जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १८:४३

पत्रकारकै बिरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्धा



हेटौडा, असोज १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तालिम दिँदा भ्रष्टाचार भएको भन्दै पत्रकारकै बिरुद्ध मुद्धा दायर गरेको छ । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान र एक जना पत्रकारसहित अख्तियारले ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिनुभयो। अख्तियारले गाउँपालिका अध्यक्ष मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल (एलन) विरूद्ध मुद्दा दायर गरेको हो। सवैमाथि अख्तियारले सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।

प्रवक्ता रिमालका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरेको थियो। त्यस कार्यक्रममा अनियमितता गरेको अख्तियारको ठहर छ । भ्रष्टाचार को सूचनापछि अख्तियारले गरेको अनुसन्धानमा तालिम सञ्चालन गर्दा लागेको खर्चभन्दा दुई लाख ६० हजार ९ सय रूपैयाँ बढी भुक्तानी लिएको खुलेको हो। सो कुरा अख्तियारले पुष्टि गरेपछि आरोपपत्र दायर गरेको हो।

अख्तियारले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित पाँच कर्मचारीलाई छ महिनादेखि एक वर्ष छ महिनासम्मको कैद सजाय र बिगो रकम असुल गर्न माग गरेको छ। यता फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय र बिगो जफत गर्न अख्तियारले माग गरेको छ। त्यस दफामा कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख छ।