धनगढी, जेठ २ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।
प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिनुभयो। गत २०८० माघ १२ गते उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरुको बैठकले भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो ।
पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन दिदै आएका थिए तर प्रदेश संसदीय दलले अटेरी गर्दै आएको थियो । तर अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेर भट्टलाई दलको नेतामा पुनर्वहाली गराउनु भएको हो ।
बैठकले दलको उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय नगरेको नेताहरुले बताएका छन । सहभागी एक सांसदका अनुसार बैठकमा प्रचण्डले आफ्नो कुरा नमान्दा माओवादी नै नहरने खतरा रहेकोतर्फ ध्यान दिन भन्दैधम्काउनु भएपछि सांसदहरु भट्टलाई पुनर्बहाली गर्न तयार भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्