागरिकको मृत्यु भइसक्दा पनि विश्वका मान्छेहरूकै गन्तव्य तथा व्यस्त सहर न्यूयोर्कमा नियन्त्रणको कुनै चासो नराख्दा मार्च १, २०२० मा न्यूयोर्कमा पहिलो कोरोना टेस्ट प्रमाणित भयो । त्यसपछि अमेरिकी सरकार केही झस्किएको थियो र यसका नियन्त्रणका उपायहरू खोज्दै थियो । विश्वको आर्थिक तथा व्यापारिक केन्द्रकै रूपमा रहेको, विश्वका धरै देशहरूको सिधा हवाई सञ्जाल जोडिएको, विश्वकै आप्रवासी हरुको घना बस्ती रहेको, हरेक साना साना सहरहरूमा समेत सार्वजनिक यातायातको पहुँच भएको न्यूयोर्क जस्तो व्यस्त सहर नियन्त्रण त्यति सहज त थिएन नै तथापि प्रारम्भिक दिनहरूमा विशेष सतर्कता पनि अपनाइएको थिएन । फलस्वरूप मार्च १४, २०२० मा न्यूयोर्कमा पहिलो पटक कोरोनाबाट एक ८२ वर्षीय महिलाको मृत्यू भएको घोषणा गरिएको थियो भने उक्त दिनसम्म न्यूयोर्क ५२४ जनालाई कोरोना संक्रमित भएको प्रमाणित भैसकेको थियो । सोही घटनाको पूर्वजानकारी भए पश्चात मार्च १३ मै अमेरिकी राष्ट्रपतिबाट देशभर राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको थियो ।

छिमेकी राष्ट्र चाइनाबाट सुरु भएको संक्रमण जसलाई महामारी घोषणा गरिएको थियो, नजिकै रहेको छिमेकी देश नेपाल अछुतो रहने कुरो भएन । फलस्वरूप चाईनाको बुहानवाटै फर्केका एक नेपालीलाई जनवरी २४, २०२० (माघ १०, २०७६) मा नेपालमा पहिलो पटक कोरोना पुष्टि भएको थियो भने १६ मे, २०२० (जेठ ३, २०७७) मा सिन्धुपाल्चोक कि एक सुत्केरी महिलाको कोरोना भाइरसवाट मृत्यु भएको पुष्टि भएको थियो । उनी केही दिनअघि काठमाडौंस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन । उक्त अवधिसम्म नेपालमा २८१ जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको थियो । यस अवधिमा नेपालका दुई विशाल छिमेकी देश चीन र भारतमध्ये चीनमा नियन्त्रण उन्मुख थियो भने भारतमा द्रुत गतीमा फैलिएको थियो । फलस्वरूप नेपालले यसअघि नै चैत्र ११, २०७६ (मार्च २४, २०२०) देखि राष्ट्रिय स्तरमै लकडाउन गरी नियन्त्रण प्रयास गरिरहेको थियो । सीमा नाकाहरू तथा राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएका थिए। एउटा मात्र सरुवा रोग अस्पताल टेकुमा नमुना सङ्कलन गरी विदेशबाट मात्र परीक्षण हुने तत्कालीन अवस्थालाई सुधार गर्दै आफ्नै देशमा नमुना परीक्षण हुने व्यवस्था गरेको थियो र अहिले देशमा करिब ८०–८५ स्थान बाट नमुना परीक्षण हुने व्यवस्था गरिएको छ भने अस्पताल स्वास्थ्य केन्द्रहरु प्रसस्तै थपिएका छन ।

नेपालका नागरिकहरू भारत खाडीलगायत धेरै देशहरूमा वैदेशिक रोजगारमा थिए । जब यो कोरोना महामारी सुरु भयो ती देशहरूमा पनि लकडाउन सुरु भयो। देशका सीमा नाकाहरू बन्द रहेका कारण एकातर्फ वैदेशिक रोजगारमा गएका नागरिकहरू मातृभूमि फर्किन चाहनेलाई फर्काउनु पर्ने बाध्यता थियो भने बाहिरबाट आएकाहरूबाट संक्रमण नफैलियोस भनी सचेत हुन जरुरी थियो । चाटर्ड फ्लाइटमार्फत हवाई मार्गवाट आउनेलाई प्रस्थान विन्दु मै कोरोना टेस्टको रिपोर्ट लिएर यहाँ एयरपोर्टबाटै क्वारेन्टाईनमा राख्ने व्यवस्था पनि गरियो तर पछि नागरिकको चाहना र राज्यको क्षमताले नभ्याउँदा आफ्नै घरमा सेल्फ क्वारेन्टाईन बस्ने व्यवस्था पनि भयो । तर स्थलमार्ग विशेष गरी भारतवाट आउनेहरू सीमानाकामा रोकिएका थिए । खुला सिमानामा जम्मा भएका नागरिक आफ्नो मातृभूमिलाई टुलुटुलु हेरेर कसरी बस्न सक्थे र ? रात विरात लुकीछिपी समेत देशभित्र प्रवेश गरिहेका थिए भने नागरिक समाज तथा राजनैतिक दलहरू जसरी भए पनि आफ्ना नागरिक लाई देशभित्र प्रवेश गर्न दिनु पर्ने पक्षमा थिए । अन्ततः सरकारले प्रदेशहरू सँग समन्वय गर्दै प्रदेश सरकार तथा स्थानीय निकायले सिमानाकामा चेकजाँच गर्दै सम्भव भएसम्म क्वारेन्टाईन राख्दै आआफ्नो घर जाने बन्दोबस्त गरेको थियो । यसरी गर्दा कोरोना नियन्त्रणको व्यवस्थापन अपेक्षित हुन नसके तापनि जनचेतना तथा विविध कारणले महामारीको जुन भयावह स्थितिको कल्पना गरिएको थियो त्यो हुन सकेको थिएन ।

