जनता टाइम्स

२० आश्विन २०७८, बुधबार ११:०६

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, यी हुन दावेदार


काठमाडौं, असोज २० । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले पार्टीका तर्फबाट मन्त्री बन्नेको टुंगो लगाउने विषयमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने छ । ‘हिजो दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सैद्धान्तिक सहमति भएपछि पार्टीले मन्त्रीको टुंगो लगाउन आज बैठक बोलाएको हो’, गुरूङले न्युज कारखानासँग भन्नुभयो, ‘सम्भवतः मन्त्री बन्नेको आजै टुंगो लाग्छ होला ।’

सत्ता साझेदार दलहरूबीच हिजो मन्त्रालयको भागबण्डा टुंगिएको छ । यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले थप तीन मन्त्रालय पाउने भएको छ । उसले शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ र कृषि तथा पशुपन्छी विकास गरी तीन मन्त्रालय पाउने सहमति भएको नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय भने यसअघि नै पइसकेको छ । नयाँ नीत मन्त्रालयका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, बीना मगर, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ । पार्टीको भागमा परेको मन्त्रालयको संख्या थोरै र मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि माओवादी केन्द्रमा पनि मन्त्री छान्न सकस परेको छ ।