जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १९:४४

परराष्ट्रमन्त्री र चिनियाँ/अमेरिका राजदूतबीच भेटवार्ता, के भयो छलफल ?


काठमाडौं, असोज १८ । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदूत होउ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो । परराष्ट्र मन्त्रालयकाअनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो ।

साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको जनाएको छ । मन्त्री खड्का र होउबीच अन्य दुईपक्षीय के–के विषयमा कुराकानी भयो भन्ने बारेमा मन्त्रालय मौन छ । पछिल्लो समय नेपाल सरकारले हुम्लामा सीमा मिचिएको भन्दै आन्तरिक रुपमा कमिटी गठन गर्न लगाएपछि रिपोर्ट समेत निकालिएको थियो ।

त्यसमा केही समस्या नभएपछि दुबै देशले एकपटक कुटनीतिक माध्यमबाट त्यस क्षेत्रको निरिक्षण गर्ने रिपोर्ट तयार छ । तर उक्त रिर्पोट अहिले गृह मन्त्रालयमै थन्किएको छ । विवाद नै नभएको स्थानमा विवाद छ भन्ने नेपाल सरकारको क्रियाकलापप्रति चीनको तर्फबाट राजदूत होउले के कुरा राख्नुभयो भन्ने विषयमा मन्त्रालयले केहि खुलाएको छैन ।

त्यस्तै दिउँसो अमेरिकी राजदूत र्याण्डी बेरीले पनि मन्त्री खड्कासँग शिष्टाचार भेटघाट गर्नुभएको थियो । नेपालमा अमेरिका र चीनबीच एमसीसी र बीआरआई परियोजनालाई लिएर प्रतिस्पर्धा चलिरहेका बेला दुई देशका राजदूतले पालैपालो परराष्ट्रमन्त्री खड्कालाई भेट्नुभएको हो ।