जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार ०९:२१

प्रधानन्यायाधीशले बोलाएको फुल कोर्टमा १४ न्यायाधीश नजाने


काठमाडौं, कात्तिक ८ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात (फुल कोर्ट)मा १४ न्यायाधीश सहभागी नहुने भएका छन् ।

एजेन्डाबारे छलफलै नगरि प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् । (फुल कोर्ट) बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने भएका छन् ।

छलफल नसकिएसम्म आज तोकिएका इजलासमा नबस्ने उनीहरूले बताएका छन् । न्यायाधीशहरू हिजो छलफलमा रहेकै बेला प्रधानन्यायाधीश जबराले आज १ बजे बारका पदाधिकारीसँगै (फुल कोर्ट) बस्ने सूचना पठाउनु भएको थियो।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्नेबारे एजेण्डासहित ुफुल कोर्टु बस्ने प्रधानन्यायाधीशको सूचनाले न्यायाधीशहरूलाई थप आक्रोशित बनाएको छ ।

न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरेका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि बाँडेर विषयान्तर गर्न खोजेको भन्दै न्यायाधीशहरूले (फुल कोर्ट) बहिष्कार गर्ने निर्णय गरेका हुन् ।