गत वर्ष २०७७ को चैत्र मसान्तसम्मको अवस्था हेर्दा जम्मा २ लाख ८० हजार ९८४ केस प्रमाणित भएका थिए भने सोमध्ये २ लाख ७४ हजार ३१८ जना रिकभर भई ३ हजार ६०८ उपचारथ थिए । यस अवधिमा कोराना संक्रमणबाट ३ हजार ५८ जनाको मृत्यु हुन गएको थियो,जुन संक्रमितको १.०९ प्रतिशत मात्र थियो । विश्वमा औसत २ प्रतिशत भन्दा बढी मृत्यु दर रहेको अवस्थामा यसलाई अन्यथा मान्न सकिँदैन । तर २०७८ वैशाख १ गतेदेखि आजसम्मको अवस्था हेर्दा यस अवधिमा मात्र थप २ लाख ६८ हजार केस थपिन गई ५ लाख ४९ पुग्न गएको छ । त्यसैगरी यस अवधिमा ३ हजार ९८९ जनाको थप मृत्यु भई जम्मा ७ हजार ४७ जना मृत्यु भई सकेको छ । त्यसैगरी अहिलेसम्म १ लाख १३ हजार ३९४ जना विभिन्न अस्पताल तथा होम आईसोलेसनमा रहेको रेकर्डमा देखिन्छ ।

प्रथम संक्रमणको लहर चल्दा म अमेरिकाको व्यस्त सहर न्यूयोर्कमा थिए भने दोस्रो लहरमा मैले मातृभूमिकै राजधानी सहर काठमाडौँ मै बसी डर त्रासका बीच मनोबल उच्च राखी यसका गतिविधिहरू नियाली रहेको छु । स्वास्थ्य विज्ञहरूका अनुसार प्रथम लहर भन्दा यो दोस्रो लहर तीव्र गतिमा फैलने र विभिन्न देशका भेटियन्टहरु रहेको कारण अनेक किसिममा लक्षणहरू पनि देखिने, रोगले बढी च्याप्ने, तुरुन्तै फोक्सोमा निमोनिया हुन गई शरीरमा अक्सिजनको मात्रा कम हुने र समयमै अस्पताल नपुर्याउँदा मृत्यु भएका घटना धेरै देखिएका छन । पुराना बिरामी, दीर्घ रोगी तथा वृद्धहरूलाई संक्रमण हुने सम्भावना बढी देखिए पनि दोस्रो लहरमा संक्रमणवाट मृत्यु हुने युवाहरूको संख्या उल्लेख्य देखिन्छ ।

