१९ भाद्र २०७८, शनिबार ००:००

अस्मिता मृत्यु प्रकरण : साढे दुई महिनासम्म क्लू फेला पार्न सकेन


डडेल्धुरा, १९ भदौ । परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसकेको छ । तर, उनको हत्यारा भने अझै पत्ता लागेको छैन । प्रहरीले सूक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाएर अनुसन्धानसमेत गरेको थियो । डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिए । तर पनि घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सकेका छैनन्।

अस्मिताको हत्या भएको भन्दै आन्दोलन भयो । आन्दोलन चर्किएर ठूलो क्षति हुने डरले परशुराम नगरपालिकाले संघर्ष समितिसँग ६ बुँदे सम्झौतासमेत गर्यो। जसमा पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायतका छन्। तर, त्यो सम्झौता अझै पनि कार्यान्वयन भने भएको छैन ।

नगरपालिकाले सम्झौता कार्यान्वयन नगरेको र प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर नल्याएको भन्दै दुई साता अगाडि संघर्ष समितिले आन्दोलनलाई तीव्रता दियो। र, जिल्ला सदरमुकाम केन्द्रित गर्ने योजना बनायो। तर, कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण दोहोरिने डरले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २० भदौभित्र घटनाबारे जानकारी दिने भन्दै आन्दोलन नगर्न आग्रह गर्यो। त्यसपछि संघर्ष समितिले आन्दोलन मत्थर बनायो ।

प्रशासनले दिएको समयसीमा सकिन अब दुई दिन मात्रै बाँकी छ। विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको अस्मिताको भिसेरा रिपोर्टले घटनाबारे पूरै जानकारी नआउने प्रहरी स्रोत बताउँछ। अस्मिता मृत्यु प्रकरण डडेल्धुराका प्रहरी उपरीक्षक राजेन्द्र चन्दले हेरिरहेका छन्। अस्मिताको हत्या नै भए पनि उनको शवमा किरा परेको र भिसेरा परीक्षणबाट हत्याबारे एकिन जानकारी नपाइने उनको भनाइ छ।

यस्तो छ घटना विवरण

अस्मिता र अमरको २०७२ मा प्रेम विवाह भयो। खेतीकिसानीबाट उनीहरूको जीवन जेनतेन चलिरहेको थियो। अस्मिता घर सम्हालेर बसिरहेकी थिइन्, अमर भने वैदेशिक रोजगारीका लागि विदेश जाने गर्थे । ०७४ मा अस्मिताले परशुराम नगरपालिका–८ कै जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्न थालेपछि उनीहरूको जीवन फेरिँदै थियो। घर खर्च चलाउन सहज हुँदै गयो । विदेशमा कोरोनाको संक्रमण फैलिएपछि अमर स्वदेश फर्किएर गत वर्षदेखि घरमै थिए।

अस्मिता कार्यालय जान्थिन्। अमर घरमा दुई छोरीको रेखदेख गर्थे। कोरोना महामारीको समयमा पनि अस्मिताले आफ्नो दायित्व पूरा गरिरहेकी थिइन्। अरू समयभन्दा कोरोना संक्रमण फैलिएपछि अस्मिताको जिम्मेवारी थपिएको थियो। कहिले कोरोना परीक्षण त कहिले कोरोना खोपका सामग्री ल्याउने लैजाने गर्दा उनलाई घर जान पनि समय हुँदैनथ्यो । कहिलेकाहीँ घर जाने फुर्सद नभएपछि उनी आफन्तकोमा बस्थिन्। र, दोस्रो दिन घर पुग्थिन्।

मामाको घर निर्माण भइरहेकाले त्यसअघि अमर दुई दिन घर गएका थिएनन्। गत १ असारमा उनी घर गए। अवस्था सबै ठिक थियो। अस्मिताले त्यसदिन राति कोरोनाको खोप पुर्याउन जानुपर्ने अवस्थाबारे श्रीमान् अमरलाई जानकारी गराइनन्। २ असारमा अमर श्रीमती अस्मिता कार्यालय जानुअघि घरबाट निस्के। छोरीलाई आमा–बुवासँग छाडेर अस्मिता पनि कार्यालय गइन्। अमर साँझ घर आए, तर अस्मिता भने आइपुगेकी थिइनन्। अमरले फोन गर्दा उनको मोबाइल ‘स्विच अफ’ भन्यो।

त्यसदिन उनले आज कतै बसिन् होला भन्ने ठाने। अमरलाई अस्मिताले दोस्रो दिन फोन गर्लिन् भन्ने आश थियो। तर, न त उनी घर आइन्, न त उनको फोन नै आयो। त्यसपछि अमरले कार्यालय प्रमुखलाई फोन गरे। कार्यालय प्रमुखले भने, ‘खोप लिन गएकी छन्। आज आफन्तकोमा बस्छु, भोलिमात्रै कार्यालय पुग्छु भनेकी थिइन्, आउँदै होलिन्।’

कार्यालय प्रमुखको कुरा सुनेपछि उनलाई पनि श्रीमती आउँदै होलिन् भन्ने लाग्यो। र, उनी नियमित काममै लागे। तर, भोलिपल्ट पनि अस्मिताको फोन लागेन। न त उनी घर आइन्। त्यसपछि भने अमरलाई भय र चिन्ताले सताउन थाल्यो। छोरीहरू पनि आमा खोज्न थाले । छोरीलाई फकाउन उनले बिस्कुट र चाउचाउ किनिदिए। राति ८ बजेसम्म पनि अस्मिता नफर्केपछि उनले फेरि कार्यालय प्रमुखलाई फोन गरे, ‘म बुझेर खबर गर्छु’ उताबाट जवाफ आयो। अमरले आफन्त सबैलाई फोन गरेर सोधें। तर, कसैले पनि नदेखेको बताए।

छोरीहरूलाई फकाउँदै सुताए । तर, उनी आफू भने रातभरि सुत्न सकेनन्। एकैछिनमा बुझेर खबर गर्छु भनेका कार्यालय प्रमुखले बिहानसम्म फोन गरेनन्। अस्मिता आउँछिन् भनेर पर्खेका उनको आशा मर्दै गयो। फेरि उनले बिहान जमरानी स्वास्थ्य केन्द्रमा फोन गरे। खोप पु(याउनुपर्ने ठाउँमा पनि नपुगेको कार्यालयबाट थाहा पाए। अमरले अस्मिता हराएको कुरा जोगबुढा प्रहरीलाई जानकारी दिए। आफन्तहरूले खोजीकार्य सुरु गरे। ४ असारमा आफन्त र प्रहरीले खोजी तीव्र पारे। तर, कतै भेटेनन्।

निराश हुँदै फेरि घर फर्किएका अमरलाई छोरीहरूलाई भुलाउन हम्मे–हम्मे भयो। त्यो रात पनि भोक र अनिद्रामै बिताएका उनी बिहानबाट फेरि अस्मिताको खोजीमा लागे। प्रहरी र स्थानीयको संयुक्त टोलीले ५ असारमा हट्टवानी सामुदायिक वनको एउटा खोल्सोमा अस्मिताको शव फेला पार्यो । त्यसको दुई दिनपछि शवको पोस्टमार्टम गरियो, तर हत्या र बलात्कारबारे एकिन जानकारी नपाएपछि भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो। घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको थियो।

त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ। जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ। शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन । अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ ।