विभीषण मानसिकताले कुनै पनि घर बच्तैन । आफ्नासित बटारिने परायासित लठारिने मानसिकताले खाल्टो मात्र फराकिलो हुन्छ । आफूलाई प्राज्ञ र प्राध्यापक भनिनेहरुको यस खालका लेखबाट आफ्नो भएको साख मात्र होइन, सिङ्गै सखुवाको साख ढाल्छन । शत्रु र मित्रसम्म पनि छुट्याउन नसकेपछि समस्या क्रोनिक बन्छ । त्यसैले फेरि पनि विमला ओलीको अवैतनिक ओकिल नहुन प्राध्यापक पोखरेललाई यो पोखरेलको सुझाव रहेको छ
प्रा.डा. बद्रीविशाल पोखरेल
विराटनगर निवासी राजनैतिक विश्लेषक तथा प्राध्यापक कहलिएका एक पोखरेलले आफ्नै कारण आफैँ बारबार चरम विवादको घेरामा पर्ने लुम्बिनी प्रदेशकी सदस्य बिमला ओलीका पक्षमा आँखा चिम्लेर बहस पैरवी गरेको देखेर उदेक लाग्यो । यस्ता फरेवी वकालतनामाका कारण पोखरेलले प्राध्यापकको गरिमालाई नै भुइँमा लतारेको र घिसारेको देखेर यस प्राध्यापकलाई तिक्त विरक्त अनुभूति भयो । पोखरेलले विमला ओली र एमाले लुम्बिनी प्रदेशसभाका संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको भनाइलाई जोडेर हेर्दा विमलालाई गुमराहमा पारेको झुटो दलील पेस गरे ।
ती पोखरेलले विमलालाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बलजफ्ती राखिएको रहेछ भने त राष्ट्रिय राजनीतिमा सम्भावना भएका एक नेताको यो भन्दा ठूलो पतन के होला भन्दै पतनको बात छिट्टै लागिदिए हुन्थ्यो भन्ने कामना गर्दै थिए । निज पोखरेलले भूमिश्वर ढकालको सत्यतथ्य बयानलाई सुनियोजित रुपमा ओझेल पार्दै विमला ओलीका पक्षका आफ्ना अनुचित दलील प्रस्तुत गरे । जबकि ढकालका भनाइ अनुसार मुख्यमन्त्री निवासमा विमलासहित ढकाल जाने कुरा विमला ओलीकी आमासहित परिवारका अन्य सदस्यहरुलाई थाहा थियो तर नेपालगंज उपचारमा जाने गाडी भनेर आफूलाई झुक्याएर ढकालले जोरजवर्जस्ती पूर्वक मुख्यमन्त्री शंकर पोखरेलको निवास लगिएको भन्ने विमलाको सफेद झुट अहिले भाइरल भएको देखिन्छ । हुन पनि विषय विज्ञताका क्षेत्रमा अध्ययन र अनुसन्धानमा समय उपयोग गर्नु पर्ने वरिष्ठ प्राध्यापकहरु नै यस्ता जाली झेली कुरामा सडक बहसमा उत्रिएपछि जनमानस केही दिन भ्रमित हुने नै भयो ।
पढेर मात्र मानिस शुद्धबुद्ध हुँदो रहेनछ । समाजमा नामका मान्छे छन तर बुद्ध र उनका अनुयायी अनुगामी मान्छे फेला पार्न गाह्र्रो हुँदोरहेछ । सफेद झुटलाई साँचो भन्न र यस्तै कृत्य गर्न प्राध्यापक हुनु हो भने त यस क्षेत्रकै बदनामीको विषय बन्यो । यसै विषयमा आफूलाई गैर प्रगतिशील भन्न रुचाउने मधेस विषयमा विद्यावारिधि गर्नुभएका युवा विश्लेषक डा. विजय मिश्रले सांसद विमला ओलीका परस्पर विवादित भ्रमपूर्ण अन्तर्वार्ता वा प्रेस विज्ञप्तिको पोल खुलस्त गरिदिनु भएको छ । मिश्रका अनुसार सांसद जस्तो जिम्मेवार विमला ओलीले आफूसित मोवाइललगायत सूचना र सञ्चारको सहज पहुँच र प्रभाव हुँदा हुँदै यतिका दिनसम्म