जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार २२:०९

शीतलनिवाशमा यसरी गरियो लक्ष्मीपुजा(फोटो फिचर)


काठमाडौं, कात्तिक १० । राष्ट्रपति बिद्यादेवी भण्डारीले सम्पुर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित सम्पन्नताकी देवी लक्ष्मीको पुजा आराधना गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवाशमा आज साँझ राष्ट्रपति भण्डारीले सम्पन्नताकी देवी लक्ष्मीको पुजा आराधना गर्नुभएको हो ।

नेपालीहरुको महान पर्व तिहारको दोस्रो दिन आज लक्ष्मी पुजा देशभर हर्षाेल्लासका साथ मनाइएको छ । सवै नेपालीले आफ्नो समृद्धिको लागि लक्ष्मीको पुजा आराधना गरिरहेको बेला राष्ट्रपति भण्डारीले भने सिंगो राष्ट्र र बिश्वभर छरिएर रहेका नेपालीको समृद्धिको कामना गर्नुभएको हो । ‘सम्माननीय राष्ट्रपतिले सवै नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित लक्ष्मीपुजा गर्नुभएको छ, सवै नेपालीको समृद्धि नै एकमात्र लक्ष्य मानेर उहाँले आफै सम्पन्नताकी देवी लक्ष्मीको पुजा, आराधना गर्नुभएको हो,’ राष्ट्रपति सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भन्नुभयो ।

तिहारको उपलक्ष्यमा यसअघि नै शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सवै नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिसक्नु भएको छ । राष्ट्रपति भण्डारीले यमपञ्चक (तिहार) ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दिपावली गर्ने तथा अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले सन्देशमार्फत तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यस पर्वको अभिन्न अङ्गका रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने राष्ट्रपति भण्डारीको भनाई छ । ‘समाजमा शान्ति एवम स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।