जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार ०९:०२

काठमाडौं उपत्यकामा असार १ गतेबाट रात्रिकालिन बस सेवा


काठमाडौं ।

सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको उनले बताए।

‘राति ९ बजेपछि बस सञ्चालन गर्न व्यवसायी सहमत छन्। अहिले केही कम्पनीसँग यो सहमति गरिएको हो। अन्य कम्पनीले पनि इच्छा देखाए राति बस सञ्चालन गर्न सक्छन्’, दाहालले भने, ‘तत्काल समेट्न नसकिएको व्यवसायी पनि यो व्यवस्थामा आउन पाउनेछन्।’

राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन। यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ। यसले दिउँसो यात्रुको चाप धेरै हुने गरेको छ। यो व्यवस्थाले यस्तो बाध्यकारी समस्या हटाउने विभागको अपेक्षा छ। यो व्यवस्थाले उपत्यकाको रात्रिकालीन जीवन चलायमान बनाउने उनी बताउँछन्।

यसअघि विभागले असार १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मालवाहक (ढुवानी)का गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको थियो। यी दुई व्यवस्थाले रात्रिकालीन जीवन चलायमान र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नेछ।

अहिलेको निर्णयले ट्राफिक व्यवस्थापन तथा रात्रिकालीन व्यवसायी फस्टाउन सहयोग गर्ने दाहालको अपेक्षा छ। सार्वजनिक यातायातको सुनिश्चिता नभएकाले उपत्यकामा साँझ ८ बजेदेखि नै शुन्यता छाउँछ। उपत्यकाको जनसंख्या करिब ६० लाख हाराहारी छ। तर समसाँझै सहर चकमन्न हुन्छ। रात्रिकालीन बस सेवा सञ्चालन गरेर उपत्यका २४सैं घण्टा चलायमन बनाउने विभागको योजना छ। यसका लागि गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाले तयारी गरिरहेका छन्।

सहरलाई सामाजिक, आर्थिक रूपले चलायमान बनाउन रात्रिकालीन बस सेवा आवश्यक भएको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। रातमा सार्वजनिक यातायातको अभावले मानिसको चहलपहल कम भएको छ। सहज र सर्वसुलभ यात्रा गर्न सक्ने वातावरण निर्माण भए रात्रिकालीन जीवन चलायमान हुन्छ। यसले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने उनी बताउँछन्। ‘नेपालको धेरैजसो कार्यालय दिउँसो मात्र सञ्चालन हुने गरेका छन्। त्यहाँ कार्यारत कर्मचारी जसोतसो समय मिलाएर अन्य काम पनि दिनमै गरिरहेका छन्’, गजुरेलले भने, ‘राति सार्वजनिक यातायातको सुनिश्चिता हुने हो भने त्यो समयको सही सदुपयोग हुने थियो।’

राति सार्वजनिक सवारी सञ्चालन हुन सके गतिविधि बढ्ने र राज्यलाई नै फाइदा हुने उनको भनाइ छ। यातायातको सहज व्यवस्था हुन नसक्दा महँगो मूल्यमा ट्याक्सी चढ्नुपर्छ भनेर मानिस राति निस्किन सकिरहेका हुँदैनन्। रेस्टुरेन्ट, महल, पार्कमा समय बिताउनेको संख्या बढ्छ। रोजगारी सिर्जना हुनेछ। यसका लागि राज्यले सवारी तथा यात्रुलाई सुरक्षाको प्रत्याभुति दिनुपर्छ। यस्तो व्यवस्था गर्न सके यात्रुको चाप बढ्नुका साथै यातायात सञ्चालन गर्नेलाई आर्थिक भार कम हुने उनको विश्वास छ।

यसअघि साझा यातायात र काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएका थिए। तर, त्यो सेवा दीर्घकालीन रूपमा अघि बढ्न सकेन। साझाका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार यात्रुको चाप कम भएकाले तत्कालीन समयमा रात्रिकालीन बस सेवा सञ्चालन हुन नसकेको हो। ‘पर्याप्त मात्रामा यात्रु नभएकाले समस्या भएको हो। यात्रु पाइन थाले भने राति गाडी गुड्छन्’, पाण्डेले भने, ‘लागत खर्च नै नउठ्ने गरी गाडी सञ्चालन गर्न सम्भव हुँदैन।’ एउटा रुटमा मात्र गाडी चलाउँदा पकै पनि यात्रुको चाप कम हुन्छ। अहिले धेरै रुटमा गाडी चलाउन लागिएको छ। गाडीको सुनिश्चिता हुने देखिएमा यात्रुको संख्या वृद्धि हुन सक्नेप्रति उनी आशावादी छन्। यो रात्रिकालीन बस सेवा दीर्घकालीन रूपमा अघि बढ्न सक्छ।

भाडा डेढ गुणा बढी

रात्रिकालीन बस सेवा दिने यात्रुले दिउँसोभन्दा डेढ गुणा बढी भाडा तिर्नुपर्ने हुन्छ। हाल काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा ० देखि ४ किलोमिटरसम्म १४ रुपैयाँ भाडा तोकिएको छ। राति यात्रुको चाप कम हुने भएकाले यातायात सेवा सञ्चालनमा आर्थिक रूपमा कठिनाइ हुने भएकाले भाडामा हेरफेर गरिएको महानिर्देशक दाहाल बताउँछन्। (अन्नपूर्ण पोष्ट)