आफूप्रति भए गरेका भनिएका तमाम गतिविधिका बारेमा तत्काल किन प्रहरी प्रशासन र मिडियालाई सामान्य जानकारीसम्म किन दिइनन ? डा. मिश्रले विमलाका कथनीमा बिलकुल झुट देखिने उनका परस्पर विरोधी कुराबाट प्रस्ट हुन्छ भन्नुभएको छ । यसरी झुट कुरालाई जतिसुकै घटना र त्यसको तारतम्य मिलाएर जोड्न खोजे पनि चोरले आफ्नो दसी प्रमाण कहीँ न कहीँ छाडेको हुन्छ भनेझैँ विमला र उनका कथित कानुन्चीको पर्दा खुलेको छ ।
यथार्थ घटना र यथार्थ विश्लेषकका कारण विमला ओली र उनका मतियारी ओकिलको दलाली दलीलको निख्खुर कालो पर्दा धुजाधुजा भएर सडकमा च्यातिएको छ । विमला के सानी बच्ची हुन ? अनि जोर जवर्जस्तीमा सही गर्छिन ? कथित बन्धकसम्म बनेका अवस्थामा उनी चुपचाप रहन सकिन ? उनले कतै केही प्रतिवाद गरिनन ? दिउँसै रात पार्ने खालका विमलाका सरासर झुट, फरेवी र भ्रमित पार्ने एकतर्फी बयानमा ल्याप्चे लगाउँदै आफूलाई प्रगतिशील तथा वरिष्ठ प्राध्यापक भन्ने प्राज्ञको हविगत देखेर त्रिविविसमेत लज्जित भएको हुनुपर्छ । महाअचम्म त के छ भने आफूलाई गैर प्रगतिशील भन्न रुचाउने व्यक्तित्वहरु सही र सत्यतथ्य कुरा निश्पक्ष रुपमा समाजमा प्रवाह गर्छन तर अर्कातिर आफूलाई महान प्रगतिशील ज्येष्ठ कम्युनिस्ट भन्नेहरु लगातार गैर प्रगतिशील तथा गैरमाक्र्सवादी चिन्तन र चरित्रमा रमाउने मात्र होइनन, पूरै प्रतिक्रियावादी कित्ताको पक्षपोषण सम्म गर्दा रहेछन ।
सांसद पनि हेर्नाका हुन्छन । पञ्चायत कालमा नानीमैयाँ दाहाल पनि रापंस वा सांसद् थिइन, तर उनी आफ्ना बेसोमती बेहोराका कारण चर्चित थिइन । उनका बतासे कुरामा कसैले विमति जाहेर गर्यो भने उनी आफूले लगाएको सारी उचाल्न सुरु गर्थिन । अनि नानीमैयाँका अगाडि पर्न डराउँथे र उनलाई देखेर मानिस भागाभाग हुन्थे । महाकालीमा भारतीय एसएस्पीले तुइन काटिदिएर नेपाली नौजवान भाइको ज्यान मरेकामा र अन्य देशका संगीन विषयमा पटक्क वास्ता नगरी यस्तै विषय र पात्र खोजीखोजी र रोजीरोजी बतासिएर बहस पैरवी गर्ने प्राध्यापक पोखरेलको विगत हेर्दा उनको चलित्र छर्लङ्ग हुन्छ । मजदुर किसान पार्टीमा नेता नारायणमान विजुक्छे नेपालको वर्तमान राजनैतिक अवस्थालाई सही र सन्तुलित रुपमा उजागर गरिरहनु भएको देखिन्छ तर कतिपय कम्युनिस्ट पार्टीको आवरणका पार्टी, नेता र बुद्धिजीवी भनाउँदा कतिपय लाजको पसारो भएको दयनीय दृश्य देख्नु परेको छ ।
पोखरेलले एमाले वा ओलीको राष्ट्रपतिकै पनि अनावश्यक र सर्वथा अनुचित दोषारोपण गरेर अत्यन्त कुरुप लेख लेख्दासम्म वाक स्वतन्त्रता मानेर केही बोल्ने कुरा थिएन तर हद दर्जामा ओर्लिएर एउटा प्राध्यापक पदजस्तो उच्च प्राज्ञिक तहमा पुगेको यति उचाइको कलमबाट भुइँमै झरेर बहस पैरवी गर्न थालेपछि सकथेराफीले मात्र रोग निको नहुने बुझेर हल्का अपरेशन गर्न बाध्य भइयो र यो लेख लेखिएको हो ।
