जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १५:४५

शीतलनिवास पुग्यो मन्त्रीको सूची, प्रधानन्यायाधीशका प्रतिनिधि पनि बने मन्त्री (सूचीसहित)


काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशको कोटाबाट समेत मन्त्री नियुक्त गर्दै आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सरकार गठन भएको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष बुझाइ सक्नुभएको छ । प्रधानमन्त्रीले मन्त्रीको सूची बुझाएसँगै राष्ट्रपति कार्यालयले साढे ४ बजे शपथग्रहणको गृहकार्य अघि बढाएको शीतलनिवास स्रोतले जनताटाइम्सलाई बतायो । ‘मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय गइसक्यो । प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा पठाउनु भएको सूचीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको सिफारिशमा पर्नुभएका गजेन्द्र हमाललाई तोक्नुभएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा कायम राख्नुभएको छ ।

त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिइएको हो । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसक्नु भएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट बिरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्रीको जिम्मेवारी तोकिएको छ । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री सिफारिश गरिएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल हुनुहुन्छ ।