वास्तवमा मैले गत वर्ष न्यूयोर्कमा करिब ३–४ महिना लकडाउनमै घरमै बसेर बिताएको थिए । त्यहाँ यहाँ जस्तो लकडाउन त थिएन तर सरकारले अत्यावश्यक सेवाबाहेक सबै व्यापार व्यवसाय बन्द गरेको थियो र जनतालाई घरमै बस्न आदेश दिएको थियो तर सुरक्षाका मापदण्ड पूरा गर्दै सार्वजनिक यातायात भने सञ्चालन गरेको थियो । दिनहुँ बढ्दै गएका केसहरूको कारण मृत्यु दर बढदै थियो, हस्पिटल खचाखच भरिएका थिए, ठूला होटेल कन्भेन्सन सेन्टरहरू आइसोलेसन सेन्टरमा परिणत गरिएका थिए । सबैभन्दा खतरनाक अवस्था मास्क, साबुन, स्यानिटाइजर, औषधी, जस्ता महामारीको लागि अत्यावश्यक सामाग्रीको अभाव हुन गएको थियो । समुदायबाट अस्पताललाई पिपिई मास्क जस्ता सामाग्री सहयोग गर्नुपर्ने अवस्था हुन गएको थियो । यस्तो अवस्थामा न्यूयोर्कमा रहेका नेपाली समुदाय सक्रिय भई प्रशंसनीय कार्य गरेको थियो। त्यस्तो भयावह अवस्थामा ज्यानको वाजी राखेर सचेतना नाममा विभिन्न समूहहरू बनाई व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी तथा अन्य राज्यका समुदायका साथी भाइह वाट सहयोग लिँदै अत्यावश्यक सामाग्रीहरू आपूर्ति गराई न्यूयोर्कमा रहेका नेपाली समुदायका सदस्यहरूको ढोका ढोकामा पुगी खाद्यान, स्वास्थ्य सामाग्री आदि पुर्याउने काम गरेका थिए । जसले गर्दा त्यहाँको स्थानीय सरकार समुदायले निकै प्रशंसा समेत गरेको थियो ।

मैले तुलनात्मक रूपमा हेर्दा कोरोनाको दोस्रो लहरको भयानक आँधी आउँदै गर्दा जिल्ला जिल्लामा केही सामाजिक अभियन्ताहरुले अक्सिजन लगायत स्वास्थ्य सामाग्री अभावमा दिनरात खटेर सहयोग गरिरहेको देखिएता पनि अपेक्षित रुपमा समुदायवाट सचेतना अभियानहरू चलाउन नसकेको र हाम्रा धार्मिक सांस्कृतिक तथा राजनैतिक जमघटका गतिविधिहरूमा नियन्त्रण नभएको तथा राज्यले निर्देशन गरेका सुरक्षा मापदण्ड पूर्णरुपमा पालन नगरेको, अक्सिजन अभावमा घर घरमा होडिङ्ग गरी झनै अभाव सिर्जना गरेको, स्वास्थ्य सेवा दिने सङ्घ संस्थाहरू यो महामारीमा सेवामुखी भन्दा नाफामुखी देखिएको पाएँ । यस्तै ठूला मिडिया हाउसहरू सकारात्मक सचेतनामूलक सन्देश भन्दा डर, त्रास, तथा हाहाकारका सन्देश प्रवाह गरी आम नागरिकमा भय तथा चिन्ताको वातावरण बनाएको तथा राजनैतिक अस्थिरताले राज्यको ध्यान महामारी नियन्त्रण भन्दा राजनैतिक खिचातानी बढी आकर्षित भएको देखें ।

तथापि संक्रमणको चेन ब्रेक गर्न गरिएको लडाउन भएको चार साता भन्दा बढी भइसक्दा संक्रमण तथा मृत्युदर केही घट्दै गएको र उपचार भई घर फर्कने दर बढदै गएको देखिन्छ । तथापि अपेक्षित रुपमा घटेको छैन । अहिले विश्वका विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्रीहरूको सहयोग प्राप्त हुँदै गरेको र कोरोनाको खोप समेत प्राप्त हुने सम्भावना बढ्दै गएकोले कोरोना नियन्त्रण सरकारको बढी ध्यान केन्द्रित गर्दै नागरिकले सुरक्षाका मापदण्ड पूर्ण पालना गरे समुदायभित्र फैलिसकेको कोरोना आतङ्कमा केही घटदै गई अवस्थामा सुधार आई आगामी ४ सातामा संक्रमणको ग्राफ अझै तल झर्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको देखिन्छ । जुन सकारात्मक रुपमा कार्यान्वयन हुँदै गएको आभास भैरहेको छ। साथै नेपालको महामारीमा छिमेकी राष्ट्र भारतको प्रत्यक्ष प्रभाव पर्ने हुँदा त्यहाँ वढदै जाँदा यहाँ वढने र त्यहाँ घटदै जाँदा यहाँ समेत घटदै जाने देखिएकोले यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने यथार्थलाई समेत नकार्न सकिँदैन । तसर्थ अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौँ, निस्कन परे मास्क अनिवार्य लगाऔ, छिन छिनमा हात धुने गरौँ, हात धुने अनुकूल नपरे सेनिटाईजर प्रयोग गरौँ । कोरोना संक्रमणवाट बचौँ र अरूलाई पनि बचाऔं । यही नै हाम्रो सुझाव रहेको छ ।

(यसमा उल्लेख गरिएका तत्थ्याङ्कहरुको श्रोत ज्येठ १४, २०७८ को वल्डोमिटर रेकर्ड, स्वास्थ्य मन्त्रालयको सूचना, बिबिसी तथा अनलाइन मेडियाहरु रहेका छन)