प्रसंगबस यी पोखरेलको विगत पनि यस पोखरेलले सम्झ्यो । एक जमनामा प्रकाश नामको साप्ताहिक पत्रिकामा पोखरेल सीपी मैनालीलाई देवत्वकरण गरेर निरन्तर लेख लेख्थे तर उही पत्रिकामा मदन भण्डारीलाई भने कटाक्ष गरी गरी खिसीट्युरी गरिरहन्थे । अनि उनका देउता मैनाली पलायन भएपछि नयाँ द्यौता भेटेर होला, तिनको भित्रभित्रै गुणगान गाउँदा रहेछन । यस बापत उनी आजका मितिसम्म गोडा तिनेक राजनीतिक नियुक्ति पनि भ्याए । तर उनी मदन भण्डारी र जबजका विरुद्ध अहिले पनि निरन्तर लागि रहेका छन् । तर त्यही जबजका प्रकाशमा सरकारमा पुगेको एमालेबाट अतिरिक्त सुखभोग भने पाइरहे ।
जबज नामको यो दुनियाँको उन्नत जनवादी लोकतान्त्रिक सिद्धान्त भएको यो पार्टी यस देश, जनता र जनजीविकाको सुदुर र सुन्दर भविष्यका दृष्टिले सुस्पष्ट रहेको देखिन्छ । तर जबज अनुकूलको शैली, संस्कार, जीवन पद्धति, आचार र विचार मदनको अवसानसँगै लामो समय ओझेल पर्न गयो । यसैले यस पार्टीका प्राध्यापक पोखरेल कतिपय नेता, प्राज्ञ, बुद्धिजीवी तथा प्राध्यापकहरुले समेत जबजको सार पक्ष बिर्सिए र बोक्रापछि कुदिरहेका छन । राम्रो काम पनि राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ अनि जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने जस्ता सबै हिसावले आफ्नै पार्टीभित्र मात्र होइन, विपक्षीहरुका बीच पनि बह’आयामिक प्रतिस्पर्धामा खरो रुपमा उत्रिनुपर्छ भन्ने चेतना नहुँदा पोखरेल आफ्नू दुनो सोझ्याउन हत्ते हालेर अझै लागिरहेको अनुभव हुन्छ । यस खालका एमाले पुँगा पण्डितको हिजोका दिनसम्म अभाव देखिँदैन थियो । अब भने पार्टी र प्रमुख नेतृत्वले के कस्तो दिशा र दृष्टि लिन्छ त्यसमा भर पर्छ ।
विचार र प्रचारका बजारमा अनेक खालका लेखहरु बारबार आइरहन्छन् । ती सबैलाई पछ्याउने यस लेखकको बानी रहेको छ । केही ख्याति कमाएका इतर लेखकका लेख पढिन्छ । कतिपयका स्वस्थ, विवेचनात्मक र तथ्यपूर्ण लेख पनि पढिन्छ । युवाराज गौतमका लेख बौद्धिक बैचारिक तथा राष्ट्रवादी भावनाले भरिएका देखिन्छन । अन्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाएका बहु विषयज्ञ सौरभका लेखमा निवर्तमान ओली सरकारका राष्ट्रिय हक, हित र स्वाभिमानी सरकारी कामको सकारात्मक मूल्यांकन गरिरहेको पढिन्छ । त्यस्तै कुष्णमुरारी भण्डारीका लेखहरुले पनि सौरभसँग मिल्ने सारयुक्त लेख पढ्न पाइन्छ । तर सँगैमा आफूलाई द्वन्द्ववादी भन्ने प्राध्यापक कृष्ण पोखरेल लगायतका लेख पढ्दा खित्का छुटछ । एमाले ट्याग झुण्ड्याएर व्यक्तिगत स्वार्थपूर्तिमा हत्ते हाल्ने पुँगा पण्डित र प्राध्यापक अहिले चिल्लबिल्ल भएको देखिन्छ ।
