जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १५:२१

बन्दीपुरमा पर्यटक खचाखच, व्यवसायी उत्साहित


विनोद ढुंगाना, तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् ।

पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ । नेपालीको महान पर्व दसैँ बेला छ । दसैँमा कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा बन्द भएको मौका पारेर कोरोना कहरमा घरभित्रै थुनिएर बसेका धेरैजसो परिवार घुम्न निस्किएका छन् । त्यसैको प्रभावले यतिबेला बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

दसैँको फुलपातीदेखि पर्यटकको संख्या बढेको क्षेत्रीय होटल संघ बन्दीपुर इकाईका अध्यक्ष विपिन प्रधानले बताउनु भयो । बन्दीपुर आउनेमा बढी आन्तरिक पर्यटक रहेको उनले बताए । ‘आन्तरिक पर्यटकको चाप बढी छ । विदेशी पर्यटक पनि देखिन थालेका छन् । विदेशी पर्यटकमा भारतीय बढी छन्’, प्रधानले भन्नुभयो । प्रधानका अनुसार विदेशी पर्यटकले पनि छिटफुट बन्दीपुरका होटल अग्रिम बुकिङ गर्न थालेका छन् ।

पहिलो चरणमा कोरोनाको जोखिम बढेपछि २०७६ चैतदेखि बन्दीपुरको पर्यटन सुस्ताएको थियो । २०७७ सालको दसैँपछि बन्दीपुरको पर्यटन चलायमान हुँदै गर्दा दोस्रो लहरको कोरोना फैलिएर गत वैशाखदेखि फेरि बन्द गर्नुपर्‍यो । विस्तारै तंग्रिँदै गरेको बन्दीपुरमा दसैँको बेला बढेको पर्यटकको चहलपहलले पर्यटनमा आशा जगाएको प्रधानले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब बन्दीपुरको पर्यटनले गति लिन्छ कि भन्ने आशा जगाएको छ । हामीले पनि पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।’

दसैँको बेला बन्दीपुरमा देखिएको पर्यटकको चहलपहलले होटल व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुरमा होटल डि बन्दीपुर र हिमालय एसेस होटल सञ्चालन गर्दै आएका वसन्तराज पौडेलले बताए । उहाँले भन्नुभयो, ‘यही तरिकाले चहलपहल कायम रहीरहे बन्दीपुरे पर्यटन व्यवसायीलाई राहत मिल्छ । क्षणिक भयो भने फेरि चिन्ता थपिन्छ ।’ कोरोनाको प्रभावले बन्दीपुरको पर्यटन थलापर्दा व्यवसायीलाई बैंकको ऋण र घरभाडा तिर्न धौधौ भएको उहाँको भनाइ छ । बैंकको ऋण र घर भाडा तिर्न नसक्दा कतिपय होटल व्यवसायी पलायन भएको पौडेलले जानकारी दिनुभयो । अहिले देखिएको पर्यटकको चापले बैंकको ऋण र घरभाडा तिर्न केही सहज हुने उहाँले बताउनु भयो ।

मौलिक शहर बन्दीपुरमा पर्यटकलाई लोभ्याउने आधार हो, भक्तपुरे शैलीमा बनेका ईट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिंगारेको टुँडाल । कोलाहालमुक्त बन्दीपुर बजार । भिमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे । अन्नपुर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा देखिने टुँडिखेल । मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका । विश्व प्रसिद्ध चीनको ग्रेटवालको झल्को दिनेगरी बनाइएको मुकुन्देश्वरी पर्खाल ।

बन्दीपुरका यिनै गन्तव्यमा यतिबेला पर्यटकको चहलपहल देखिन्छ । र अधिकांश होटल पाहुनाले भरिभराउ छन् । बन्दीपुरमा बास बस्ने सोचले घुम्न आएका पर्यटक होटलमा कोठा नपाएर फर्कनु पर्ने अवस्था रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिनुभयो । दसैँले बन्दीपुरको पर्यटनमा उत्साह र उमंग ल्याएको उनी बताउँनु हुन्छ । ‘कोरोनाका कारण छाएको निराशा हटाउनेगरी क्राउड देखिएको छ । पर्यटन व्यवसायीलाई आशावादी बनाएको छ’, उहाँले भन्नुभयो। (न्यूज कारखाना)