जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १४:०५

केसीबाहेकका सवै न्यायाधीश प्रधानन्यायाधीशको विपक्षमा उभिए


काठमाडौं, कात्तिक १० । घर बिदामा बस्नुभएका न्यायाधीश तेजबहादुर केसीबाहेक सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा खुलेका छन् । बिदामा रहेका कारण १४ जना न्यायाधीशले फुलकोर्ट र अघोषित इजलास बहिष्कार गरेर सुरु गरेको आन्दोलनलाई बिदा सकेर मंगलबार फर्कनु भएका न्यायाधीश कुमार चुँडालले साथ दिनुभएको थियो ।

मंगलबार नै अमेरिकामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र घर बिदा लिएर नेपालभित्रै रहेका सपना प्रधान मल्ल र अनिलकुमार सिन्हाले इमेलमार्फत न्यायाधीशहरूको आन्दोलनमा आफ्नो पनि साथ रहेको जनाउ दिनुभएको छ । सर्वोच्च अदालतका एक न्यायाधीशका असन्तुष्ट न्यायाधीशहरूको आन्दोलनको संयोजन गरिरहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई फोन र इमेलमार्फत थप तीन न्यायाधीशले ऐक्यबद्धता जनाउनु भएको हो ।

बिदामा रहेका न्यायाधीश तेजबहादुर केसीले भने कुनै जानकारी गराइनसकेको उहाँको भनाइ छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबरासहित २० न्यायाधीश छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश जबरा, वरिष्ठतम् न्यायाधीश कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिकुमार फुयाँल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी हुनुहुन्छ ।