जब बुद्धिजीवी, प्राज्ञ र प्राध्यापक, शिक्षकलगायत विभिन्नक बौद्धिक पेसा व्यवसायमा आबद्ध व्यक्ति वा संगठन आश, त्रास र बतासका भरमा फनफनी नघुमी विवेकको तराजु लिएर निश्पक्ष मूल्याङ्कन गर्दैन भने देश कहिल्यै उँभो लाग्दैन । वय, ज्ञान र अनुभवले ऋषिमनको स्तरमा पुगेका ज्यष्ठश्रेष्ठ भनिने पण्डित र प्राध्यापक पनि नितान्त निजी स्वार्थमा चुर्लुम्म डुब्छन भने ती कुनै पनि पार्टीमा आबद्ध हुन, नहुन, तिनलाई पुँगा पण्डित प्राध्यापक भन्दा हुन्छ । यस्ताहरु बाख्राको घाँटीमा झुण्डिएका लुर्का बराबर हुन । एमाले पार्टीको आफ्नो हैसियत र औकातअनुसार विगतको नेतृत्वमा सामान्य अहं, स्वस्तित्व र अडान नहुँदा पार्टी लिङ्गविहीन हुन पुगेको पोखरेललाई याद होला । पार्टी अध्यक्ष केपी ओलीलाई फतुर आरोपमा केन्द्रित लेख लेखिरहने लेखक पोखरेल ओली सरकारले गरेका दुरगामी महत्वका कामहरु देखिसहँदैनन, आफ्नै घरमा छिद्रान्वेषी, आफ्नो आङ कन्याएर छारो उडाउने गति, मति र प्रवृत्तिका पुँगा पण्डित नेता, जेता, क्रेता र विक्रेता भएपछि शत्रुुलाई साधना गर्न सजिलो त हुने नै भयो । पार्टी एकता टुट्ने र टुटाउने एउटा मूल आन्तरिक पक्ष चाहिँ यही हो नि । किताबीे औपचारिक ज्ञान भन्दा जनताको विश्वविद्यालयमा पढेका व्यक्तिहरुको स्तर निक्कै माथि हुँदोरहेछ । पढेका आधारमा मात्र जान्नेलाई यस्ता कुरा हजम नहुनु एकदम स्वाभाविक हुन्छ ।
ओलीलाई गुटगत संकीर्ण सोचका भनी फतुर आरोपित गर्ने पोखरेलले पार्टी केन्द्रीय समितिमा आफ्नो बहुमत हुँदा पनि सन्तुलित तथा सर्वसम्मत रुपमा पार्टी केन्द्रका तहगत समिति निर्माण गरेको सम्झना होला कि ? कार्लमाक्र्स, लेनिन, मदन र जबज नितान्त निजी लोभीपापी गुट होइन नि पोखरेलजी । बाबु नै भए पनि बाबुका गलत, कुतर्क र कुरीतलाई आफ्नै छोराले पनि मान्नेवाला छैन । शत्रु पङ्तिकाले जस्तो मौकामा चार चोक्टा पार्न उद्यत कथित लेखक यस्तै यस्तै ताक हेरेर लेखिरहेको आशंका अझ बढेको छ । पोखरेलको प्रकाशित अर्को लेखमा फेरि ओली केन्द्रित निजी कुट कलुषित भँडास प्रस्तुत गरेका थिए । प्रचण्ड सरकारका सहजता र असहजता नामको लेखमा भूतपूर्व प्रधानमन्त्री कामरेड प्रचण्डको साइँदुवाझैँ भएर पोखरेलले उनका सबै नकारलाई सकार देखेका थिए ।
पोखरेल प्रायः सबै लेखमा सकार नकार दुवै पक्षलाई माक्र्सेली पारामा प्रस्तुत नगरी संकीर्ण गुटगत अयथार्थ, अतथ्य, असंगत तथा अवस्तुवादी दृष्टिकोण सार्छन । पोखरेलका भँडार खनेर आँगन पुर्ने खालको लेखले दुनियाँ हँसाउँछ । विभीषण मानसिकताले कुनै पनि घर बच्तैन । आफ्नासित बटारिने परायासित लठारिने मानसिकताले खाल्टो मात्र फराकिलो हुन्छ । आफूलाई प्राज्ञ र प्राध्यापक भनिनेहरुको यस खालका लेखबाट आफ्नो भएको साख मात्र होइन, सिङ्गै सखुवाको साख ढाल्छन । शत्रु र मित्रसम्म पनि छुट्याउन नसकेपछि समस्या क्रोनिक बन्छ । त्यसैले फेरि पनि विमला ओलीको अवैतनिक ओकिल नहुन प्राध्यापक पोखरेललाई यो पोखरेलको सुझाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्