जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार १६:०८

सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक


काठमाडौं, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।

‘सभामुखज्यूले भोलि दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भन्नुभयो ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरी तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध गरेका छन् । माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने, सभामुखले माफी माग्नुपर्ने एमालेको माग छ ।