बनेपा, कार्तिक ९ । –देशभर एकसाथ पालिका अधिवेशन गर्ने निर्णयअनुसार काभ्रेका १३ मध्ये दशवटा पालिकामा नेकपा एमालेको अधिवेशन सुरु भएको छ । आज बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा भुम्लु, चौरीदेउराली, महाभारत र तेमाल गाउँपालिकामा अधिवेशन सुरु भएको हो । अधिवेशन सुरु भएकामध्ये पाँचवटा पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।
अन्य पालिकामा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ भने सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।आज साँझ अबेरसम्मको विवरणअनुसार धुलिखेलमा दयाराम महत, पनौतीमा सुरेश हुमागाईं अध्यक्षमा सर्वसम्मत हुनुभएको छ भने अन्य पदाधिकारी चयनको प्रक्रिया जारी छ । पाँचखालमा बिष्णुहरि पौडेलको नेतृत्वमा सर्वसम्मत नगर कमिटी चयन भएको छ भने चौरीदेउरालीमा जीतराम लामा तथा महाभारत गाउँपालिकामा जगत मोक्तानको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ ।
नमोबुद्ध नगरपालिकामा नयाँ नेतृत्व चयनको प्रक्रिया भोलीमात्रै सुरु हुनेछ भने अन्य पालिकाले आजै नेतृत्व पाउने बताइएको छ । बनेपा, धुलिखेल, पाँचखाल र मण्डनदेउपुर नगर कमिटीको अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले गर्नुभएको थियो । नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको अधिवेशन पूर्वमन्त्री एवं संविधानसभा सदस्य रेशम लामाले उद्घाटन गर्नुभएको थियो । पनौती नगरपालिकाको अधिवेशन उद्घाटन नेकपा एमाले वागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य रामहरी सुवेदीले गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्