जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार १५:२६

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने


काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा आफ्ना शेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको मिति २०७८/०६/२५ को ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरुलाई रु. २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुंजी रु. २३ अर्ब ७९ करोड पुग्ने छ । त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुंजीकोष रु. ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुंजीकोष अत्यधिक रहेको छ । ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।१० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।

कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्बकर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका २८०शाखाहरु, ४७राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर,२५० एटिएम, तथा २५७ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको सो बैंकले जनाएको छ ।