काठमाडौं, असोज १७ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा सभापति शेरबहादुर देउवा पत्तासाफ हुनुभएको छ । पूर्वउपसभापति प्रकाशमान सिंह र युवा नेता गगन थापाले देउवा समुहलाई निर्वाचनमा धुलो चटाएको हो ।
शनिवार भएकोनिर्वाचनमा सो नगरपालिकामा सिंह र थापा निकट प्यानल नै विजयी भएको छ । वडा तहमा सर्वसम्मति गर्दा केही सदस्य देउवा प्यानलका पठाइए पनि निर्वाचनको चरणमा प्रवेश गरेपछि देउवा प्यालनको उपस्थिति कमजोर बनेको हो ।
नेपाली कांग्रेस बूढानीलकण्ठका नगरसभापति गणेश कोइरालाका अनुसार प्रकाशमान–गगनले खडा गर्नुभएका राजाराम बुढाथोकी नेतृत्वको पुरै प्यानलले एकलौटी जित हात पारेको हो । राजारामसँगै उहाँकै प्यानलका उपसभापतिका उम्मेदवार सम्भु थापा र सानुकान्छा श्रेष्ठ, सचिवका उम्मेदवार विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी, सहसचिवका उम्मेदवार कुमार खड्का र निर्मला आचार्य पौडेल विजयी हुनुभएको छ । सदस्यहरूमा भने यसअघि सर्वसम्मति गर्दा देउवा पक्षका सदस्यहरूलाई पनि पठाइएको छ ।
प्रकाशमानको प्यानल छोडेर देउवा प्यानलमा लागेका क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठको प्यानल भने सबैभन्दा कमजोर देखिएको छ । बूढानीलकण्ठको पालिका अधिवेशनमा देउवा प्यानल भन्दै श्रेष्ठले खडा गरेको प्यानलका राजु विक्रम थापाले तेस्रो मत पाएका छन् । प्रकाशमान गगन प्यानलका राजाराम बुढाथोकीले १५५ मत ल्याएर विजयी हुँदा क्षेत्रीय सभापति श्रेष्ठले बनाएको प्यानलका सभापति उम्मेदवार राजुविक्रमले जम्मा ४८ मत पाउनु भएको छ । जबकि बूढानीलकण्ठमा कुनैपनि नेताको समर्थनविना स्वतन्त्र उम्मेदवारी दिएका राजन बुढाथोकीले सभापतिमा ६८ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्